संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कांग्रेसलाई
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको गतिरोध अन्त्यबारे छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोलाएको छ। प्रधानमन्त्री प्रचण्डले छलफलका लागि शुक्रबार साँझ ६ बजे कांग्रेसलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको र उनीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संघीय संसदका दुवै बैठकमा अवरोध गर्दै आएको छ।
छानबिन समिति गठनबारे सत्तापक्ष र प्रतिपक्षीबीच पटकपटक छलफल भएपनि सहमति जुट्न सकेको छैन। सत्तापक्ष छानबिन समिति नबनाउने पक्षमा छ भने प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्ने अडानमा छ।
प्रतिपक्षको अडानका कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बस्दै नबसी स्थगित भएको छ भने कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ।