प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
मकवानपुर : बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सुरक्षा गोष्ठी सुरु भएको छ। संघीय सरकारको गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु भएको दुई दिने गोष्ठीको आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन्।
गोष्ठीमा प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु, सशस्त्र प्रहरी तथा नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी छन्। गोष्ठीमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो।
प्रदेश र संघीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतीलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने सेवामा समीक्षा गरी सुरक्षाको नयाँ अवधारणा तयार गर्ने विषयमा छलफल गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।