काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद चन्दा चौधरीले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छन्। पार्टी कार्यालयमा जारी कांग्रेसको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताइन्।
'हामीले पहिले पनि उहाँले राजीनामा गरेर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भनिरहेका छौं। पार्टीले पनि त्यो निर्णय गर्ला,' उनले भनिन्।
उनले संसदको प्रमुख प्रतिपक्षी दलले लाखौं सहकारी पीडितको न्याय माग्दा सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाइन्। उनले संसदमा प्रमुख प्रतिपक्षी दललाई पेलेर लैजाने सत्तापक्ष र सभामुखको भूमिकाप्रति प्रश्न गरिन्।
'सत्तापक्षले पेलेर लैजाने त कुरा छँदैछ। सभामुखज्युले पनि आफ्नो पदीय भूमिका निर्वाह गरिरहनुभएको छैन। यतिबेला हामी स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई स्मरण गरिरहेका छौं, जसले संसदमा यस्तो भूमिका कहिल्यै निभाउनुभएन,' उनले भनिन्।
उनले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले निरन्तर संसद अवरुद्ध पार्ने बताइन्। 'आगामी संसद बैठक पनि अवरुद्ध गर्छौं। सायद सत्तापक्षले अस्तीजसरी नै कांग्रेसलाई घेरेर संसद सञ्चालन गर्नेछ,' उनले भनिन्।