उँभौली पर्वले सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उँभौली पर्वले सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्। उँभौलीका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।
पूर्वराष्ट्रपतिले भण्डारीले जारी गरेको शुभकामना सन्देशमामा भनिएको छ, ‘भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु।’
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।