अनि हामीले भोज खायौं
त्यसदिन सबैका ‘मुड’ उघ्रिएका थिए। बादलको छिटो पनि कतै देखिन्नथ्यो। पिएपछि दुनियाँको तत्त्वबोध हुनेहरू पनि उत्तिाकै हुन्छन्।
... अनि हामीले भोज खायौं।
यतै भोज, उतै भोज। कतै ब्यान्डबाजा, कतै पञ्चैबाजा। कतै लाइभ सो, कतै डिजे। झंकारमय साँझ थियो। भोज भन्नेबित्तिकै सबैथोक अलिअलि चर्को हुन्छ, सामान्यभन्दा माथि। ध्वनि चर्को, पहिरन चर्को, अत्तरको वासना चर्को, शृंगार चर्को, उमंग चर्को, भोजन चर्को, नाचगान चर्को... भोज भनेकै नुन बेगर पनि थोरैथोरै चर्को हुने अनुष्ठान हो। हामीले त्यस दिन भोज खायौं।
भोजले आरम्भमै भन्छ– म आर्थिक विषमताबाट निर्मित असमतल बाटोमाथिको दौड प्रतियोगिता हुँ। यहाँ दगुर्न नसक्नेले पनि दगुर्नै पर्ने हुन्छ। वास्तवमा यो कसैले बाजी नमार्ने होडबाजी हो। तपाईंलाई भोज भन्नेबित्तिकै कसैको बिहेको दृश्य झट्ट आँखामा आयो होला। हुन त भोज गर्ने सोच, शैली, परम्परा, विधिविधान आदिको अवधारणा कहिले कसले गर्यो होला ? त्यो पुर्खाहरू नै जानून्, म भन्न सक्दिनँ। पराइलाई नुन चटाएर आफ्नो बनाउने कुनै धूर्तको धुत्र्याईं थियो कि सामाजिक सद्भाव र मजबुतीकरणका लागि गरिएको समाजशास्त्रीय चिन्तन ? त्यो पनि म भन्न सक्दिनँ।
तर भोजनबाटै भोज बन्यो, चाडबाड, बिहेबटुलोमा धेरैजना जम्मा हुने र विशिष्ट भोजन गर्ने चलनबाटै भोज भनिएकोमा कुनै दुविधा छैन। कोशकारहरूको मत यही रहेछ। मर्दापर्दा आफन्तजन, मलामी, शुभचिन्तक, ब्राह्मणजनलाई भेला पारेर भोजन गराउनुलाई पनि त भोज भनिन्छ। बहुजन बसेर विशिष्ट स्वादपूर्ण भोजन गरेर तृप्त हुनु नै भोजको आरम्भबिन्दु हुनुपर्छ। घर–समाजमा गरिने भोजका अलावा वनभोज पनि त हाम्रो पुस्ताभन्दा अगाडिदेखि नै चलिआएको रीत हो। वनभोजलाई भने भोजनसँग भन्दा बढी मनोरम भावसँग जोड्नु उपयुक्त होला।
कुनै पनि कुरा आफ्नो मूल स्वरूपमा रहिरहन्छ भन्ने कहाँ छ र ? फेरिन्छै फेरिन्छ। जन्तेबाख्रो, बारीका डिल कान्लामा बसेर दुनाटपरीमा खाने भतेर होस् वा आजभोलिको आधुनिक भोज... मकटेलदेखि ककटेलसम्म, मेन्यु र भेन्यु जे जति फेरिए पनि महत्ता भने ज्यूँका त्यूँनै छ। धेरै बृहत् रूपमा फैलिइसकेको छ भोज आँगनदेखि तारे होटेलसम्म।
त्यस दिन हामीले रमाई—रमाई आधुनिक भोज खायौं। भोजको पनि आयोजक त चाहिएला नि ? एकजन होस्, दुईजन होस्, वा धेरैजन। कसैले त कर जोडेर ‘पाल्नुहोला’ भन्नुपर्यो। आँगनमा दुइटा केराका थम्बामा ‘स्वागतम्’ लेखेको रातो तुल झुन्ड्याउँदैमा दगुरेर को आउँछ ? एकजना मात्रै हो कि ? दम्पती पो हो कि ? कि चुल्है निभाएर आउने हो ? निम्तोको लिखतले छर्लंगै पारेर बक्नुपर्यो।
अनि भोज गर्नाको कारण पनि त चाहिएला ? कारणै नबुझी सुपारी टोक्न पाइन्छ भनेर मात्रै त निम्तालु के आउँलान् ? कसैको बिहे भएको होस्, हर्ष मनाउन भोज गर्लान्। कसैको व्रतबन्ध होस्, खुसी भएर भोज गर्लान्। छोरीको गुफा निस्किएको अवसर होस्, रमाएर भोज गर्लान्। जंकु, एक हजार आठ पूर्ण चन्द्र दर्शन चौरासी पूजा होस्, अझै दीर्घायुको कामनामा भोज गर्लान्।
छैटी, न्वारान, अन्नप्रासन, जन्मदिन... जे जे होस्, गर्न चाहनेले भोजैभोज गर्लान्। कारण तमाम छन्। ‘एनिभर्सरी’ भनेर डाकेकै छन्। ‘इङ्गेजमेन्ट’ भनेर पनि डाकेकै छन्। भोज भएकै छ। कतैबाट आउँदा भोज, कतै फर्किंदा भोज।
व्यापार सुरु गर्नेको एउटा भोज, नोकरी पाउनेको अर्को भोज। घर बनिसक्यो, अनि भोज। मोटरगाडी किन्यो, फेरि भोज। मेट्रिक पास हुनेको पनि उस्तै भोज, विद्यावारिधिको उपाधि भिर्नेको पनि उस्तै भोज। चाड लाग्दा पनि भोज, चाड भाग्दा पनि भोज। आकाशका ताराभन्दा धेरै छन् भोजका बहानाहरू। मेरा एकजना परम् मित्रले बेलाबखत फोटो पोस्ट गर्नुहुन्छ। ‘यति वर्षपछि विदेशबाट फर्किएको साथीसँग हाम्रो भेट।’ योचाहिँ बिहानपखको चियाचमेना भोज।
आखिर जुनसुकै भोजमा पनि सानोभन्दा सानो भए पनि खुसीको लुर्को झुन्डिनैपर्ने रहेछ। डेरा सर्नु पर्दा, परीक्षामा फेल हुँदा, नोकरी चैट् हुँदा कसैले भोज ख्वाउँछ ? एक मुठी खुसीलाई एक मुरी बनाउने स्वादिलो बहाना हो भोज। भोज हर्षको उन्माद हो। भोज एउटा कलापूर्ण चटक हो जहाँ आफ्नाहरूलाई बोलाएर मुग्ध पारिन्छ।
भोजले समय पनि सोध्दैन, बार पनि सोध्दैन। साइत जुराइरहनु पनि पर्दैन। विदेशी पाहुना आउँदा सरकारी दफ्तरमै भोज हुन्छन्। दिवा भोज, रात्रि भोज। यो कूटनीतिको मसला मिसाएको भोज हो। यसको स्वाद खल्लो हुन पनि सक्छ, टर्रो हुन पनि सक्छ। गुलियो, मीठो पनि हुन सक्छ। यस्ता भोजले ठूलै गुत्थी छिनमै सुल्झिन सक्छ, अपार मित्रताको आरम्भ हुन सक्छ। हुन त संसारभरि धेरै थरीका कूटनीति प्रख्यात छन्, तर यो ‘भोज कूटनीति’को नाउँ कतै सुनिँदैन।
भोज जोसुकैले जुनसुकै निहुँमा गरोस्, मनकारी, हितकारी, परोपकारी, व्यभिचारी, दुराचारी, अत्याचारी, घुस्याहा, लुटाहा, फटाहा, छट्टु, लट्टु जोसुकैले गरोस्, भोजमा थोरैथोरै कूटनीतिको वासना त छर्किएकै हुन्छ। माथिबाट अलिकति गुलाबजल छर्के झैं। उपर्युक्त कुनै बहानाबेगर अनि हामीले भोज खायौं। भोज आधुनिक थियो, भव्य थियो।
त्यसदिन, यसरी रमाई—रमाई भोज खानुपर्ने खुसीको कुनै खबर कतैबाट सुनिएको थिएन। देशमा सरकार फेरिएको थिएन। आफ्नो मान्छे उच्च पदासीन भएको थिएन। कसैलाई चिट्ठा परेको थिएन। सेयरबजार दिनभरि ओरालोतिरै थियो, उकालो चढ्नै सकेको थिएन। अर्थतन्त्रले नक्कली भाषण गरिरहेको थियो।
देशका लागि दौलत कमाउन जानेहरू विमानस्थलको ताँतीमा उभिएकै थिए। छाप्रोभित्रका अनुहारहरूमा घाम लागेको थिएन। कुनै नयाँ शंखधरले गरिबको ऋण मोचन गरेका थिएनन्। कसैले पीआर पाएर देश छाड्न लागेको थिएन। ओलम्पिकमा स्वर्ण पदक जितेको पनि होइन, विश्वकपको विजेता बनेको पनि होइन। न रुस–युक्रेन युद्ध रोकिएको थियो, न इजरायल र हमासनै थामिएका थिए। सबैथोक त उस्तै थियो। हिजोजस्तै दुरुस्तै।तैपनि खै किन हो ? त्यसदिन हामीले भोज खायौं।
