प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया जारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेपनि सभामुख देवराज घिमिरेले मत विभाजनको प्रक्रिया अघि बढाएका हुन्।
सभामुख देवराज घिमिरेले मत विभाजनका लागि भएका व्यवस्था र नियम जानकारी गराएर प्रक्रिया अगाडि बढाएका हुन्। आज पहिलो बैठकमा कांग्रेसले वेल घेराउ गरेपछि १५ मिनेटका लागि सभामुखले बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको हो।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरिएको हो।
संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।
संसदको गतिरोध कायम रहेको,नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले त्यस अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जेठ १ गते सरकारले नीति तथा कार्यक्रमा ल्याएको छ तर छलफल हुन सकेको छैन। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।