सङ्खुवासभामा चट्याङले एकै गोठका ७२ भेंडा मरे
![सङ्खुवासभामा चट्याङले एकै गोठका ७२ भेंडा मरे](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा एकै गोठका ७२ वटा भेडा मरेका छन्। शनिबार राति ११ बजेतिर परेको चट्याङमा परेर सभापोखरी–५ फाकुवाका शोमबहादुर लिम्बुको ७२ वटा भेडा एकै ठाउँमा मरेको पूर्व वडाध्यक्ष याम सुब्बाले जानकारी दिए।
सभापोखरी–५ को तेरुङवा खर्कमा लिम्बुको भेडी गोठमा रहेका भेडा एकै ठाउँमा मरेका हुन्। हावाहुरी सहित पानी र असिनाबाट बच्न रुखको छहारीमा बसेका सबै भेडा एकै ठाउँमा मरेको पूर्व वडाध्यक्ष सुब्बाले बताए। भेडी गोठ सञ्चालक शोमबहादुरले भने, ‘गोठका ४ सय भेडा मध्ये ७२ वटा भेडा चट्याङले मार्यो।’
१४ लाख ४० हजार भन्दा बढीको क्षति भएको उनले बताए। ‘१६ वर्ष भयो भेडापालन गरेको, पहिलो पटक यस्तो घटना भयो’, शोमबहादुरले भने। व्यावसायिक पशुपालकहरूसँग पशु बिमाका बारेमा ज्ञान नहुँदा बेलाबेलामा ठूलो क्षति व्यहोर्ने गरेका छन्। शोमबहादुरले ४ सय वटा भेडा पालेको भए पनि पशु बिमा भने गरेका छैनन्।
सभापोखरी गाउँपालिकामा ९ घर परिवारले व्यावसायिक भेडा पालन गर्दै आएका छन् भने एक जनाले च्याङ्ग्रा पालन समेत सुरु गरेका छन्। गाउँबाट उच्च स्थानहरूमा रहेका खर्कहरूमा भेडी गोठहरू लाने गरेका छन्। भेडा पालकहरूले ५ हजार मिटर उचाइसम्मका खर्कहरूमा भेडी गोठहरू लैजाने गरेका छन्। त्यस क्षेत्रका ५०/५५ वटा खर्कहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)