लिच्छवि  : कताबाट आए ? कतातिर गए ?

इतिहास

लिच्छवि  : कताबाट आए ? कतातिर गए ?

कुनै बेला रजगज गरी बसेका लिच्छविहरू कहाँ पुगे आज ? किन अस्तित्वमा छैनन् ? वा, उनीहरू कुन जातिमा रूपान्तरण भए ? सर्वसाधारणदेखि विद्वत्जनमा उठिरहेको प्रश्न हो यो।

पाशुपत क्षेत्रमा लामा र ठूला जति पनि शिलालेख छन्, ती अधिकांश लिच्छवि कालकै छन् भनी धनबज्र बज्राचार्यले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। जुन प्राज्ञिक र ज्ञानी भनी उल्लेख गरिएको समुदाय हो। यतिमात्र होइन, कुनै समयमा नेपालमा साढे तीन सय वर्ष शासन गरेको लिच्छवि समुदाय आज अस्तित्वमा छैन। अझ मूल कुरो त लिच्छविहरूले नेपाल शासन गरेका थिए जसलाई स्वर्ण युगले चिनिन्थ्यो। तिनले त्यसबेला गरेका अनेक कामको चर्चा आजसम्म भइरहेकै छ। 

यसरी रजगज गरी बसेका लिच्छविहरू कहाँ पुगे आज ? किन अस्तित्वमा छैनन् ? वा, उनीहरू कुन जातिमा रूपान्तरण भए ? सर्वसाधारणदेखि विद्वत्जनमा उठिरहेको प्रश्न हो यो।

लिच्छवि काल नेपालको स्वर्णयुग  : शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिर परिसरका केही अभिलेखबाट स्पष्ट हुन्छ कि मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए। सुपुष्प र अंशुवर्मा लिच्छवि कालका नाम चलेका शासक हुन्। कतिपयले राजा सुपुष्पलाई नै नेपालका प्रथम लिच्छवि राजाको रूपमा मान्ने गरेको पाइन्छ।

इतिहासकार जगदीशचन्द्र रेग्मीले पनि २०२६ सालमा प्रकाशित पुस्तक ‘लिच्छवि संस्कृति’मा बालचन्द्र शर्माको तर्कमा जोड दिँदै लिच्छवि काललाई नेपालको स्वर्णयुग भनेका छन् (लिच्छवि संस्कृति, २०२६ : ४७१)। लिच्छवि कालमा नेपालको वैदेशिक सम्बन्ध बढेर विश्वजगत्‌मा नेपाली सभ्यताको क्षितिज उघारिएकाले यस काललाई स्वर्णयुग भन्नुपर्ने उनको धारणा छ।

विद्वान् सूर्यविक्रम ज्ञवालीले पनि यस युगलाई स्वर्ण युग मानेको पाइन्छ। उनको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ नामक किताबको पृष्ठ ३१–३२ मा लिच्छवि वंशलाई समकालीन भारतीय शासक गुप्तवंशसँग जोडेर लिच्छवि सभ्यतालाई स्वर्णयुग भनेको पाइन्छ। ढुण्डीराज भण्डारीले पनि लिच्छवि कालको सांस्कृतिक वैभवका आधारमा यो काल नेपाली सभ्यताको इतिहासमा स्वर्णिम युग थियो भन्न सकिने तर्क गरेका छन् (नेपालको आलोचनात्मक इतिहास, ८६–८७)।

‘राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले लिच्छवि काल उन्नत अवस्थामा भएकाले स्वर्णयुग भन्नुपर्छ’ (भण्डारी, नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास  : ११६)। इतिहासविद् दिनेशराज पन्तको मतमा लिच्छवि काल प्रामाणिक काल हो। ‘लिच्छवि कालमा मुद्रामा संस्कृत र किराँत भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दाबी गर्ने कुनै जाति फेला पर्दैनन्।’ उनले गोपाल राज वंशावली र भाषा वंशावलीको चर्चा उनले गरेका छन्।

‘जुन किराँत काल थियो भन्ने प्रस्ट हुन्छ, गोपाल राज वंशावलीले भने काल दिएको छैन’ पन्तले भनेका छन्, ‘हामीले भाषा वंशावलीका आधारमा भन्न सक्छौं। जति माथि गयो, उनीहरूको कुरा अर्धसत्य, कतै पूर्ण असत्य, कतै असत्य लाग्छन्।’ यसकारण यी विषयमा थप खोज, अध्ययन र अनुसन्धान आवश्यक देखिन्छ।

जाति भएको भए लिच्छवि भेटिन्थे  : दिवाकर आचार्यको बुझाइमा लिच्छविहरू जाति होइनन्। लिच्छविलगायतका केही समुदाय नेपालमा भए पनि वर्तमान समयमा भिन्न अस्तित्वमा नरहेको र तिनीहरू नेवार समुदायमै मिसिएको भन्दै मूलत : लिच्छविहरू जाति नभएकाले नेपालमा हाल नभेटिएको तर्क उनको छ। ‘लिच्छवि, कोली, मल्ल, शाक्य, बृजी, आदि कुनै समय नेपालमा रहेका समुदायको आज भिन्न अस्तित्व देखिँदैन।

सायद तिनीहरू नेवार समुदायका सङ्घटक तत्व बनिसकेका छन्। जाति भएका भए लिच्छविहरू अवश्य भेटिन्थे’ (आचार्य, नीपजन र नेपाल  : एउटा छोटो आध्य परिचय  : २०७४ पृ. ३०)। आचार्यले गरेको खोजपछि लेखिएको पुस्तक नीपजन र नेपाललाई मात्र आधार मान्ने हो भने लिच्छविहरू जाति होइनन्। तर हुन् भन्ने तर्क गर्नेहरूको संख्या बढी छ।

वैशालीबाट आए मल्लपछि हराए  : इतिहासविद् एवं प्राज्ञ प्राध्यापक दिनेशराज पन्त भारतको विहारमा रहेको बसाल (पछि वैशाली भनिएको) भन्ने ठाउँबाट आएका मानिस लिच्छविहरू मल्लहरू आएपछि बिस्तारै हराउन थालेको बताउँछन्।

‘मानदेवका पालादेखि द्वितीय जयदेवका पालासम्म लिच्छवि नेपालमा भएको बुझिन्छ। अझ त्यसभन्दा एक डेढ सय वर्षअघि र पछिसम्म पनि सानो संख्यामा रहेको बुझिन्छ’, पन्त अन्नपूर्ण पोस्ट्सँग बताउँछन्, ‘मल्लहरूले अछूत जातमा राखिदिए। लडाइँमा हारेपछि पोडे बनाई दिएछन्। शासकहरू अधिकांश ठूलै ठान्छन् आफूलाई तर यसरी सानो हुनु परेपछि त्यही पीडा र लाजले हीनताबोध भएको महसुस गरी विलिन हुँदै गएको हुनुपर्छ।’ मानसिक रूपमा कमजोर हुन थालेपछि लिच्छविहरू समयक्रमसँगै ओझेल पर्न थालेको उनको तर्क छ।

सत्ताबाट च्यूत भएपछि लिच्छवि भन्न रुचाएनन्  : इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर पनि भारतको वैशालीबाट नेपाल आएर कालान्तरमा नेपालमै शासन गरेको बताउँछन्। ‘केहीले वैशालीबाट आएका होइनन् भन्ने पनि तर्क गरेका छन्। हिस्टोरियन पाराडाइज अर्थात् इतिहासका यस्ता ठोस प्रमाण नभेटिएका विषयमा जसले जे बोल्छ त्यही सही भन्ने अवस्था छ अहिले लिच्छविका बारेमा पनि’, उनी भन्छन्। 

उनका अनुसार लिच्छविसम्बन्धी मात्र नेपालमा २ सय ५० भन्दा बढी शिलालेख छन्, त्यसैले खोज अनुसन्धान गर्न सके कतै न कतै यिनको खास तथ्य फेला पर्छ। ‘वैशालीमा अजात शत्रुले आक्रमण गरेपछि ध्वस्त बनेका लिच्छविहरू छरिएर चारैतिर पुगे भन्ने छ’ मानन्धर अन्नपूर्णसँग भन्छन्, ‘एकथरी नेपाल प्रवेश गरेको पाइन्छ। त्यतिबेला नेपालमा बुद्धकालीन समय थियो। सयौं वर्षपछि नेपालको सत्तामा पुगेको भनिन्छ जसले आठौं शताब्दीसम्म शासन चलाए।’

डा. मानन्धरका अनुसार, डा. बाबुराम आचार्य भन्छन्– ‘शासनसत्ताबाट जब लिच्छविहरू च्यूत भए तब तिनले आफूलाई लिच्छवि भन्न नै मन पराएनन् र जनतामा मिसिए। भनेको ज्यापू समुदायमा मिसिए।’ डा. मानन्धर थप्छन्– ‘कसरी यो कुरो पुष्टि हुन्छ भने लिच्छवि कालमा हु याङ सेनले लेखेका छन्– जसरी ज्यापू हृष्टपुष्ट देखिन्छन्, खेतीमा काम गर्न सक्छन्, तिनी पनि त्यस्तै थिए र त्यसरी नै काम गर्थे। दोस्रो, लिच्छविले घुँडासम्म जुन लुगा जसरी लाउँथे, ज्यापूले पनि त्यस्तै लुगा त्यसरी नै लगाएका छन्। तेस्रो, दुवैले प्रयोग गर्ने कपडा बुट्टे छ। चौथो, ज्यापूहरूमा देवाली गुठी छ जुन किसिमलेलिच्छविले गर्दै आएका थिए।’

अनि गुमनाम बने : संस्कृतिविद् एवं इतिहास अध्येता तेजेश्वरबाबु ग्वंग : ले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालका जातीय संस्कार’ नामक पुस्तकमा ‘सामाजिक संस्कारका परिवेशमा च्यामे, च्यामाखल, द्यौला, पोडे’ शीर्षकको लेखमा लेखेका छन्, ‘लिच्छवि शासनलाई अवशान गरिसकेपछि अवशानित वर्गलाई निम्नस्तरमा झारेर यस अवस्थासम्म पुर्‍याएथे भन्ने अमूर्त कथन पनि गाइँगुइँ रहे भएको पाइन्छ।’ 

वर्ण र वर्गविशेषलाई यो तहसम्म पुर्‍याउन मध्यकालीन राजकीय संस्कृतिले बलवान् भूमिका निर्वाह भए गरिएको झिनामसिना आशंका गन्ध पाइएको पनि उनले उल्लेख गरेका छन्। ‘राजनीति दाउपेचका कठोरतम साधन भएकाले यसमा प्रचुर समय साधन लगाएर धैर्यपूर्ण खोजनीति हुनुपर्ने विषय बनेको छ’, ग्वंग : ले लेखेका छन्, ‘द्यौला, पोडे, च्यामेहरू नेवार समुदायका अन्य वर्णहरूलाई ‘नेवात’ अर्थात् नेवार भन्ने गरिएको पाइन्छ।’

किलागलतिर छन् तर चिनिँदैनन्  : लिच्छविहरूका सम्बन्धमा बालचन्द्र शर्माले लेखेका छन्, ‘भारतका सुदूर प्रान्तका र हिमालयको उत्तराखण्डका व्यापारीहरूको समागम नेपालमा हुन थाल्यो। पर्वत खण्डमा शाक्यहरू प्रवेश गर्दा स्त्री जातिको संख्या थोरै भएकाले नेपालकै आदिजातिसँग वैवाहिक सम्बन्ध स्थापित गरे’ (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रूपरेखा  : २०३७, पृ. ७६)। यसलाई पुष्टि गर्ने तथ्य छन्– ‘किलागल, नरदेवी भेगमा अहिर (अभीर)हरूको बस्ती रहेकाले तिनीहरूको सम्बन्ध लिच्छवि कालमा आभीर गुप्ताहरूसँग रहेको मान्न सकिन्छ, तिनै अभीरहरू हाल ज्यापू कहिन्छन्’ (प्रा.डा. जगदीशचन्द्र रेग्मी, लिच्छवि इतिहास  : २०७६, पृ. २५)।

लिच्छवि किराँतकै एउटा समूह  : ‘लिच्छवि पनि किराँतकै एउटा समूह हो’ (इमानसिंह चेम्जोङ, किराँत इतिहास र संस्कृति  : २०५१, पृ. ५)। चेम्जोङले लिच्छविहरू किराँतकै एक समूह भनेपछि किराँतका सम्बन्धमा नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालले किराँती नेपालका आदिवासी भएको जुन वर्ग मध्य एसियाबाट विभिन्न स्थान हुँदैन नेपाल प्रवेश गरेको बताउँछन्। पुस्तकमा लेखेका छन्, ‘किराँत मध्य एसियाबाट पूर्वोत्तर सर्दै सयौं वर्षपछि नेपाल आइपुगेको निचोड निकालेको पाइन्छ। किराँतीहरू नेपालका आदिवासी हुन्। किराँत भनेको एउटा वर्ग हो। त्यसभित्र अन्यान्य जाति पनि समाविष्ट थिए’ (नेपाल, मिश्रित जातजाति हामी नेपाली  : २०७९, पृ. २९ र ३०)।

पहिचान लुकाए लिच्छविले  : डा. दयाराम श्रेष्ठ सम्भव लिच्छविहरू भारतको वैशालीबाट आएको बताउँछन्। ‘धनबज्र बज्राचार्य र जगदीशचन्द्र रेग्मी अनि हरेराम जोशीको पुस्तकमा लिच्छविहरू भारतको वैशालीबाट आएको पढेको छु’, उनी भन्छन्, ‘तर पनि लिच्छवि अहिले कहाँ छन् ? भन्न कठिन छ, सबाल गम्भीर छ। नेपालमा शासन चलाएरै बसेको ठूलो जमात लखेटिएकै भए वा हत्या गरिएकै भए पनि तिनको केही अंश त हुनुपर्ने हो।’ 

उनका अनुसार लिच्छविहरूले समयक्रमसँगै कारणवश आफूलाई लिच्छवि भनाउन संकोच मान्दै पहिचान लुकाएका हुन सक्छन्। उनी थप्छन्, ‘खासमा लिच्छवि कसरी कहिले कहाँ गए ? भन्नेबारे गहन अनुसन्धान नै जरुरी भएको छ। सर्भे चाहिएला। वंशावली खोतल्नु पर्ला। किनकि तिनको अस्तित्व कुनै न कुनै रूपमा पक्कै कहीँ त होला। छद्म भेषमा रहेका हुन सक्छन्।’ इतिहासविद् डा. सुरेन्द्र केसीले लिच्छवि, गोपाल र किराँतको समूल र विकसित रूप नेवार समुदाय भएको बताएका छन्।

युद्धसँगै बोली, वचनले पनि परास्त पारिए  : किराँतहरूका सम्बन्धमा पनि विद्वान्का बुझाइ आआफ्नै छन्। वंशावली एवं पुराणहरू हेर्ने हो भने सूर्यवंशी क्षेत्रीयहरूले किराँतहरूलाई परास्त गरेको पाइन्छ। 

उनीहरूले किराँतलाई जितेपछि नयाँ शासन व्यवस्था कायम गरेको ती ग्रन्थमा उल्लेख गरेको पाइन्छ। गोपाल राजवंशावलीलाई आधार मान्ने हो भने यसरी बुझ्न सकिन्छ, ‘अनि सूर्यवंशको प्रभावले नेपालमा किराँत राजालाई जितेर लिच्छवि राजवंश चल्यो।’ पशुपति पुराणमा भने युद्धमा मात्र नभई बोलीवचनले पनि परास्त पारेको पढ्न पाइन्छ। जसमा लेखिएको छ, ‘किराँतहरूलाई बोली, वचनले विश्वासमा पारेर तथा युद्धमा परास्त गरेर वैशालीका स्वामी वा पतिहरूले आफ्नो शासनसत्ता कायम गरेका थिए।’ 

गोपाल वंशावलीलाई अध्ययन गर्ने हो भने अलिकति फरक विषय थाहा हुन्छ। जसअनुसार अन्तिम किराँती राजा ‘खिगु’, भाषा वंशावलीका अनुसार ‘गालिज’, राइट वंशावलीका अनुसार किराँत राजा ‘गस्ती’लाई परास्त गरेर (धपाएर) लिच्छवि राजवंशले नेपालमा शासन सुरु गरेको पाइन्छ। जसमा लिच्छवि राजवंशको थालनी कुन समयदेखि भएको थियो, भन्नेबारे चाहिँ यकिन गरिएको छैन।

लिच्छविले ईस्वी संवत् २५० तिर राज्य स्थापना गरे : इतिहासविद् बाबुराम आचार्यका अनुसार त्यसबेलाको किराँत राज्यलाई भंग गरी आफ्नो स्वतन्त्र लिच्छवि राज्य स्थापना गर्न ईस्वी संवत् २५० तिरको समयमा लिच्छविहरू समर्थ भएको पाइन्छ। लिच्छविहरू नेपालमा आउनुभन्दा अगाडि भारतको मुजफ्फरपुर नगरको बसाढ भन्ने वैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणालीअनुसार शासन चलाउने गरेको तर्क आचार्यको छ।

लिच्छवि शासनकालअन्तर्गत फेला परेको पहिलो प्रमाणित अभिलेख भनेकै राजा मानदेवको हो। जुन सन् ४६४ को चाँगुनारायणको अभिलेख हो। उक्त शिलालेखमा मानदेवभन्दा अगाडिका तीन पुस्ताको विवरण दिइएको पाइन्छ। जसमा यसबाहेक पशुपति अभिलेखमा लिच्छवि वंशका आठौं शताब्दीतिरका राजा जयदेवको सन्दर्भ छ। जसमा लिच्छवि राजाहरूको सुरुदेखिकै वंशावली लेखिएको छ।

nullचाँगुनारायणको गरुडस्तम्भ स्थापनामा मानदेव : भक्तपुरस्थित चाँगुनारायण मन्दिर काठमाडौं उपत्यकाको प्राचीन पुरातात्विक मन्दिर हो। मन्दिरको पश्चिमपट्टिको विशाल प्रस्तरस्तम्भमा रहेको शिलालेख नेपालको सबैभन्दा पुरानो प्रामाणिक अभिलेख मानिन्छ। यो शिलालेख प्रसिद्ध लिच्छवि राजा मानदेवको राज्यकालमा कुँदिएको थियो। यस प्रस्तुत चित्रकलामा मल्लपुरीका सामन्तहरू विभिन्न उपहार लिएर मानदेवतर्फ अघि बढ्दैछन्। पञ्चकन्याहरू अतिथिहरूलाई स्वागत गर्न लहरै बसेका छन्। ब्राह्मणहरूबाट सम्पन्न भइरहेको यज्ञ तथा गौदानको वैदिकविधिमा राजमाता राज्यवती श्वेतवस्त्रमा सहभागी छन्। सत्तलमा त्रिविक्रमवामन र शंखचक्रधर नारायणका कलापूर्ण प्रस्तरमूर्ति पनि देखिन्छन्। विभिन्न सांगीतिक प्रस्तुति, धार्मिक अनुष्ठान, ठुलो संख्यामा आएका जनसाधारणको उपस्थितिले समारोहमा भव्यता थपेको छ। तस्बिर सौजन्य : हरिप्रसाद शर्मा

