उपेन्द्र यादवको पार्टी चम्चाहरूको झुण्ड हो : प्रदीप यादव
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवको तानाशाही र एकल निर्णयमा पार्टी चलाउने प्रवृतिका कारण जसपा नेपाल फुटेको बताएका छन्।
शनिबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले भने, ‘उपेन्द्र यादवले जसपा नेपाललाई प्राइभेट लिमिटेड कम्पनीजस्तो बनाएर पार्टीलाई राखेका थिए। पार्टीमा उनको तानाशाह थियो। कुनै पनि निर्णय एकल गर्थे। त्यसैका कारण विद्रोह गरेर हामीले छुट्टै जसपा पार्टीको निर्माण गरेका हौं। ’
जसपा नेपालमा अहिले भएका नेता कार्यकर्तापनि उपेन्द्र यादवको तानाशाहीबाट आजित रहेको भन्दै यादवले उनिहरुपनि उपेन्द्र यादवको साथ छा्ड्न तयार रहेको बताए। उनले भने, ‘अदालतले जेष्ठ ८ गते जसपाकै पक्षमा फैसला गर्छ। त्यसपछि अहिले उपेन्द्र यादवको पार्टी रहेका अधिकांश नेताकार्यकर्ताहरू उनलाई छाडेर हाम्रै पार्टी जसपामा आउँने पक्का छ।’
उपेन्द्र यादवको पार्टी चम्चाबेल्चाहरुको झुण्ड रहेको टिप्पणी गर्दे यादवले भने, ‘उपेन्द्रको पार्टीमा गुलामी गर्नेहरु मात्र टिक्न सक्छन्। उनको गणेश परिक्रमा गर्नेहरुको मात्र भविष्य त्यो पार्टीमा रहन्छ। स्वतन्त्रतापूर्वक काम गर्न चाहनेहरु उनको पार्टीमा रहनै सक्दैनन्।’
स्वास्थ्यमन्त्री यादवले आँफुहरुको पार्टी जसपा एकल निर्णयबाट नभई सामुहिक निर्णयबाट चल्ने पार्टी भएको र यहि पार्टीमा सबैको सम्मान, मुल्यांकन र भविष्य भएकाले जसपामा गोलबद्ध हुन आह्वानपनि गरे ।
जसपाका जिल्ला अध्यक्ष सिंहासन साहको अध्यक्षतामा भएकाो कार्यक्रमलाई जसपाका केन्द्रिय सदस्य राजेशमान सिंह , मोहनलाल चौधरी , मधेस प्रदेश अध्यक्ष अशोक यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता ईश्वरचन्द्र यादव लगायतलेपनि सम्बोधन गरेका थिए ।