सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
लुम्बिनी : प्रधानमन्त्री पुष्पकमल दाहालले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन्।
२५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए। 'बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ। म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ,' उनले भने।
लुम्बिनी आउँदा आफूलाई सधैं खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए। उनले भने, 'नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटक-पटक व्यक्त गरेको छ।'
सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए। नेपाल-भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे।
'हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोतमात्र होइन। यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो। जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ,' उनले भने। परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल-भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस-सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे।