सत्तापक्षको चाहना के हो थाहा छैन, कांग्रेस अध्यादेशबाट बजेट चाहँदैन : प्रवक्ता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरूले अध्यादेशबाट बजेट नचाहेको बताएका छन्। सत्तापक्षको मनसाय भने अध्यादेशबाटै बजेट ल्याउने रहेको उनले बताए।
'हामी अध्यादेशबाट बजेट चाहँदैनौं। उहाँहरू (सत्तापक्ष)ले चाहनुहुन्छ भने हामीलाई थाहा छैन। उहाँहरूको मनसाय त्यस्तै देखिन्छ,' उनले भने।
उनले संसदीय छानबिन समिति बनाउने कुरामा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको बताए। उनले गृहमन्त्री रवि लामिछानेसहित सहकारीको रकम हिनामिना गर्नेहरूविरुद्ध छानबिन समिति बनाउनुपर्ने माग यथावत रहेको बताए।
उनले आइतबारसम्म सहमति हुने विश्वास पनि गरे। ‘आशा गरौं, आइतबारसम्म सहमति जुट्नेछ। तर संसदीय छानबिन समिति बनाउने हाम्रो माग यथावत छ,’ उनले भने।
उनले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति नै गृहमन्त्री बनिरहँदा अनुचित प्रभाव पर्ने स्पष्ट पारे। ‘संसदीय छानबिन समितिको जुन मर्म छ, सहकारी हिनामिना प्रकरणमा संलग्न रहेकाहरू सत्ताकै कारण अनुसन्धानमा नआउने र अरुलाई आउने भन्ने कुरा हुँदैन। गृहमन्त्रीको संलग्नता देखिएरै उनको पनि छानबिन हुनुपर्छ भनेका हौं,’ उनले भने। उनले कांग्रेसको माग सत्तामा नभएर मुद्दा केन्द्रित भएको प्रस्ट पारे।