नालाको रडले छेडिएर सिमरामा एक बालक घाइते
![नालाको रडले छेडिएर सिमरामा एक बालक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
सिमरा : बाराको सिमरा विमानस्थल अगाडि नालाको रडले छेडिएर बिहीबार बिहान एक आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने प्रितराज गिरी रहेका छन् । विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो ।
नालाको रडले बालकको पेटमा छेडेको छ । बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बालकको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार बालकको अवस्था गम्भीर छ ।
नाला निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना भएको हो । नालाका लागि बनाइएको ढलानमा रड नछोपिएको र बालक खेल्ने क्रममा लडेर उक्त रडमा छेडिन पुगेको स्थानीयले जानकारी दिएका छन् ।
घटनालगत्तै स्थानीयले बालकलाई अस्पताल लगेका थिए । बालक थानीमाई आधारभूत विद्यालयको विद्यार्थी रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)