कर्णालीबारे सकारात्मक प्रचारमात्र गरौं : मन्त्री अर्याल
वीरेन्द्रनगर : नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डिपी)ले कर्णालीका सकारात्मक कुराहरू प्रचारमा कम आउने गरेको बताएका छन्। उनले कर्णालीबारे नकारात्मक कुराहरूमात्र बढी प्रचारमा आउने गरेको भन्दै यो प्रदेश अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका हुन्।
शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताए। त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने उनको भनाइ छ। कर्णालीबारे सधैं नकारात्मक कुराहरूमात्र प्रचारमा आउने गरेको भन्दै उनले सञ्चारकर्मीहरूले पनि कर्णालीका सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्यालले कर्णाली बुझ्ने अवसर पाएको भन्दै कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएर नागरिकलाई गाँउमै बिशेषज्ञ स्वास्थ्य सेवा दिएको उल्लेख गरे। त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको बताए।
मन्त्री अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर आफुहरु लागिरहेको बताए। उनले पार्टी सभापतिमाथि उठेको आरोप निराधार रहेको बताए। उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ। अहिले त्यही भइरहेको छ। आफूले रजाइँ गरिरहेकाहरूलाई नयाँ अनुहार आएकोमा राम्रो लागेको छैन। आफूहरू रूपान्तरण र पुस्तान्त्रणका लागि आएको तर नयाँ अनुहार माथि अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको छ। यो राम्रो कुरा होइन।'