अकारण पुलकित हुन थालेकी छु। के वास्तवमै मभित्र सल्किरहेका भावनाहरू वास्तविक हुन् ? म आफ्नो चेतनामा आउन खोज्छु, कतै ऊ भ्रान्ति त होइन ?
कहिलेकाहीँ यस्तो लाग्छ, मैले यथेष्ट आयु बाँचिसकेकी छु। मेरा शेष उमेरका अझै पनि थुप्रै अभिलाषा छन्, जो मन–मस्तिष्कमा मन्थन भएर आकार लिन चाहन्छन्। तर, अब सायद तिनीहरू गर्भमै तुहिन अभिशप्त छन्। किनभने दुर्बल भइसकेका मेरा दुवै मनस्थिति र कायालाई जबर्जस्ती लतार्दै घिसार्दै यी अमानवका अघि एउटा लाचार निरीह शालिक झैं उभिएर अभिनय गर्ने सामर्थ मभित्र छैन।
कृत्रिम संवेदनाहरूले आक्रान्त बनाइरहेको मलाई म स्वयं क्रमशः उनीहरूजस्तै भइरहेको अनुभव गर्दैछु। कुनै अदृश्यले रचेको यो संरचनामा म मात्रै परिहास झैं बाँचिरहेको आभास हुँदैछ।
समयको बहावसँगै कसैको प्रवाह प्रभावबिनै आफ्नै अथवा सबैका विरुद्ध मैले आफूलाई अहिलेसम्म कसरी उभ्याइरहें, म त्यसलाई परिभाषित गर्न असमर्थ छु। सायद अब यो परचक्री अस्तित्वले परिजीवी भएर नबाँच्ने निर्णय लिइसकेको छ। अथवा यो आत्माले सबैका आँखाबाट ओझेल भएर कतै सुदूरमा गएर आफ्नो तिलाञ्जली दिन चाहन्छ। सायद मैले कुनै प्रकारको परिणति खोजिरहेकी छु।
३७ वर्ष एक यो अधबैंसे उमेर कुनै उपहास होइन। म प्रौढतामा प्रवेश गर्दैछु। कहिलेकाहीँ यस्तो लाग्छ, म ३७ होइन, ७३ की हुँ। म आफ्नै उमेरको खिलाफ विपरीत भएर बैसाखी टेकेर आफूलाई हिँडाइरहेकी छु। मैले देख्ने र भोग्नुपर्ने सम्पूर्ण वेदनालाई मेरा संवेदनाहरूले अनुभूत गरिसकेका छन्। रिक्ततामा पनि पक्कै केहीले आफ्नो आयतन जमाएको हुनुपर्छ। त्यसैले म अघाइसकेकी छु। तर, मेरो अन्तरमनले मान्दैन, मैले पूर्णत्व पाइसकेकी छु भनेर।
त्याग गर्नका निमित्त मसँग त्यस्ता अनमोल अवशेष छैनन्, जसले कसैका लागि थांग्राको काम गरोस्। समयले विदीर्ण बनाएको मेरो भाग्यलाई कसैका हत्केला अथवा निधारमा स्थान छैन। त्यसैले म समाधिस्थ हुन चाहन्छु, विस्मृत भएर।
हिजोआज म आफूलाई निराकार देख्न थालेकी छु। तर, कहिले भने आफैंलाई धुवाँकस सम्झिन्छु, जहाँबाट मेरो अस्तित्व शनैः शनैः जलेर पुत्पुताइरहेको छ। कहिले म आफूलाई बाँध ठान्छु, जसलाई बिस्तारै खियाउँदै लगिरहेको छ मभित्र उम्लिरहेका मेरा व्याकुलता, व्यग्रता र अधीरताले। लाग्छ, मपग्लिएर सकिँदैछु। अञ्जान छु, मलाई आफ्नै आयुप्रति किन यति बिघ्न वितृष्णा ?
बेलाबखत झ्यालबाट बाहिर नजर झार्दा म सिन्दूरले भरिएका सिँउदोहरू देख्छु। लाग्छ, त्यो रातो रङले कसैका परिचयलाई बोकेका छैनन्, बरू अस्तित्वलाई चिरा पारेर सम्झौतामा बाँच्नुपर्ने परिधि कोरिदिएका छन्। तर, मैले उक्त सिमानाभित्र बाँधिएर बाँच्नुपर्ने सौभाग्य र दुर्भाग्य पनि राम्रोसँग पाइनँ।
दुःखहरू विस्तीर्ण हुँदा रहेछन्। यिनीहरू निस्सारताभित्र पनि सजिलैसँग समाविष्ट हुन्छन्। त्यसैले त दुःख नपुगेको घरातल छैन। आकाश छैन। कुनै हृदय छैन। यदि यो जीवनलाई निरूपण गर्ने हो भने यो नितान्त मेरो जीवन हो। तर, यो प्राणत्वसँग टाँसिएर आएका व्यथाहरू, वेदनाहरू, व्याकुलताहरू, व्यवधानहरू मेरा होइनन्। यी सबै मलाई मेरा अज्ञताले दिएका हुन्। अज्ञतालाई यदि रूप दिने हो भने त्यो मेरो लोग्ने भएर उभिन्छ, जसलाई यो अन्धकारमा मेरो हात छाड्न एक निमेष पनि लागेन। ढकढक...!
ढोकाको दस्तकले आफूभित्रको अन्तरचिन्तनबाट मलाई ब्युँझाइदिन्छ। मलाई उक्त आवाजले बोध गराउँछ, म कसैको पराधीनमा छु।
म आफूलाई सम्हाल्दै संग्रहित पार्छु र ढोका खोल्छु।
‘दुई कप चिया बनाएर ल्याऊ है माथि कोठामा’ यति भनेर महिला आकृति कतै लुप्त हुन्छ।
म चियासँगै आफ्नो अतीतलाई उमाल्न थाल्छु। थाहा छ, अब चियाको स्वाद अमीठो हुन्छ।
यो जीर्ण अस्थिपञ्जरलाई गाउँ फर्काएर आफ्नो आमाबुबाको अघि पुर्याउन सक्ने मुटु मसँग छैन। आफ्नाहरूको चिन्ता, सपना, ममतालाई कुल्चेर आफूभित्रको बौलट्टीपनबाट निर्देशित भएर यहाँ आएको मैले आखिर के पाएँ ? सायद त्यस बखत मभित्र रहेको अन्धताले वास्तवमै केही देखेन अथवा देख्न चाहेन। सबैलाई त्यागेर आएकी म आफैं बीच बाटोमा छाडिएँ।
म वसन्तको पालुवा झैं आफ्नै आवृत्तिमा बाँचिरहेकी थिएँ। तिमी शिशिरको हावा झैं भएर आयौं र मलाई मेरो अस्तित्वबाट चुँडाएर अरू नै केही बन्न बाध्य बनाएर लिएर गयौं। सायद तिमीले ममा सपनाका लेप लगाइदिएका थियौं, जसले गर्दा मैले आफ्नै महकलाई सुध्न सकिनँ अथवा आफ्नै प्रच्छायालाई चिनिनँ। तिमीले मलाई यस्तो विराट शून्यतामा लिएर गयौं, जहाँ मेरो आवाजलाई स्वयंले पनि सुन्न सकिनँ।
सायद तिमीले मलाई दिएको भूमिकामा आफ्नो चरित्रलाई कुशलतापूर्वक मैले अनुकरण गर्न सकिनँ। तिमीले मभित्र सधैंका लागि प्रेम र लोग्ने मान्छेप्रति वितृष्णा पैदा गराइदियौं। केही न केही आवरण अथवा अवतारमा आफूलाई लुकाउने समाजमा तिमीले मलाई निर्वाङ बनाएर गयौं। तिमी जल्लाद हौं।
म अनभिज्ञ छु, तिमीले मलाई कस्तो किसिमको जहर पिलाएका छौं ? म तिमीलाई ‘तँ’ भनेर सम्बोधन पनि गर्न सक्दिनँ। तिमीले मलाई अस्वचालित बनाइदिएका छौं। परित्यक्त भइसकेको म सायद अझै पनि तिम्रा केही तŒवहरूबाट निर्देशित तथा नियन्त्रित छु।
म किस्तीमा दुई कप चिया लिएर भर्याङ उक्लिन्छु। मेरा खुट्टाहरूसँगै अन्तस्करणमा पुरिएका भावनाहरू पनि उप्किएर, उम्लिएर उकालो चढ्न थाल्छन्। प्राध्यापक दम्पती सोफामा बसेर टीभीमा समाचारपान गरिरहेका हुन्छन्।
