उडानमा प्रयोगवादी आख्यान

पुस्तक समीक्षा

उडानमा प्रयोगवादी आख्यान

अध्यात्माको अर्थ आफैंभित्र छिर्ने कला हो। अर्को अर्थमा सत्य तथा निष्ठाको धारण गर्नु नै धर्म हो।

पैसाको उडानमा नौलो प्रयोग देख्न सकिन्छ। सुरुअघि नामक खण्डमा रवीन्द्र समीरले उपन्यासको कथा लेखेका छन्। नेपालमा भएका हरेक द्वन्द्व, आन्दोलन तथा क्रान्तिमा नव कुबेरको कसरी जन्म भयो र आदर्श जीवन बाँचेका सुदामा कस्तो हालतमा छन्, यो खण्डमा मार्मिक ढंगले उत्खनन गरिएको छ। आफ्नो आस्था, आदर्श र विचारलाई पैसाले थिचेपछि माक्र्स, लेनिन, माओको ठाउँमा विश्वका पुँजीपतिजस्तै मार्क जुकरबर्ग, विल गेट्स, वारेन बफेट, ज्याक मा र मुकेस अम्बानीको फोटो राख्नु निकै प्रतीकात्मक छ। नास्तिक सिद्धान्तबाट व्यक्ति कसरी कुबेर र लक्ष्मीको पूजक हुन्छ, कथा पढ्दा विष्मय हुन्छ।

अर्को खण्डमा ५६ वटा च्याप्टर छन्, जुन लघुकथाको संरचनामा लेखिएको छ। यसै पनि उनी नेपाली साहित्य खासगरी लघुकथा लेखनका अगुवा सर्जक हुन्। उनले हालसम्म १४ वटा पुस्तक प्रकाशित गरेका छन्। तीमध्ये मृत्युको आयु, कोरोनातन्त्र र पैसाको उडान नयाँ आयाममा लेखिएका उपन्यास हुन्। यी उपन्यास लघुकथा शैलीमा लेखिएका छन् जुन नेपाली साहित्यमा नितान्त नौलो प्रयोग हो। लघु संरचना र पाठकले सोचेभन्दा फरकको अन्त्योत्कर्षको कारण उनका हरेक च्याप्टर आफंैमा स्वतन्त्र लघुकथा छन्। ती लघुकथाको सिक्री उपन्यासको रूपमा जोडिएको छ। सन्दर्भ जोडौं, राजनीति, पद र व्यापारी मानसिकताले अचानक अर्बपति भएको कुबेर टुप्पाबाट पलाएपछि उसमा के कस्ता विचलन देखिएका छन्, उपन्यास पढ्दा अपत्यारिलो लाग्छ। भौतिकताका डुबेपछि मानिसमा उत्पन्न हुने मानसिकता कस्तो हुन्छ, त्यो भयावह देखिन्छ।

भौतिक वस्तु किन्नु बायाँ हातको खेल भएपछि कुबेरले अभौतिक बस्तु किन्ने मनस्थितिमा लागेका हरेक च्याप्टर कहिले सम्भव लाग्छन् भने कहिले मृगतृष्णा लाग्छन्। भोक, प्यास, निद्रा, खुसी, भावना, प्रेम, इज्जत, प्रतिष्ठा, यौन, मुस्कान, आँसु, आयु, भाग्य, सौन्दर्य, दया, क्षमा आदि पैसाले किन्न सकिन्न भन्ने हाम्रो धारणा यो उपन्यास पढेपछि दुर्घटित हुन्छन्। कुबेरले पैसाको बलमा ती अभौतिक वस्तु खरिद गरेको पढ्दा पैसाको उन्मादमा जे पनि सम्भव लाग्छ।

पैसाको बलले सबै कुरा किन्न सफल कुबेरले आफ्ना जन्मदाता बाबुआमा किन्न खोज्दा पराजित भएको कथाले मानवताको उज्यालो अलिकति बाँकी रहेको देखाइएको छ। वर्तमान तथा भविष्यमा कृत्रिम बौद्धिकता तथा रोबोटको मानविकीकरणको कारण पैसाले दिमाग पनि किन्न सकिने डरलाग्दो अवस्था पनि यस पुस्तकमा रोचक ढंगले लेखिएको छ। मानिसका अंगप्रत्यंग मात्र हैन, मस्तिष्कमा चिप्स राखेपछि ब्रेन ह्याक गरेर आफ्नो अनुकूलको सफ्टवेयर राख्न सकिने आगतले पाठकको मन सिरिंग हुन्छ।

