प्रतिनिधिसभा बैठक फेरि सर्यो
काठमाडौं : प्रतिनिधिसभा बैठक फेरि सरेको छ। बैठक आजै बेलुका ४:३० बजेलाई सारिएको संघीय सचिवालयले जनाएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो।
संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन सत्ता पक्ष र प्रतिपक्ष आन्तरिक छलफलमा जुटेपछि बैठक सारिएको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको छ। तर ,समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन।
कार्यादेशमा सहमति जुटाउन कार्यादलको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यादेशमा सहमति नजुटेसम्म सदनको कामकारवाही अगाडि नबढाउन सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ।
कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध जनाउँदै आएको छ।