मिनेटमा झर्यो हेटौंडा-ध्याङसिंगटार यात्रा
मकवानपुर : हेटौंडा–बिहान गाउँबाट हिँड्यो लामो समयको यात्रा पछि पुगिन्थ्यो हेटौंडा स्थानीय लवाङ लामा सम्झन्छन् । चाँडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिँड्यो धेरै पटक काम नसकेर बास बस्नुपरेको उनी बताउँछन् ।
गाउँको बाटो डाँडाँपाखा हुँदै धुलाम्य भएर बल्ल बल्ल थानाभर्याङ उत्रिएर कपडा फेरी काम काजमा लाग्ने गरेका हामि अहिले छोटो समयमै हेटौंडा सम्मको यात्रा गर्न सक्ने भएकोमा खुशी भएको उनले बताए । तत्कालिन बसामाडि गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा गाभिएको ध्याङसिंटार,शिखरकोट लगाएको क्षेत्रका बासिन्दा नकौंलि–भैरबडाँडाहुँदै हेटौंडा–११ थानाभर्याङ उत्रेर बजार सम्मको यात्रा गर्ने गर्दथे ।
अहिले पनि पैदलयात्राबाट करिब ४ घण्टा र सवारी यात्राबाट झण्डै अढाई घण्टाको यात्रा गनुपर्ने हेटौंडा–१ का प्राविधिक छठुलाल शाहले बताए । सुरुसुरुमा यहाँसम्म आउँदा लाग्ने समय र अहिलेको समयमा धेरै फरक भइसकेको उनी बताउँछन् ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–११ सहिद स्मारक सडकहुँदै गाउँजाने सडक निर्माण गरेसँगै स्थानीयको बजारसँगको दुरी नजिकिएको हो । नबलपुरबाट स्मारकहुँदै पुण्य क्षेत्रजाने सडकबाट उकालो लागेपछि करिब २० मिनेटको सवारी यात्रामा गाउँसम्म पुग्ने अवस्था भएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले बताए ।
जनप्रतिनिधिमा निर्वाचित भएसँगै स्थानीयको बजारसँगको दुरीलाई घटाउनका लागि ७ वर्षको अवधिमा झण्डै १ करोड ५० लाख रुपँयाँ सडकको निर्माण,स्ल्याब ढलानसहितका काममा खर्च भएसँगै यात्राको समय छोटिएको उनले बताए । डाँडापाखाको उकालो बाटो पैदल यात्राबाट सदरमुकामसम्म आउन दिनैमाया मार्नुपर्ने अवस्थालाई चिर्दै स्थानीयको बजारसँगको पहुँचलाई सहज बनाउने वातावरण तयार गरिएको उनले बताए ।
घण्टौंको पैदल यात्राबाट सदरमुकाम सम्म आउँथ्यौं,पछि सवारीमा पनि लामै समय पार गर्नुको विकल्प हामीमा थिएन अब छोटो समयमा बजार पुग्ने अवस्था भयो हामी खुशी छौं,स्थानीय फूलमाया घलानले भनिन् । उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालु वर्षमा गरी ८३ लाख रुपँयाँ बजेट सडकका लागि दिएको छ ।
गत आर्थिक वर्षमा ५० लाख र चालु वर्षमा दिएको ३३ लाख रुपैयाँबाट बनदेवीबाट शिखरकोट जाने सडकअन्तर्गतको ५३० मिटर लामो सडकको स्तरीकरण र स्ल्याब ढलानको काम सुरु भएको छ । शुक्रबार सडकको नगर प्रमुख मीनाकुमारी लामा, उप प्रमुख राजेश बानियाँले संयुक्त रुपमा सडक निर्माणको शिलान्यास गरेका छन् ।
स्ल्याब ढलानको शिलान्यास गर्दै नगरप्रमुख लामाले गाउँलाई सहरसँगै चाँडै जोडौं, नगरवासीले स्वास्थ्यसहितका सुविधालाई सहजै उपभोग गर्ने अवस्था श्रृजना गर्नका लागि गाउँमा विकासको काममा तीब्रता दिएको बताइन् । उनले उपमहानगरमा गाभिएका तत्कालिन पाँच गाविसलाई लक्षित गर्दै विकासका कामलाई अघि बढाइएको जानकारी दिइन् ।
नगर उपप्रमुख बानियाँले समानुपातिक बिकासको अवधारणमा अहिले उपमहानगर रहेको बताए । पहिले नगरपालिकामा रहेका ११ बडा भन्दा पछि थपिएका ठाउँको विकास गर्न सके उपमहानगरको समग्र बिकास हुने धारणा रहेको बताए । उपमहानगरमा रहेर पनि शहरसँगको पहुँचमा कम्जोर रहेका ठाउँको विकासमा ध्यान दिँदै अघि बढेको बताए ।
सडक निर्माणसँगै १ नम्बर वडाको ध्याङसिंटार,नकौंली र १९ को डुमारे, लेकपानी क्षेत्रका नगरपवासीले आफ्नो कृषि उत्पादनलाई बजार सम्म ल्याउनेसँगै आवश्यक सुविधाबाट लाभान्वित हुने अवस्था बन्ने बताइएको छ ।