म उनीहरूलाई चिया टक्र्याउँदै महिला आकृतितिर हेर्दै भन्छु, ‘दिदी, म अर्को मैना गाउँ जान्छु।’
मेरो बाहनालाई दुई जोडी नजरहरूले तौलिन थाल्छन्। उनीहरू जानकार छैनन्, यो निर्णयलाई मेरो मगजले कहिलेदेखि कोरल्न थालेको हो।
‘कति दिनको छुट्टी चाहिएको हो ?’ यो स्वाभाविक प्रश्नमा मेरो अनपेक्षित जवाफ खप्टिन्छ, ‘सायद अब फर्केर सहर आउदिनँ।’
प्रतिक्रियामा जन्मिएको मौनतालाई सुन्न नचाहेर म आफूलाई च्याँपेर चिसो छिँडी कोठामा जान्छु र त्यहाँ छरिएका आफ्ना बासी उमेरहरूलाई बटुल्न थाल्छु। कहिलेकाहीँ यस्तो लाग्छ, मैले बाँचिसकेका आयु सबै भ्रम हुन्। मेरो अतीत कुनै निदरीमा पौडिरहेको सपना हो अथवा कुनै विरक्त र भयाकुल मस्तिष्कले रचेको कल्पना, अरू केही होइन। मेरा आँखाहरूले अझै रुन बाँकी छन्। मैले यथार्थको स्वादलाई चाख्नै बाँकी छ।
मलाई थाहा छैन, अहिलेसम्म यो सहरले मलाई सहेको हो या सम्हालेको हो ? तर लाग्छ, मेरा उद्गारहरूलाई यो सहरले कहिल्यै सुनेनन्। सायद यो सहर शोक र वेदनाका इँटाहरूले बनेका छन्, जसले गर्दा यो उज्जन्ड भएको छ। त्यसैले हामी एकअर्काको आर्तनादलाई सुन्न चाहन्नौं।
कुनै पनि घरको परिधिभित्र म आफूलाई धेरै समयसम्म बाँध्न सक्दिनँ। यस्तो प्रतीत हुन्छ, मभित्रको रोग बिस्तारै घरमा पनि सल्किँदै छ। म सबैलाई संक्रमित बनाउँदै छु।
खाना बनाउनु, कपडा धुनु, घर सफा गर्नु, जीवित भइरहनुजस्ता यी नित्यक्रिया र आफ्नै प्रवृत्तिले म आजित भइसकेकी छु। तर, म यो व्यथित शरीरलाई लिएर पलायन हुन खोजेकी भने होइन। मभित्र कुनै किसिमको योजनाको रूपरेखा कोरिएका छैनन्, तर यहाँबाट टाढिएर आफ्नै उद्गारहरूलाई उद्धार गरेर आफूलाई उदारता देखाउन चाहन्छु। थाहा छ, म गएपछि अर्काे एकजोडी हत्केलाहरू यहाँ आउनेछन् र यहीँ छिँडीमा बस्नेछन्, यी चिसा भित्ताहरूमा मैले कोरेका धमिला स्मृतिहरूलाई मेटाउँदै।
‘बैनी, पर्सि विदेशबाट छोरा आउँदै छ। उसको कोठा सफा गरिराख है।’ घरधनीको आदेशलाई टिपेर म त्यो कोठा खोल्छु, जुन कोठालाई मैले एक वर्षको अन्तरालमा कहिल्यै खुलेको देखिनँ।
म झस्किन्छु, यो घरका मृत भित्ताहरूले मेरा कुण्ठित कथालाई सुन्न थालेको एक वर्ष भइसक्यो ? म निरूपाय भएकी छु, यो सहरका घरहरूमा मेरा आयुहरू चुँहिएका हुन् या यी घरहरूले मेरा उमेरहरूलाई चुसिरहेका हुन् ?
सपना र आकांक्षाको रङ कस्तो हुन्छ, मैले बिर्सिसकेकी छु। पछिल्लोपटक यो धड्कनले कहिले पखेटा हालेको थियो, मलाई सम्झना छैन। लाग्दैछ, जिजीविषा क्षीण हुँदै गइरहेको यो मन–मस्तिष्कलाई अब कुनै पनि स्वार्थका रंगीन पर्खालहरूले अडाउन सक्दैनन्। के एउटै कारणले मान्छेलाई कहिल्यै नउभिनेगरी यसरी घायल बनाइदिने सामर्थ बोकेको हुन्छ ? के यो बन्झरतालाई पुनः सिँचाइ गर्न सकिँदैन ?
