ती सपनाहरूमा
जहाँ हराएका बिहानीहरू भेटिने कामना थियो
ती विपनाहरूसँग
केही अनुत्तरित प्रश्नहरू अझै छन्
कसलाई सोधुँ ?
केही अव्यक्त कथाहरू धेरै छन्
कसलाई भनुँ ?
विष वृक्षमा रमाएका
ती शब्दहरू सम्झिन्छु
ती शब्दहरूमा उभिएर
एउटा उचाइ बनाउने चाहना
धेरै सपनाहरू रोपेर
सपनाभित्रै निदाएका मान्छेहरू
आज आफ्नै दुःखले
नयाँ बाटो खोजिरहेको छ
एउटा यात्रा रोजिरहेको छ ।
फेरि तनाव, द्वन्द्व, संघर्षको
नमीठो सिलसिला
यात्रा फेरि निस्पृह हुँदैछन्
धेरै स्वार्थहरू छन् यात्रासँग
केही भ्रमहरू पनि छन् पाइलाहरूसँग
त्यो आत्मकथामा कुनै नवीनता छैन ।
मान्छे एउटा कथा न हो
त्यहाँ मूर्खतापूर्ण अपेक्षाहरू
उसले भनेको थियो
धेरै अमूर्त आकांक्षाहरू
उसले डोहो¥याएको थियो
उसलाई कसैले सोधेन
उसलाई कसैले खोजेन
देश कसरी दुख्छ ?
देश कहाँ दुख्छ ?
देश कसरी फुल्छ ?
देश कलम मात्र होइन
देश बन्दुक मात्र पनि त होइन
एउटा सन्दर्भ भएर
उठ्नु पथ्र्याे देश
एउटा जीवन्त भूमिका भएर
हातहरू उठ्नु पथ्र्यो
धेरै विषादका घटनाहरू
धेरै अत्याहटका दुर्घटनाहरू
ती नलेखिएका अक्षरहरू
ती नभनिएका शब्दहरू
आफ्नै शून्यतामा उभिएर
हराएको एउटा आकाश
त्यहाँ जीवनको बयान थिएन
शोक भएर रुझेका आँखाहरू
पुछिदिने कुनै हात थिएन ।
उसँग अझै
केही खतहरू मात्र छन्
उसँग अझै
केही घाउहरू मात्र छन् ।
- किशोर विश्वकर्मा