विराटनगरमा गुण्डागर्दी गर्ने समूह पक्राउ

विराटनगरमा गुण्डागर्दी गर्ने समूह पक्राउ

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा गुण्डागर्दीका माध्यमबाट आतंक मच्चाउने समूह पक्राउ परेको छ। समूहका ६ जना पक्राउ परेका हुन्।  

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का २० वर्षीय छिरिङ भनिने नेनी शेर्पा, विराटनगर–११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिलनारायण चौधरी र २० वर्षीय सौजन गुरुङ रहेका छन्। मोरङ प्रहरीको हिरासतमा राखेर उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। यही समूहका ४ जना फरार छन्।
 

फरार हुनेमा विराटनगर–७ का २७ वर्षीय अंकित लिम्बू, मोरङको कटहरी गाउँपालिका–२ का २३ वर्षीय सरोज यादव, करन साह र लुसिफर भनिने रोहित ठाकुर रहेका छन्। उनीहरूको खोजी तीव्र पार्दै पक्राउ परेकाविरुद्ध अभद्र व्यहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए। पक्राउ परेकालाई छाड्न र मुद्दा नचलाउन केही नेताले दबाब दिएका थिए। तर, दबाबको बेवास्ता गर्दै प्रहरीले कारबाही अघि बढाएको हो। 

गुण्डा समूहमाथि मोरङ प्रहरीको अपराध अनुसन्धान शाखाका इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ। डीएसपी बस्नेतका अनुसार गुण्डागर्दी गर्ने समूहले विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको सिंहासन रेस्टुरेन्ट परिसरमा जेठ ६ गते राति १०:३० बजेतिर आतंक मच्चाएको थियो। अंकित लिम्बूको नेतृत्वमा हतियारसहित पुगेको समूहले रेस्टुरेन्टका कर्मचारी एवं सुपरभाइजर राहुल सहनीमाथि आक्रमण गरेको बस्नेतको भनाइ छ। 

उनका अनुसार अंकित नेतृत्वको समूहले पछिल्लो समय विराटनगरमा गुण्डाराज चलाउन खोजेको देखिन्छ। अंकितले चिनजानका युवाहरूलाई भेला पारेर संगठित गर्दै गुण्डागर्दीमा प्रयोग गरेको उनको भनाइ छ। ‘यो समूहले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसा नतिर्ने र पैसा माग्दा आक्रमणमै उत्रिने गरेको खुल्यो। सिंहासनमा पनि यही प्रकृतिको घटना भएको हो,’ उनले भने, ‘मापसे (मादक पदार्थ सेवन) गरेको र नास्ता खाएको पैसा माग्दा रेस्टुरेन्टका सुपरभाइजरमाथि नै आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विस्तृत अनुसन्धानपछि थप विषय प्रष्ट हुन्छ।’ 

केही दिनअघि सिंहासन रेस्टुरेन्टमा खाएको पैसा नतिरिकन बाहिरिन खोजेपछि अंकितको समूहसँग सुपरभाइजर राहुलले पैसा मागेका थिए। त्यही रिसईबी राखेर बसेको समूहले ४ दिनपछि रेस्टुरेन्ट परिसरमै पुगेर उनलाई आक्रमण गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार यो समूहले रेस्टुरेन्टमा तिर्न बाँकी रकमका बारेमा यकिन गर्ने काम भइरहेको छ। 

घटनाको दृष्य देखिने सीसी क्यामेराको फुटेज पनि बाहिर आएको छ। रेस्टुरेन्ट परिसरमा राहुलसहित ३/४ जना गफ गरेर बसिरहेको फुटेजमा देखिन्छ। त्यत्तिकैमा एउटा समूह रेस्टुरेन्ट परिसरमा छिरेर उनलाई आक्रमणमा गर्न थालेको थियो। रातको समयमा एक्कासि छिरेको समूहले मुक्का हान्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले मूल ढोका बन्द गर्न खोजेका थिए। तर, जबरजस्ती खोलेर एउटा हुल भित्र पस्यो।  

‘राहुलमाथि केही व्यक्तिले मुक्का प्रहार गर्न थाले। एक जनाले पेस्तोलजस्तो वस्तु निकालेर ताक्दै गरेको देखिन्छ। अर्का व्यक्तिले खुकुरीले हानेका छन्,’ बस्नेतले भने, ‘रेस्टुरेन्ट परिसरमा रहेकाले छुट्याउन खोजे। तर, हतियार निकालिएपछि सबै जना त्रसित भएछन्। राहुलले छलिएर ज्यान बचाएको पाइयो।’ उनका अनुसार गस्ती गर्दै प्रहरी पुगेका कारण घटनामा संलग्नहरू फरार भएको र ठूलो क्षति हुन नपाएको हो। 