दुईरातपछि फरक भूगोलको हावा चाखेर विदेशबाट धरघनीका छोरा अवतरित हुन्छ। दुई वर्षपछि उसको आगमनले घर र आमाबुबाको अनुहारलाई उत्साहको रङले पोतिदिन्छ। घरको कुनामा उभिएर उसको फराकिलो छाती र सम्मोहित पार्ने मायावी मुस्कानलाई म ताकिरहन्छु। मलाई अपरिभाषित आभासको झोक्काले हिर्काएर जान्छ।
तरंगित हुन्छु, के मभित्र अझै चुँडिनका निमित्त संवेदनाहरूका धाँगा बाँकी छन् ? खरानी हुँदै गरेको यो भग्नावशेषले पुनः आफ्नो आकार लिइरहेको प्रतीत हुन्छ। प्रौढतामा उक्लिरहेको मेरो उमेर एकाएक ओरालो झर्दै तरुण हुन खोज्छ। यो उषर शरीर धेरैपछि अनौठो अनुभूतिको काउकुतीले रुझ्न थाल्छ। धड्कनको लयमा परिवर्तन आउन थाल्छ। सायद निष्प्रयोजन बाँचिरहेको अब केही स्वार्थ भेट्टाएकी छु। यसरी संवेगमा आएका उत्तेजनाहरूले मलाई घाइते बनाइदिन्छन्।
मलाई बोध हुन्छ, मैले बाँच्नु पर्ने आयु अझै बाँकी छन्। आफूभित्रका वितृष्णाहरूलाई मारेर मलाई स्वीकारेको यो सहरलाई मैले पनि अँगालोमा बेर्नुपर्छ।
तर, मेरा अन्तर्हृदय र सचेत मस्तिष्कले मलाई विदित गराइरहन्छन्, म ३७ वर्षको हुँ र ऊ भर्खर २२ को।
म बुझ्दिनँ, आफूभन्दा लगभग १५ वर्ष कान्छो उमेरसँग यो कस्तो आकर्षण हो ? यो कस्तो सम्मोहनको मन्त्रमा म वशमा पर्दैछु ? एक्कासि लाग्न थाल्छ, म घिनाइलो अतीतको अधीनबाट मुक्त भएर मलाई प्रतीक्षा गरिरहेका मेरा चाहनाहरूका लागि बाँच्नुपर्छ। मैले विगतका खतहरूमाथि नयाँ स्मृतिहरूको लेपन लगाउनुपर्छ। यस्तो लाग्छ, उसले मलाई पीयूष पिलाइदिएर मभित्र सास र साहस दुबै फुकिदिएको छ। म पुनः धड्किँदैछु।
मेरा नजरहरूले अनेक निहुँ लिएर उसलाई सुम्सुम्याउन थाल्छन्। मेरा गलित हातखुट्टाहरूमा एकाएक जागर भरिएका छन्। धेरैपछि निन्द्राले मेरो निमित्त रङ बोकेका सपनाहरूलाई ल्याउन थालेका छन्। म अकारण पुलकित हुन थालेकी छु। के वास्तवमै मभित्र सल्किरहेका भावनाहरू वास्तविक हुन् ? म आफ्नो चेतनामा आउन खोज्छु, कतै ऊ भ्रान्ति त होइन ? अथवा ऊ कुनै सेतु हुन सक्छ, मेरा बाँकी उमेरहरूसँग जोड्न बनेको। महिनालाई पूरा गर्न बाँकी रहेका १५ दिन तिनै आफ्ना उमेर झैं लाग्छन्, जसले कस्तो भविष्य साँचेर राखेका छन्, म अन्धकारमा छु। मलाई आफ्नै निर्णयले चिमोठ्न थाल्छ। कामना गर्न थाल्छु, समय अचेत भएर कतै पल्टिओस्। अनुरागले लत्तपत्तिएको मभित्र एक प्रकारको अनौठो बैचेनीले इँटाहरू थप्न थाल्छ। म विश्वस्त हुन्छु, आफ्नो नियतिको पिँजडाबाट कहिल्यै उम्कन सक्ने छैन।
यहीँ रहने मनसायले तीन दिनपछि घरधनी दिदीलाई भन्छु, ‘दिदी, म गाउँ जादिनँ, यहीँ काम गर्छु।’ ‘बैनी, पहिल्यै भन्नु पर्दैन ? अब त ढिला भै’हाल्यो नि ! केही दिनपछि अर्काे काम गर्ने मान्छे आउँदैछ।’
मलाई यो आवाज मेरो अतीतभन्दा पनि अमीठो लाग्छ।