बुद्धलाई सम्झने सन्दर्भहरू
बुद्धको पञ्चशील हिंसारहित जीवन, चोरी नगर्ने, झुट नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो। बुद्धका प्रमुख ४ वाद महायान, हीनयान, बज्रयान
सनातनी ग्रन्थ वैराग्य शतकमा राजर्षि भर्तृहरि भन्नुहुन्छः खानामा रोगको भय छ, कुलमा च्युत हुने डर छ, धनमा चोर र राज्यको भय छ, मानमा दीनताको डर छ, गरिबले धनीलाई सहन्नन्, बलमा शत्रुको भय छ, रूपमा जरा र बुढ्याइँको त्रास छ, विद्वान्का आलोचक बढी हुन्छन्, गुणीलाई निन्दाको डर छ, शरीरलाई कालको डर छ, संसारमा डररहित केही छैन र वैराग्य मात्र भयरहित छ (वैराग्यशतक ३१)। मनुस्मृति भन्छ ः धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ। त्यसैले गुरु व्यासको भनाइ छः १८ पुराणका रचयिता वेद व्यासले जम्मा दुई शब्द भने– अरूको उपकार गर्नाले पुण्य हुन्छ र अरूको पीडाले पाप हुन्छ।
शैवमार्गीहरूले ईश्वरलाई शिव भने, वेदान्तीहरूले ब्रह्म, बौद्धमार्गीहरूले बुद्ध, नैयायिकहरूले कर्ता, जैनमार्गीहरूले अर्हन्त र मीमांशकहरूले कर्म भने। जसले जे भने ठीकै भने। तीनै लोकका मालिक त्रैलोक्यनाथका श्रीपरमेश्वरबाट मानव मात्रले वाञ्छित फल पाउन्। शिखमार्गीहरूले गुरु नानकको उपासना गर्छन्। उनका प्रार्थनामा पाँच नाम छन् ः सत्य, यथार्थता, ईश्वरको नाममा दया, सद्विचार, ईश्वर स्तुति र उनैको गुणगान। ‘सूर्य दिनमा प्रकाशित, रातमा चन्द्रमा, कवचले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानका कारण ब्राह्मण प्रकाशित हुन्छ। बुद्ध आफ्नो तेजले आफैं प्रकाशित छन् (धम्मपद ३८७)। यस्तै, महाभारतमा छ, अक्रोधले क्रोधलाई जित्नु, असाधुहरूलाई साधुको व्यवहारले, कृपणलाई दानले र झुटलाई सत्यले जित्नु (३९।७२)।
बुद्धको धम्मपद २२३ मा छ, ‘क्रोधीलाई अक्रोधले जित्नु, असाधुलाई साधु भएर, नराम्रो गर्नेलाई राम्रो गरेर, कृपणीलाई दिएर र असत्यलाई सत्यले जित्नु पर्छ। विश्वका हरेक कुनाका बौद्धधर्मीका लागि बुद्धजयन्ती अत्यन्तै पावन दिन हो। सबै बौद्धमार्गीले यस दिनलाई अति सुखद् दिनका रूपमा हेर्छन्। हरेक वर्ष नेपालमा साताव्यापी कार्यक्रम राष्ट्रियस्तरमै गर्ने गरिएको छ। संसारभरि बौद्धधर्ममा विश्वास राख्ने धेरै छन्– जापान, थाइल्यान्ड, बर्मा, श्रीलंका, चीन आदि। श्रीविष्णुको सबैजसो अवतारमा पूर्वीय चिन्तन वेदको चर्चा भएको छ भने बौद्धधर्ममा प्रत्यक्षतः वेदको उल्लेख नभए पनि वेदले अभिव्यक्त गरेको हिंसामुक्त समाज निर्माणको स्थापना बौद्ध धर्म दर्शनको प्रमुख लक्ष्य नै हो।
अहिंसा परमो धर्म नै हो। हिन्दु धर्ममा झैं बहुदेवप्रथा तथा मूर्ति पूजामा बुद्धले विश्वास नगरे पनि तन, मन, वचनको अहिंसालाई बुद्धले जीवनको तपस्याको रूपमा लिए। संयोगले बछको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्माण प्राप्त गरेको दिन पनि वैशाख शुक्ल पूर्णिमा एउटै तिथि परेको छ। शाक्यवंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा ६ ओटा दाँत भएको सेतो हात्ती र षट्चक्र भएको एक उज्यालो तारा शरीरमा प्रवेश गरेको देखिन्। उनै मायादेवीको कोखबाट ईसापूर्व ५६३ मा कपिलवस्तुबाट मायावतीको माइतीक्षेत्र देवदह जाँदै गर्दा बीच बाटोमा रमणीय साल बगैंचामा जन्मिएका बालक जन्मँदै आकर्षक थिए। जन्मको सिद्धि प्राप्त गर्न सक्ने ज्योतिषीय भविष्यवाणीअनुसार न्वारान गर्दा उनको नाम सिद्धार्थ राखियो।
