सिरोहियालाई पक्रन स्वीकृति दिएको हुँ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्न स्वीकृति दिएको खुलासा गरेका छन् । बालुवाटारमा विभिन्न सञ्चारगृहका सम्पादकहरूले लेखेको पाँचबुँदे संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतको आदेश पालनाका लागि सिरोहियालाई पक्राउ गर्न स्वीकृति दिएको बताए।
‘अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन। त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’ प्रधानमन्त्री दाहालले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सिरोहिया छुट्ने आशा गरेको बताए।
नागरिकताको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीका आधारमा सिरोहियालाई थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले गिरफ्तार गरेको थियो। मूलधारका दैनिक अखबार, टेलिभिजन र अनलाइन मिडियाका सम्पादक एवं स्वतन्त्र पत्रकार गरी ३१ जनाले बुधबार संयुक्त पत्र जारी गर्दै मिडियामाथि भएको धरपकडप्रति आपत्ति जनाएका थिए। सोही पाँचबुँदे संयुक्त पत्र प्रधानमन्त्री दाहाललाई बुझाउँदै ध्यानाकर्षण गराउन अपराह्न बालुवाटार पुगेका थिए।
‘सजिलै छुट्नुहुन्छ’
प्रधानमन्त्री दाहालले बुधबार चन्द्रागिरिमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद कार्यक्रमको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सिरोहिया पक्राउ परेको विषयमा होहल्ला गर्न जरुरी नभएको बताए। ‘अदालती प्रक्रिया बुझ्या छु, मैले। बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्री दाहालले भने, ‘उहाँसँग केको रिसइबी ? उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ। त्यो हल भइहाल्छ।’