प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
नेपाली कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने अडान लिएको छ। आइतबार सदनमा गृहमन्त्री रवि लामिछाने सम्बोधन गरेपछि बैठक स्थगन गरिएको थियो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति पनि तय गर्ने कांग्रेसले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिन लागेका छन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। आजको बैठकमा यीनै विषयमा केन्द्रित रहेर छलफल हुनेछ।