शिवशिखर र इमेज सहकारीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणले दायर गर्‍यो मुद्दा, करिब २८ अर्ब बिगो माग

शिवशिखर र इमेज सहकारीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणले दायर गर्‍यो मुद्दा, करिब २८ अर्ब बिगो माग

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भक्तपुरको शिवशिखर सहकारी संस्था र बागलुङको इमेज सहकारी संस्थाका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ। सहकारी ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले शिवशिखर सहकारीका केदारनाथ शर्मा, गीता शर्मा र तेजबहादुर तामाङ तथा इमेज सहकारीका देवकुमारी नेपालीविरुद्ध मुद्दा दायर गरेको हो। शिवशिखरको देशभरी र इमेज सहकारीको गण्डकी प्रदेशभरी शाखा रहेको छ।

विभागका निर्देशक शिवहरि पोखरेल, रमेश श्रेष्ठ, शाखा अधिकृत भानुभक्त बरालले तयार पारेको प्रतिवेदनका आधारमा विभागले सहकारीको रकम अपचलन गरेको र विभिन्न निजी कम्पनीहरूमा लगानी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। 

शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माले मात्रै सहकारीको २३ देखि २५ अर्ब रुपैयाँ अपचलन गरेको आरोप पत्रमा उल्लेख छ। जसमा केदार शर्माका नाममा ११ अर्ब १४ करोड बढी, उनकी श्रीमती गीता शर्मा र कम्पनी गरी ८ अर्ब र थप ५ अर्ब गरी कूल २३-२५ अर्ब रुपैयाँ अपचलन गरेको आरोप पत्रमा उल्लेख छ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक (डिजी) पुष्पराज शाहीसमक्ष शिवशिखर सहकारीको ९ अर्ब रुपैयाँ अपचलन भएको प्रतिवेदन पेस भएको थियो। अनुसन्धानमा खटिएका मोहनप्रसाद ढकाल, सचितकुमार वाइवा, मोलीलाल सापकोटा र डीएसपी मधुसुधन न्यौपानेले उक्त प्रतिवेदन गत कात्तिकमा डिजी शाहीलाई बुझाएका थिए। डिजी शाहीले नयाँ अनुसन्धान अधिकृत तोकेर यस विषयमा थप अनुसन्धान गराएका थिए। उनले ६ महिना लगाएर तयार पारेको प्रतिवेदनमा थप १६ अर्ब रुपैयाँ बराबरको सम्पत्ति लुकाएको खुलेको छ। 

केदार शर्मामाथि सहकारीबाट विना धितो अर्बौं रुपैयाँ ऋणमार्फत् अपचलन गरेको, आफ्नो प्रत्यक्ष हित नियन्त्रण रहेको कम्पनी खडा गरेर ५ अर्ब बढीको कृत्रिम ऋण लेखांकन गरेको, विभिन्न कम्पनीहरूमा अर्ब बढीको सेयर लगानी गरेको, सञ्चालक सापटी भनी अर्ब बढी रुपैयाँ लगेको, अग्रिम सेयरबापत करोडौं रुपैयाँ लगेको, तुलसी सहकारीबाट समेत विना धितो ऋण अपचलन गरेको आरोप लगाइएको छ। केदारले विराटनगर, दमक र गाईघाटमा रहेको तुलसी सहकारीबाट पनि करोडौं रुपैयाँ अपचलन गरेको पाइएको छ।

त्यस्तै केदारकी श्रीमती गीतालाई विना धितो ऋण अपचलन गरेको, विभिन्न कम्पनीमा करोडौं रुपैयाँको सेयरमा लगानी गरेको, सहकारीको रकम सापटी लगी अपचलन गरेको, आफ्नो नाममा आलिशान घरहरू जोडेको आरोप प्रतिवेदनमा लगाइएको छ।

त्यस्तै तेजबहादुर तामाङको हकमा पनि करोडौं रूपैयाँ विना धितो ऋण लगी अपचलन गरेको, केदार शर्मासँग मिलेर निजी कम्पनीमा लगानी गरेको, अग्रिम सेयरबापत रकम अपचलन गरेको आरोप लगाइएको छ। 

त्यस्तै इमेज सहकारीका सञ्चालक देवकुमार नेपालीले ३ अर्ब ३ करोड बढी रकम ठगी गरेको आरोप पत्रमा उल्लेख छ। उनले पोखरा र बागलुङमा रहेको सहकारीबाट उक्त रकम घरजग्गामा लगानी गरेको, सवारी साधन खरिद गरेको, निजी कम्पनीमा लगानी गरेको पाइएको आरोप पत्रमा उल्लेख छ। देवकुमारले सहकारीको रकमबाट १५६ रोपनी जग्गासमेत खरिद गरेको पाइएको आरोप पत्रमा भनिएको छ। 

अभियोजनमा उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसमेत)को दफा ३० को उपदफा (७) बमोजिमको थप सजाय हुनुका साथै कसुरबाट प्राप्त शुद्धीकरण गरिएको सम्पत्ति र सोबाट बढे बढाएको समेत सोही ऐनको दफा ३४(१) बमोजिम जफत गर्न माग गरिएको छ। 

डिजी शाहीले सहकारी ठगहरूलाई कानुनी दायरमा ल्याउन प्रक्रिया अगाडि बढाएका छन्। उनले सहकारीमा सर्वसाधारणको अर्बौं रकम अपचलन भएको भन्दै आरोपीलाई कानुनी कारबाही गर्नुपर्ने बताए। ‘देशभरी नै सहकारीबाट आम नेपालीहरू ठगिएका छन्। सहकारीको अर्बौं रकम व्यक्तिगत विलासी सम्पत्ति आर्जन गर्ने काममा लगाएको देखिएको छ। अन्य सहकारी विषयमा पनि हामी निष्पक्ष भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.