टुक्रे योजना दिगो विकासका बाधक
धेरैजसो स्थानीय तहमा साना, खुद्रा र टुक्रे योजनामा बजेट विनियोजन गर्ने प्रणाली रहेको पाइन्छ। अहिले बजेट बनाउने बेला भएको छ। नीति, कार्यक्रम र बजेट विनियोजन गर्दा योजनाबद्ध र दीर्घकालीन प्रभाव पार्ने खालका योजनाहरू छनौटमा ध्यान दिनुपर्छ।
अध्ययनबिना सस्तो लोकप्रियताका लागि योजना ल्याउने पद्धति पनि छ। यसलाई सुधार गर्नका लागि तथ्यमा आधारित र संभाव्यता अध्ययन भएका योजनाहरू मात्र ल्याउनुपर्छ। जसले गर्दा आयोजना कार्यान्वयनको चरणमा जग्गाको समस्या, नागरिकको विरोधजस्ता कुराहरूलाई सामना गर्नुपर्दैन।
स्थानीय तहहरूमा नगरसभाबाट योजनागत रूपमा बजेट विनियोजन नगरी विधायिकी मनसायबेगर, आर्थिक वर्षको बीच–बीचमा योजना मनोमानी रूपमा बाँडफाँट गर्ने प्रणाली पनि छ। यसको सुधारका लागि स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेका योजना छनौटका चरणहरू पार गरी गाउँ/नगरसभामार्फत नै योजनागत रूपमा स्पष्ट बजेट बाँडफाँट गरिनुपर्छ।
पूर्वाधार विकासका योजनाहरूमा मात्र बजेट केन्द्रित भयो। विकासका पाँचवटा क्षेत्रहरूमध्ये थप चारवटा क्षेत्र आर्थिक, सामाजिक, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत सेवा प्रवाहमा पनि समान तरिकाले बजेट विनियोजन गर्नुपर्छ। जसले दिगो र सन्तुलित विकासमा टेवा पुर्याउँछ।
(नेपाल सरकारका उपसचिव अर्याल तिलोत्तमा नगरपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुन्।)