सत्तापक्षले बहुमतको दम्भ देखायो : कांग्रेस

सत्तापक्षले बहुमतको दम्भ देखायो : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले पदीय भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको भूमिका राजनीति दलको कार्यकर्ताजस्तो देखिएको भनेको हो।

बैठक पछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको दृश्यले सभामुखको पदीय गरिमा नभएको ठहर गरेका छौं। त्यो गरिमा र मर्यादा राख्न पथ्र्यो। तर, राजनीतिक दलका कार्यकर्ताजस्तो पेस हुनु सभामुखजस्तो पदको लागि शोभनीय हुँदैन। सभामुखज्यूलाई संसदीय परम्परा जोगाउन भूमिका निभाउन ध्यानाकर्षण गराउन चाहन्छौं।’

सत्तापक्षले बहुमतको दम्भ देखाएको आरोप लगाउँदै लेखकले भने, ‘संसद्मा देखिएको दृश्य नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना हो। यसले संसदीय परम्परालाई कमजोर पार्ने छ। विपक्षीलाई स्पेस नदिने, बोल्न नदिने, समय हुँदाहुँदै आजै विश्वासको मत लिने र संसद्लाई ब्यारेक बनाएर विश्वासको मत लिनु खेदजनक छ।’

लेखकले अगाडि भने, ‘सभामुखज्यूले आज विपक्षी दललाई पनि बोल्न दिनुभएन। त्यसको पछाडि सत्तापक्षको बहुमतको दम्भ छ। सत्तापक्षको निरंकुशताको मनोवृत्ति छ। लोकतन्त्र र मूल्य र मान्यताविपरीत नजान चेतवानी दिएका छौं।’ कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी पनि दिएको छ। प्रमुख सचेतक लेखकले अगाडि भने, ‘प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?’  

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई पनि उत्तिकै सहयोग गरेको बताए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु। आज नेपाली कांग्रेसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु। तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं।’उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए। उनले माओवादीलाई जंगलबाट संसद्मा ल्याउने काम कांग्रेसले गरेको बताए। उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए। 

उनले भने, ‘तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो। बिर्सिनुभयो। हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो ? तपाईं र तपाईंको पार्र्टीलाई शान्तिमा रूपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न कांग्रेसको सहयोग र भूमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने ? भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ ?

उनले सरकारसँग सहकारीको रकम हिनाममिना भइसकेको रकम फिर्ता गराउने कार्यक्रम र कार्ययोजना नभएको बताए। उनले भने ‘कांग्रेस त्यस्तो पार्टी हो जसलाई कसैले धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी हैन।’ उनले विश्वासको मत लिने समय हुँदाहुँदै प्रतिपक्षी सरकारले बलमिच्याइँ र तानाशाही प्रवृत्ति देखाएको उनको आरोप छ।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोध हुँदाहुँदै हतारमा ठगलाई जोगाउन विश्वासको मत लिइएको कांग्रेसको ठहर छ।  नेपालको संविधानअनुसार विश्वासको मत लिन ३० दिन बाँकी छ। विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्‍याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गरेको लेखकले बताए। ‘लाखौं नेपालीका अर्बौं रुपैयाँ ठगी भएको विषयमा सरकारका उपप्रधानमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिन समिति समिति गठनको पक्षमा छौं। यसैले हामीले छानबिन समिति माग गर्‍यौ तर सहकारीको ठग गर्ने केही व्यक्तिलाई जोगाउन सरकार उद्यत भएको छ।’

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे सरकारको रबर स्ट्याम्प बनेको बताएका छन्। महामन्त्री शर्माले भने, ‘सदनमा आज सभामुख देखिनँ, म देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र।’ उपसभापति गुरुङले मागे

गृहमन्त्रीलाई कारबाहीको माग
कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्। 

उपसभापति गुरूङले  आइतबार प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन  र आधारहीन आरोप लगाको भन्दै उनले पत्र पठाएका हुन्। गृहमन्त्री लामिछानेले कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको गुरुङले उल्लेख गरेका छन्। 

गुरुङले पठाएको पत्रमा उल्लेख गरिएको छ, ‘२०८१ जेठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधिसभाको रोष्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइँचढाइँ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरि अदालतकोसमेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छुु।

गृहमन्त्रीले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको गुरुङले उल्लेख गरेका छन्। लामिछानेलाई बोलेका कुराहरू पुष्टि गर्न चुनौती दिँदै उपसभापति गुरुङले पुष्टि नभए उनीमाथि कारबाही गर्न माग गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फसमेत विचार गरि निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु। साथै कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छुु।’

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। जेठ ९ गते बिहान ११ बजेका लागि संयुक्त बैठक आह्वान भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.