तिम्रो पेट भरिएको छ
त्यसैले
तिम्रा रहर अनगिन्ती छन्
मेरा कुनै रहर छैनन्
मात्र गहिरो निराशाको जहर छ
भोकको आगो निभाउने
चट्टानी चाह छ र छ चुनौती !
भगवान् बन्ने शिलामाथि
हथौडा वर्षाइरहेको छु
जसरी वर्षाइरहेछ भोकले
कोर्रा ममाथि
बिहान ओढेर
घरबाट निस्किएको म
साँझ लिएर फर्कन्छु
साथमा केही ल्यायो कि भन्ने
छोराछोरीको आशा
भोकको आकासबाट
तारा झरेजस्तै झर्छ
छट्पटिने मात्र होइन
अन्तिम आशाको केन्द्र
त्यसै त्यसै मर्छ।
भोक प्रिय लाग्दैन मलाई
तर
भोकले मलाई प्रियसी मानेको छ
म भनें
उसलाई युद्ध मान्छु
त्यसो त शान्तिप्रिय छु म
अहँ, मन पर्दैन मलाई
भोकसँगको लडाइँ
तर
भोकको लडाइँले
मलाई आफ्नो बनाएपछि
म पनि संहारमाथि प्रहार गर्ने
बुद्धको अनुयायी बनेको छु
कुनै दिन
छोराछोरीलाई
भरपेट खुवाउन सक्दा
म भोकमाथि
विजयी भएको अनुभूत गर्छु
र विजय उत्सव मनाउँछु।
मेरो पेट खाली छ
हुँदा खानेको सपना
एक मुठ्ठी अन्नमा गएर टुंगिन्छ
एक अन्जुली पानीमा पुगेर सकिन्छ
र त हुनेखानेका जस्ता
असंख्य सपना देख्न म सक्दिनँ
सुन्दर सपनाको धरातलमा
टेक्न म सक्दिनँ
भोकसँगको अन्तिम युद्ध नजितेसम्म
म सुनौलो भविष्य निर्माणको
सपना देख्न सक्दिनँ।