त्यसदिन सबैका ‘मुड’ उघ्रिएका थिए। बादलको छिटो पनि कतै देखिन्नथ्यो। भोजमा पिउनेहरू पनि बाक्लै हुन्छन्। पिएपछि दुनियाँको तŒवबोध हुनेहरू पनि उत्तिकै हुन्छन्। ‘ह्वेन वाइन इज इन, विट इज आउट।’ एउटाले हात मिलाउँदै भन्यो, ‘सर, म त हजुरको आवाजको फ्यान हुँ नि।’ अर्कोले भन्यो, ‘म त हजुरका गीतहरूको फ्यान हुँ सर।” बिचरा ! फ्यानहरू आफैं फिनिनी घुम्लान्जस्तै भइसकेका थिए।
पिउनु भनेको मात्नु मात्रै होइन, आफ्नो सक्कली अवतारमा देखा पर्नु पनि हो। पिएपछि मानिसले आफ्ना दमित रहरहरूका लागि आफैं मञ्च निर्माण गर्छ। सिकारु कविलाई आफ्नो कविता सुनाउन योभन्दा उत्तम अवसर के होला ? एउटा छेउमा सानो झुण्डले उसको कविता सुन्दै थियो। वाहवाह ! वाहवाह ! साँच्चै सुन्दै थियो कि चंगा बनाएर उडाउँदै थियो, त्योचाहिँ मैले मेसो पाइनँ।
अर्को झुण्डले ठट्यौलीको गुब्बारा फुटाउँदै थियो। मानिस उमेर बिर्सिएरै ठट्यौली गर्छन् यस्तो बेलामा। गाउनेहरू सुर र भाका पैंचो मागेर गाउँदै थिए। ‘मैं पनि त गाउँथें नि’ भन्नेहरू गाउनलाई फालिम लागेका थिए। दर्शक भन्नेहरू सबै नाच्दै थिए, भीडभित्र एक्लै अनि आफ्नै लागि।
एउटै गीतमा पनि थरीथरीका नृत्यहरू नाचिँदै थिए– स्वःस्फुर्त। कोही भजन कीर्तनमा नाचेझैं ‘नारायण ! हरिहरि !’ गर्दै। कोही डिस्कोमा उफ्रेझैं बुरुक्क बुरुक्क। कोही माइकल ज्याक्सनझैं बटारिँदै मर्याक्मुरुक्। कोही रोधीमा घुमेझैं फनफनी। आफ्नै लयमा आनन्दित भइरहेका थिए सबै। अन्ततः आफू रमाउनु नै आनन्द रहेछ, चाहे जो अनि जसरी।
कतै कतै कोही थिए, फर्सीको मुन्टाझैं हल्लिएका, अलि परपर। ती पनि आनन्दमै थिए। यो साँच्चिकै अद्वितीय भोज थियो। सबै निष्फिक्रीका साथ रमाइरहेका मुटु पूरै खोलेर। समय र बन्धनहरूदेखि विमुक्त। मानिसले रोजेजस्तो, खोजेजस्तो स्वाधीनता। सबै दुःख पीडाहरू गायब थिए, सबै बोझहरू हलुङ्गा थिए। परपरसम्म हाँसोमात्रै पैmलिइरहेको थियो। जूनकीरी झैं टिमिक्–टिमिक् चम्किएका थिए सबैजना। यदि प्रत्येक पल यसरी नै गुज्रिँदो हो... !
मलाई कहिलेकाहीँ किन यस्तो लाग्छ कि भोजभतेर आफैंमा एउटा अभिमानी संस्कार हो ? आडम्बरको प्रहसन हो ? सभ्यताप्रतिको व्यंग्य हो ? सायद म परिधिभन्दा बाहिर बसेर सोचिरहेछु।
एउटा तन्नेरी डुलीडुली फोटा खिच्दै थियो तमाम थरीका। खिचिक्क खिचिक्क। उसको पनि हाउभाउ गजबकै थियो, विश्वविख्यात फोटोग्राफ्ररकै। न–परिपक्व। मानौं ऊ स्वयं लियोनार्दो दा भिन्ची हो। क्यामेरामै बनाइदिन्छ ऊ ‘द लास्ट सपर’को प्रख्यात चित्र। न यो ‘द लास्ट सपर’ थियो, न यो विजय मल्लको ‘अन्तिम भोज’ थियो। विश्वलाई सञ्चै थियो। निर्मल मनहरू फगत् नाचिरहेका थिए मनोरञ्जनका लागि। भोज सान्निध्य र सद्भावको अचुक अस्त्र हो। भोजले जोड्छ, तोड्दैन।
सबै विमोहित थिए। झिपिक्झिपिक् बत्तीहरू बलेका थिए। थर्थर् थर्काउँदै संगीत बजिरहेको थियो। झुम्झुम् झुम्दै सबै छम्छम् नाचिरहेका थिए। चारैतिर निर्वस्त्र खुसीको मेला भइरहेको थियो। ‘सर्वे भवन्तु सुखिनः।’ पृथ्वी सुखी थियो, पृथ्वीवासीहरू सुखी थिए। एउटा भ्रमको कुशल मञ्चन भइरहेको थियो।
...अनि हामीले रमाई—रमाई भोज खायौं।