मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छुभन्दा प्रभावित बनाउनु हुँदैन : सभामुख घिमिरे
काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गर्दा प्रभावित बनाउनु नहुने बताएका छन्। सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएभएकाले गम्भीरताका साथ लिन प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराएका हुन्।
‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ। जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं। प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो।’ सभामख घिमिरे भने,‘एक सातापछि नै बजेट ल्याउँदैछौं। मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनुहुँदैन। संसदको नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नैपर्दछ। यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराउँदछु।’
उनले अहिलेको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुनसक्ने बताए। संसद्मा कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने तर्क गरे। ‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो। त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ। हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ। ’उनले भने‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ।’
संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको घिमिरेको भनाई छ। उनले भने,‘यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो। यो पनि सहमतिको एउटा अंश हो। अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ। आज सहकार्य गरौं। संसदमा मतभेदहरु हुन्छन्, विषयमा बहसहरू हुन्छन्। तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ।’