त्रिकालदर्शी विद्वान्हरूले भने– यो बालक या त प्रतापी राजा हुनेछ या सन्न्यासी। बालकको जन्म सात दिनपछि माता मायादेवीको अवशान भएकाले अर्की आमा प्रजावती गौतमीले उनको लालनपालन गरिन्। बालक जन्मनेबित्तिकै नन्द र अपनन्द नामक नागहरू आएर उनको स्तुति गरे। जन्मनेबित्तिकै उनै बालक सात पाइला हिँडे। राजा शुद्धोदनले उनका मनमा कत्ति पनि वैराग्य नहोस् भनी सांसारिक सुख भोगका सबै सुविधा उपलब्ध गराए। १६ वर्ष व्यतीत भएका सिद्धार्थलाई सुप्रबुद्धकी सुपुत्री यशोधरासँग बिहे भयो र २९ वर्षको उमेरमा राहुल पुत्र पनि जन्मिए। घुम्दै हिँड्दा बाटामा वृद्ध, रोगी, मृत शरीर र भिक्षु देखेपछि सिद्धार्थलाई वैराग्यले सतायो।
अब लौकिक सुखले आकर्षण गर्न सकेन र पारलौकिक परम शान्ति प्राप्ति हेतु २९ वर्षकै उमेरमा आषाढ पूर्णिमा मध्यरात्रि समय दरबार छोडी नदीकिनारामा पुगेर राजवस्त्र त्यागी कत्थक नामक घोडालाई पनि अरूको जिम्मा दिई आफ्नो कपाल आफैं खौरेर घटिकार नामक ब्राह्मणप्रदत्त पहेँला कपडा लगाई हातमा एक पात्र लिई भिक्षुभेष धारण गरी हिँडे। उसबेला वनमा उनले निकै कडा तप गरेर पनि ज्ञान प्राप्त नहुँदा शुद्ध आहार गर्न लागेका सिद्धार्थ भिक्षार्थी भई क्षेत्रबाट गाउँ पसे। उनी एउटा बटवृक्षमा बस्दा सुजाता नामकी स्त्रीले कुनै असल व्यक्ति सम्झेर खीर खान दिइन्। बुद्धत्व प्राप्तिको अन्तिम खानास्वरूप भएको त्यो खीर दिने कुनै दैवी शक्ति हुन सक्छ। त्यो खानापछि ३५ वर्षे उमेरमा बोधगयामा बोधिवृक्षमुनि उनले बुद्धत्व प्राप्त गरे।
बुद्धत्व हो कि होइन भनी उनले सात हप्तासम्म चिन्तन गरिरहे अनि तपस्सु र भ्रतलुक दुई व्यापारीले दिएको सातु र मह खाएर धर्मोपदेश गर्न थाले। कठोर साधनापछि बुद्धत्व प्राप्त गरेका बुद्धले सर्वप्रथम दिव्यज्ञान कौडिण्यलाई दिए भने अन्तिम ज्ञान प्राप्त गर्ने व्यक्ति सुभद्रऋषि भए। सातु र मह दिने व्यापारीलाई पनि बुद्धले धर्म देशना गरे। आषाढ पूर्णिमाकै दिन सारनाथ क्षेत्रमा आपूmले प्राप्त गरेको दिव्यज्ञान प्रचार गरे। ४५ वर्षसम्म उनले विभिन्न क्षेत्रमा बुद्धधर्मको प्रचार गरे। अन्त्यमा ८१ वर्षको उमेरमा भारतको कुशीनगरको उपवर्तन वनमा दुई सालको रूखमुनि इ.पु. ४८३ मा बुद्धले महापरिनिर्माण प्राप्त गरे।
मृत शरीरमा सात दिनसम्म पूजा गरियो। तेलले भिजाएको कपडा र फुक्का कपासले पाँच सय पत्रसम्म बेरेर श्रीखण्डको चितामा राखिएको लासबाट आफैं अग्नि प्रज्वलित भयो। बुद्धको अस्तु विभिन्न स्थानहरू वैशाली, काशीनगरलगायत कपिलवस्तु आदि क्षेत्रमा राख्न पठाई विभिन्न चैत्य, स्तूपहरू उनकै स्मृतिमा निर्माण गरिए। बुद्ध कुनै अवतारी नभएर एक महापुरुष हुन्। बोधिसत्व एवं देवताहरूलाई पुज्ने र लामालाई पुरोहितको रूपमा मान्ने चलन चलाइयो, स्तूपाहरूमा पूजा पनि। हालसम्म २८ बुद्धले धर्तीमा अवतार लिए, तणहंकर, मेघंकर सिखी, बैसम्भू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र गौतम आदि।