‘गृह छाडेर अर्को मन्त्रालय जानुस्, कांग्रेसले राजीनामा पनि माग्दैन’

निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने ठाउँमा गृहमन्त्रीले नै ढाकछोप गर्नु गम्भीर विषय : कोइराला

निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने ठाउँमा गृहमन्त्रीले नै ढाकछोप गर्नु गम्भीर विषय : कोइराला
कांग्रेस नेता डा. शेखर कोइराला।
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारी ठगीलगायतका विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई चैं कानुन लाग्दैन ? भनेर प्रश्न गरेका छन्। प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले गृहमन्त्रीलाई किन कारबाही भएन भनेर प्रश्न गरेका हुन्। 

‘देशमा कानुन छ। दुईवटा नागरिकता र पासपोर्ट भएका गृहमन्त्रीलाई त्यो कानुन लाग्दैन ?,’ उनले प्रश्न गरे, ‘उहाँलाई केही हुँदैन। किन हुँदैन ?’ 

गृहमन्त्री भएकै नाताले लामिछानेले सहकारी ठगीबाट उन्मुक्ति पाउन नसक्ने निष्कर्ष कांग्रेसको रहेको उनले सुनाए। ‘गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीबाट उन्मुक्ति दिने ? त्यो हुन सक्दैन। ठगीबाट उहाँले उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने नेपाली कांग्रेसको ठहर छ,’ डा. कोइरालाले भने, ‘व्यक्ति होस् वा पार्टी कसैले पनि बचाउन सक्दैन। मकै पोलेर, पानी र चिया बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुन्छ। गृहमन्त्री मैले केही गरेको छैन भन्नु हुन्छ।’

सहकारीका सम्बन्धमा लामिछानेले केही नगरेको भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय रोज्नुपर्ने उनको भनाइ छ। ‘दुःख गरेर राखेको पैसा सहकारीबाट हिनामिना हुँदा उहाँ मैले केही गरेको छैन भन्नु हुन्छ। छैन भने गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय जानुस्,’ कोइरालाले भने, ‘नेपाली कांग्रेसले राजीनामा पनि माग्दैन। पुलिसलाई स्वतन्त्र भएर काम गर्न दिनुस्।’ निष्पक्ष हिसाबले छानबिन एवं अनुसन्धान गर्न दिनुपर्ने ठाउँमा गृहमन्त्री नै ढाकछोप गर्न लाग्नु अत्यन्तै गम्भीर विषय भएको उनको भनाइ छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको प्रसंग जोड्दै कोइरालाले प्रहरीले जे मन लाग्छ त्यही गरिरहेको आरोप लगाए। ‘पुलिसले जे मन लाग्छ त्यही गर्ने ? उसलाई समात्नै पर्ने थियो ? कि उ भागिरहेको थियो ? पुलिसलाई अधिकार छ भनेर जेपनि गर्न पाउँछ ? त्यसरी गर्न पाइँदैन,’ उनले भने, ‘मानिसको इज्जत हुन्छ। त्यसमा प्रहरीले खेलवाड गर्न पाउँछ ? जो मान्छेले बद्मासी गरेको छ, उसलाई केही नगर्ने। जो भागेकै छैन, उसलाई पक्राउ गर्ने ? बोलाएर बयान लिएको भए हुने थियो। यो सबै गृह प्रशासनले गराएको हो।’ 

डा. कोइरालाले सिरोहिया पक्राउ पर्नुले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ गइरहेको प्रष्ट हुने बताए। ‘आज कैलाश सिरोहिया समातियो। भोलि अर्कै समातिएला। पर्सि एउटा छुट्ला,’ उनले भने, ‘तर, हामी हेरेर रमाइरहेका छौं। देश विस्तारै निरंकुशतातर्फ जाँदै छ। यो कुरा सबैले बुझ्न जरुरी छ।’ सिरोहिया पक्राउ प्रकरणलाई देश निरंकुशता र अधिनायकवादतर्फ अघि बढिरहेको ‘ट्रेलर’का रूपमा बुझ्न सकिने उनको भनाइ छ। 

सिरोहियालाई पक्राउ गर्नु समग्र मिडिया क्षेत्रमाथिकै आक्रमण भएको उनले बताए। ‘कैलाश सिरोहिया केही पनि हैन,’ उनले भने, ‘सिरोहिया पक्राउ पर्नु चैं पत्रिका र मिडिया क्षेत्रमाथिकै आक्रमण हो।’ पत्रकारले पटक्कै डराउन नहुने पनि कोइरालाले बताए। भने, ‘निर्भीक र निडर भएर अगाडि बढ्नुस्। नेपाली कांग्रेस तपाईंहरुको साथमा छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.