मध्यरातमा ढल्केवर ल्याइयो मालपोत र नापी कार्यालयको श्रेस्ता

मध्यरातमा ढल्केवर ल्याइयो मालपोत र नापी कार्यालयको श्रेस्ता
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत र नापी कार्यालय सञ्चालनमा आउने नआउने विषयको अन्यौलता हटेको छ। शनिबार मध्यरातमा जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ श्रेस्तालगायतका आवश्यक कागजातहरू ढल्केवर ल्याएसँगै कार्यालय सञ्चालन आउने निश्चित भएको हो।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको विशेष सक्रियता र मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कुमार महतोको अगुवाइमा कागजातहरू मध्यरातमा ढल्केवर ल्याइएको हो। कागजात ल्याउन स्थानीय प्रशासनले सहयोग गरेका थिए। प्रहरीको स्कटिङमा कागजातहरू ढल्केवर ल्याइएको हो। ढल्केवरमा मालपोत कार्यालय स्थापना भएयता जनकपुरधामका लेखापढी व्यवसायीहरू आन्दोलित बनेका थिए। 

उनीहरू विभिन्न नारबाजी गर्दै निरन्तर आन्दोलन र प्रदर्शन गर्दै आएका थिए। उनीहरूको विरोधका बाबजुद प्रहरी प्रशासनको सहयोगमा मोठश्रेष्ताहरू ढल्केवर ल्याइएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष अध्यक्ष महतोले बताए।

उनका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साविकका गाविसहरू ढल्केवर, बेंगाडावर, तुलसी, हरिहरपुर, नक्टाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन पालिका (मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका) क्षेत्रका मोठश्रेष्ताहरू ल्याइएको छ।

मालपोत र नापी कार्यालय ढल्केवरबाट सम्भवत आगामी साताबाट सेवा सुचारु हुने बताइएको छ। ‘कागजातहरू आइपुगेको छ। यसलाई व्यवस्थित गर्नुपर्छ। आजै सूचना जारी गर्ने तयारी छ। सम्भवत एक साताका लागि सेवा बन्द हुन्छ,’ मालपोत कार्यालय ढल्केवरका एक कर्मचारीले भने ‘सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्ने गरी मोठश्रेष्ता व्यवस्थित गर्छौं। यहाँबाट झन्झटरहित छिटोछरितो सेवा प्रवाह हुने हाम्रो विश्वास छ।’

मालपोत र नापीको ढल्केवर कार्यालयमा कागजात आइसकेपछि मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो खुशी व्यक्त गरेका छन्। मध्यरातमा सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले आज मिथिला नगरपालिकाका लागि शुभदिन भएको बताएका छन्।

यता मालपोत कार्यालय स्थापनाको निर्णय कार्यान्वयनका लागि सक्रिय भूमिका खेलेका नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले जिल्लाका उत्तरीभेगका नागरिकलाई सहजताका लागि जित भएको बताएका छन्। ‘विकेन्द्रीकरण एकदमै आवश्यक थियो। सरकारले निर्णय गर्‍यो। त्यो कार्यान्वयनमा लामो समय बाधा अवरोध सिर्जना भयो। हामीले त्यसको सामना गर्‍यौं। यहाँका नागरिकले साथ दियो। युवाहरू सक्रिय भए। त्यसको फलस्वरुप आज ढल्केवरकको मालपोत र नापी कार्यालयले पूर्णता पाएको छ,‘ महतोले भने ‘कागजात ल्याउन भूमिका खेल्ने यहाँका मेयरसाब र युवाहरूलाई विशेष धन्यवाद। सबै नागरिकलाई बधाई।’

२०७२ असोज १४ मा मन्त्रिपरिषदको बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुनसकेको थिएन। त्यसैको बहानामा नापी कार्यालय स्थापना भएको ७ वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुनसकेको थिएन। 

केही महिनाअघि ढल्केवरमा मालपोत कार्यालय स्थापना भएसँगै सञ्चालनका लागि कसरत सुरु भएको थियो। जनकपुरबाट यस क्षेत्रका कागजातहरू ढल्केवर ल्याउन नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि विशेष भूमिका खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.