बल्ब लगाउने क्रममा करेन्ट लागेर मृत्यु
विराटनगर : विराटनगरमा आफ्नै घरभित्र करेन्ट लागेर आइतबार राति एक जना पुरुषको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१९ खद्रा टोलका ३० वर्षीय राजु ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरभित्र बिजुलीको बल्ब लगाउने क्रममा राति ९ बजेतिर ऋषिदेवलाई करेन्ट लागेको खुलेको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। कोशी अस्पतालमा शवको पोस्टमार्टम गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए।