कांग्रेससहित विपक्षी दलको बैठक जारी, सरकारविरुद्ध साझा धारणा बनाइने
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलको बैठक सुरू भएको छ। बानेश्वरस्थित संसद् भवनमा बैठक सुरू भएको हो। आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
बैठकमा कांग्रेससहित राप्रपा,जसपा लोसपा र जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएका छन्। तर समितिको टीओआरमा सहमति जुट्न सकेको छैन्।
प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको भएपनि बस्न सकेको छैन। आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको थियो।
समितिको कार्यादेशमा सहमति नभएसम्म संसदको कामकारवाही अघि बढाउन नदिने कांग्रेसको रणनीति छ। कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेका छन्।