आदर्श जीवन बाँचेको सुदामाले हरेक अभौतिक वस्तु किन किन्न सकिन्न भन्ने तर्क निकै खँदिला तथा मर्मस्पर्शी छन्। तर कुबेरले पैसाको बलमा हरेक अभौतिक वस्तु खरिद गरेको देख्दा भविष्यको व्यवसाय कहालिलाग्दो देखिन्छ। अन्तिम कथामा जब कुबेरले आफ्नो दिमागमा एआईद्वारा निर्मित सफ्टवेयर राख्छ, त्यसपछि उसले अभौतिक वस्तु किन्ने कल्पना पनि गर्दैन। अन्तिम कथामा कुबेर मानसिक रूपमा रुग्ण तथा सोच विकृत भएकाले यी हर्कत गरेको बुझिन्छ। उसले आफ्नो मस्तिष्कका पुराना सोंच, भावना तथा व्यवहार सुपर कम्प्युटरमा सारेपछि मात्र उसमा सामान्य लक्षण देखिनुबाट कुबेर पैसाको अहम्ले गर्दा मानसिक समस्यामा रहेको अनुमान गर्न सकिन्छ।

उपन्यासको भाषा रोचक तथा सघन छ। विज्ञान, चिकित्सा, परम्परा तथा तर्कशास्त्र निकै बलियोसँग बुनोट गरिएको छ। परम्परागत उपन्यास लेखनभन्दा नितान्त फरक तरिकाले पनि उपन्यास लेख्न सकिन्छ भनेर साहित्यमा नयाँ आयामको लेखनलाई पैसाको उडानले ढोका खोलेको छ। हाम्रो प्रौढ पुस्ता आजीवन पैसा आर्जनमा मात्र लागिरहेको छ। तर युवा पुस्ता जसरी भए पनि विदेश जाने र त्यहीँ बसोबास गर्ने मानसिकतामा छ। यो मानसिकताको कारण प्रौढ पुस्ताले जोडेको सम्पत्ति युवा पुस्तालाई अर्थहीन हुने र अन्ततः त्यो सम्पत्ति नष्ट हुने यथार्थतालाई पैसाको उडानले झक्झकाएको छ।
साहित्य आफैंमा निर्बन्ध बिषय हो। यो कुनै नियम वा परिधिमा बाँधिएको हुँदैन। यहि शाश्वत दृष्टिको कारण साहित्य लेखनलाई सर्जकले नयाँ नयाँ गोरेटा निर्माण गर्न सक्छ। स्थापित राजमार्गमा हिँड्न सजिलो हुन्छ। तर आफैं बाटो बनाउँदै हिँड्न गाह्रो हुन्छ। यहि गाह्रो बाटो रोजेका रवीन्द्रका उपन्यास आख्यान लेखनका नयाँ राजमार्ग हुन सक्छन्। शैली र विषयवस्तुमा पकड रह्यो भने स्रष्टाले पाठकलाई स्वादिलो व्यञ्जन पस्किन सक्छ भन्ने तथ्य मृत्युको आयु, कोरोनातन्त्र र पैसाको उडानले प्रमाणित गरेका छन्।

पैसाको उडानमा केही प्रसंग विशृंखलित छन्। पात्रको मानसिक अवस्था कर्कलाको शीतजस्तै नाजुक रहेको अवस्थामा उसको भावभूमि समथर पक्कै हुँदैन। भाषाको शुद्धाशुद्धीमा केही कमजोरी देखिए पनि यो उपन्यास अहिलेको सशक्त उपन्यास हो। पैसाको उडान यसरी समापन भएको छ– सुदामाले भन्यो, धनका तीनवटा बाटा हुन्छन्– दान, उपभोग र नाश। तिमी जीवनभर पैसाको दास भयौ, भन यो अकुत पैसा र सम्पत्ति के गर्छौ ? देश र जनतालाई खोक्रो बनाएर कमाएको धनलाई पवित्र कार्यमा दान गर्ने तिम्रो चौडा छाती छैन। त्यो धन उपभोग गर्न तिम्रो शारीरिक तथा मानसिक स्वास्थ्य बाधक छ। त्यसैले यो धनको साम्राज्य नाश हुनुको विकल्प छैन।

कुबेरले भन्यो– मैले यो धन आफ्ना सन्ततिलाई दिनेछु। म धृतराष्ट्रभन्दा कम छैन। सुदामाले भन्यो– ‘पूत सपूतका धन सञ्चय, पूत कपूतका धन सञ्चय।’ अर्थात् असल सन्तानका लागि धन सञ्चय व्यर्थ हो अनि खराब सन्तानका लागि पनि धन सञ्चय व्यर्थ हो।

कुबेरले भन्यो– मेरा दुइटा सन्तान विदेशमा रातदिन काममा जोतिएका छन्। यहाँ आउँदैनन्, यो सम्पत्तिको उनीहरूलाई मतलव छैन। एउटा यहीं छ, लागूपदार्थ, तस्करी तथा जुवाको दुव्र्यसन छुटाउन सम्भव भएन। मेरो ठूलो दुःखले आर्जेको यो कुबेर साम्राज्य उसले नष्ट गर्नेभयो। मसँग न विवेक, न नैतिकता, न आदर्श बाँकी रह्यो। म पनि जीवनको तेस्रो बाटो जानुको विकल्प रहेन। तेस्रो बाटो ?  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.