४१ मेगावाट जलविद्युत आयोजना निर्माणमा ३ बैंक र सुपर बागमती हाइड्रोपावरबीच सम्झौता
![४१ मेगावाट जलविद्युत आयोजना निर्माणमा ३ बैंक र सुपर बागमती हाइड्रोपावरबीच सम्झौता](https://annapurnapost.prixacdn.net/media/albums/image_JH1JZ3UCKN_xBu9TgIPW7.jpg)
काठमाडौं : लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर बागमती हाइड्रोपावरबीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।
सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकशन रहेका छन्।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक संस्थापकहरूको लगानी रहने छ। सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सहअगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ।
सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रूपमा रहने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)