पेट्रोलियम उत्पादनमा लगन नकटोस्
संसारमा पेट्रोलियम पदार्थको युग समाप्त हुँदा यहाँ उत्पादन भयो भने त्यो प्रयोजनविहीन हुन बेर लाग्दैन । तसर्थ लगन कट्न दिनु हुँदैन ।
नेपालले आयात गर्ने वस्तुहरूको पहिलो नम्बरमै आउँछ पेट्रोलियम पदार्थ । पोहोर सालमात्रै मुलुकमा ३ अर्ब ५३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । त्यसमा पनि पेट्रोल झन्डै ६७ अर्ब रुपैयाँको त पेट्रोलमात्रै थियो । अरू डिजेल र ग्यास हुन् ।
आयात त्यस्तै वस्तुको गरिन्छ, जुन आफूसँग छैन । तर नेपाल त आयातमा यसरी फसेको छ कि नुनदेखि सुनसम्ममात्रै होइन यही भूमिमा भएका र उत्पादन हुन सक्ने वस्तु पनि आयातमात्रै गरिरहेको छ । भान्साका धेरै वस्तु आयातीत हुन्छन् भने अरू त के कुरा ? पेट्रोलियम पदार्थको कुरा गर्दा पनि नेपालमै त्यो वस्तु नभएको होइन । तर उपयोगमात्रै नभएको हो । नेपालका धेरै ठाउँमा पेट्रोलको खानी छ भन्ने पत्ता लागिसकेको छ । तर त्यसको उपयोग गर्नपट्टि नलागी आयातमा निर्भर हुनु परेको छ । आफैंकहाँ भएको प्राकृतिक स्रोत त्यत्तिकै छाडेर आयात गर्नु पक्कै पनि हितकर काम होइन ।
अहिले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । त्यहाँ पेट्रोलियम पदार्थ पत्ता लगाएर उपयोगमा ल्याउन जमिन खनिएको छ । चार हजार मिटरमुनिसम्म खोतलेर खनिज पदार्थ पेट्रोलियमको परीक्षण गरिँदैछ । केही महिनामा सर्भेक्षण पूरा हुने छेकछन्द छ । अहिलेसम्म जमिनमुनि थन्किएको स्रोत उत्खननको सुरुआती काम हुनु स्वागतयोग्य नै हो । तर सुरु भएको काम पूरा नहुने वा ढिला हुनेचाहिँ नेपालको रोग छ । त्यस्तोचाहिँ नहोस् । नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको मानिन्छ । मोरङमा पनि उत्खनन गर्न खनखान गरिएको थियो, तर त्यहाँ भेटिएन । दैलेखमा भने जमिनको सतहमै आगो बल्नेलगायत उदाहरण भएको हुँदा त्यहाँ पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण देखिन्छ ।
दैलेखमा पेट्रोल वा ग्यास जे छ त्यो उत्खनन गरी प्रशोधन गरेर नेपालले उपयोग गर्न सके उत्तम हो । तर त्यसका लागि लाग्ने खर्च र आयात तथा भएको उत्पादनको परिणामको हिसाबकिताब पनि गर्नुपर्छ । भावनाका भरमा महँगो लगानी र खर्च चाहिँ गर्नु हुँदैन । पेट्रोलियम पदार्थको खपत विस्तारै कम हुने दिन पनि आउँदै छ । संसार जीवाष्म इन्धनको विकल्पमा जाँदैछ र गइरहेको छ । तसर्थ नेपालले गर्ने उत्खनन र उत्पादन यस्तो नहोस् कि लगनपछिको पोते । संसारमा पेट्रोलियम पदार्थको युग समाप्त हुँदा यहाँ उत्पादन भयो भने त्यो प्रयोजनविहीन हुन बेर लाग्दैन । तसर्थ लगन कट्न दिनु हुँदैन ।