पेस्तोल नक्कली रहेको प्रहरीको भनाइ छ। ‘पेस्तोल नक्कली भएपनि सक्कलीजस्तै देखिन्छ। तर्साउनका लागि बोकेर हिँड्ने गरेको खुल्यो,’ डीएसपी बस्नेत भन्छन्, ‘तर, आक्रमण चैं ज्यान मार्ने हिसाबले गरेको देखिन्छ। राहुल छलिन सफल भएका कारण अप्रिय घटना हुन पाएन र ठूलो चोटपटक पनि लागेन।’ घटनास्थलनजिक प्रहरी नपुगेको भए चैं घटनाले कस्तो रूप लिन्थ्यो भनेर भन्न नसकिने बस्नेतको भनाइ छ। 

‘गाडीको ‘साइरन’ बजाउँदै प्रहरी गस्तीमा निस्किएको रहेछ। प्रहरी आइपुग्यो भनेर हल्ला हुन थालेपछि आक्रमणकारीहरू छिन्नभिन्न भएर भागेछन्,’ उनले भने, ‘घटनास्थलबाट एक जनालाई पक्राउ गरियो। अरु दिव्य रत्न होटलबाट पक्राउ परेका हुन्।’ उनका अनुसार नक्कली पेस्तोल देखाउने छिरिङ भनिने नेनीलाई घटनास्थलबाट पक्राउ गरिएको हो। 

खुकुरी प्रहार भने अंकितले गरेको डीएसपी बस्नेतले बताए। वारदातस्थलबाट प्रहरीले १७ इन्च लामो खुकुरीको दाप बरामद गरेको छ। खुकुरी बरामद भइसकेको छैन। नक्कली पेस्तोल विराटनगर–७ हाटखोलास्थित दिव्य रत्न होटलबाट बरामद भएको डीएसपी बस्नेतले बताए। उनका अनुसार उक्त होटल गुण्डा समूहको नेतृत्व गरेका अंकित लिम्बूको हो। 

होटलको २०६ नम्बर कोठाभित्र लुकाइएको स्टिलको लेप भएको, ७ ईन्च लम्बाई र ‘मेड इन चाइना’ लेखिएको पेस्तोलजस्तो देखिने वस्तु बरामद भएपनि त्यो नक्कली रहेको उनले बताए। यद्यपि, यो समूहसँग सक्कली पेस्तोल नै रहेको हुनसक्ने प्रहरीको आशंका छ। ‘सक्कली पेस्तोल नै रहेको सूचना छ। त्यससँग सम्बन्धित थप विवरण संकलन गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘होटलमा खानतलासी गर्दा नक्कली मात्रै बरामद भयो। गम्भीर ढंगले अनुसन्धान अघि बढाएर सम्भावित स्थानमा छापा हान्ने काम भइरहेको छ।’ 

प्रहरीका अनुसार घटना भएको दिन प्रियसिलनारायण चौधरीको जन्मदिन थियो। दिव्य रत्न होटलमा उनको जन्मदिन मनाउँदै राहुललाई आक्रमण गर्ने योजना बनाइएको डीएसपी बस्नेत बताउँछन्। उनका अनुसार योजनाबद्ध हिसाबले नै घटना गराएको देखिन्छ। गुण्डागर्दी गर्ने समूहले राहुललाई त्यसअघि पनि धम्क्याएको प्रहरीको भनाइ छ। 

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की गुण्डागर्दीविरुद्ध प्रहरीले विशेष कारबाही अघि बढाएको बताउँछन्। ‘पछिल्लो घटनाक्रमबाट केही व्यक्तिले ‘ग्याङ’ खडा गरेर गुण्डागर्दी गर्न खोजेको देखिन्छ। गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक सिर्जना हुन हुँदैन भनेर प्रहरी चनाखो छ,’ उनले भने, ‘गुण्डाराज चलाउनेविरुद्ध प्रहरी निर्मम बन्छ। त्यस्तालाई तत्काल नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याउँछ।’ 

एसपी कार्कीका अनुसार घटनामा संलग्न रहेकाको ‘कनेक्सन’ खोतल्दै विशेष ढंगले अनुसन्धान अघि बढाइएको छ। ‘उनीहरूको संलग्नता एवं सम्बन्ध कहाँ–कहाँ र को–कोसँग रहेछ भनेर बुझ्ने काम भइरहेको छ। कसैको ‘सपोर्ट’बिना समूह बनाएर आतंक मच्चाउन सम्भव नहुनसक्छ,’ उनी भन्छन्, ‘गुण्डागर्दी गर्ने र आतंक मच्चाएर समाजमा अशान्ति फैलाउनेसँग कुनै सम्झौता हुँदैन। त्यस्तालाई कारबाहीको दायरामा ल्याएर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनु प्रहरीको दायित्व हो।’ विगतमा गुण्डागर्दीमा संलग्नहरूका बारेमा पनि प्रहरीले सूक्ष्म ढंगले निगरानी गरिरहेको जानकारी कार्कीले दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.