लिच्छविहरू सूर्यवंशी हुन्  : वंशावलीहरूको अध्ययन गर्ने हो भने लिच्छवि राजाहरूको नामको सट्टा क्रमांकमात्र लेखिएको पाइन्छ। सन् ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा हुन् मानदेव। जो लिच्छवि वंशका ३९औं राजाको रूपमा परिचित छन्। मानदेवअघिको सन्दर्भ पनि पाइन्छ। ईसापूर्व २९६ मा लिच्छवि शासन नेपालमा सुरु भएको देखिन्छ। मानदेवअघि राजाको सालाखाला शासन २० वर्ष मान्ने हो भने मानदेवभन्दा ७६० वर्षअघिको इतिहास पाइन्छ। 

  • कुनै समयमा नेपालमा साढे तीन सय वर्ष शासन गरेको लिच्छवि समुदाय आज अस्तित्वमा छैन। अझ मूल कुरो त लिच्छविहरूले नेपाल शासन गरेका थिए जसलाई स्वर्ण युगले चिनिन्थ्यो। तिनले त्यसबेला गरेका अनेक कामको चर्चा आजसम्म भइरहेकै छ।
  • मल्लहरूले लिच्छविलाई अछूत जातमा राखिदिए। लडाइँमा हारेपछि पोडे बनाई दिएछन्। शासकहरू अधिकांश ठूलै 
  • ठान्छन् आफूलाई तर यसरी सानो हुनु परेपछि त्यही पीडा र लाजले हीनताबोध भएको महसुस गरी विलिन हुँदै गएको हुनुपर्छ।
  • हालसम्मको अभिलेखअनुसार लिच्छवि कालदेखिको मात्र स्रोतहरू आधिकारिक रूपमा पाइएका छन्। त्यसअघिको नेपालको सन्दर्भ स्पष्ट रूपमा कहीँ कतै पाइँदैन। लिच्छवि काल अघि जसरी पशुपतिनाथबारे खासै अभिलेख पाइँदैन, त्यसरी नै प्राचीन इतिहास पनि भरपर्दो ढंगले पाइँदैन।
  • लिच्छवि कालदेखि भने अभिलेख, शिलालेख र वंशावलीहरूमा लिखित सामग्री पाइन्छ। लिच्छवि कालीन अभिलेखहरूमा त्यस कालको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र भौगोलिक पक्षमा केही मात्रामा संकेत गरिएको पाइन्छ।

प्रसिद्ध लिच्छवि कालीन शासकहरू या भनौं लिच्छविहरू मूलत : सूर्यवंशी मानिन्छन् भनी अभिलेखहरूबाट स्पष्ट हुन्छ। जुन विषयलाई ग्रन्थ र पुस्तकहरूमा पनि लेखिएको छ। अयोध्याका सूर्यवंशी राजा दशरथ भनी लेखिएको पाइन्छ। जसलाई आठौं पुस्तामा लिच्छवि भएको मानिँदै आएको छ। सुपुष्प नाम चलेका राजा हुन्, लिच्छवि वंशमा। जसलाई लिच्छवि राजवंशका संस्थापक र आदि पुरुष पनि मानिन्छ।

सन्दर्भ राजा सुपुष्पको  : राजा सुपुष्पलाई नै कतिपयले नेपालका पहिलो लिच्छवि राजा भनेका छन्। तर वंशावलीमा भने उनलाई चौथो लिच्छवि राजा भनी उल्लेख गरिएको छ। जयदेव द्वितीयको पशुपति अभिलेखलाई आधार मान्ने हो भने उत्कीर्ण वंशावलीमा लिच्छवि नाम गरेका राजापछि तेह्रौं पुस्तामा कामदेवजस्ता राम्रो रूपरंग भएका राजा नै सुपुष्प भएको उल्लेख छ। गोपाल राजवंशावलीमा उनै सुपुष्पलाई सुपुष्पदेव भनिएको छ भने भाषा वंशावलीमा पशुपुष्पवर्मा भनिएको छ। तर राइट वंशावलीमा पशुप्रेखदेव भनेर नामकरण गरिएको पाइन्छ।

राजा मानदेव र मानगृह   : मानदेव लिच्छवि कालका सर्वाधिक चर्चित राजा हुन्। उनकै समयदेखि प्राचीन नेपालको इतिहास स्पष्ट र भरपर्दो भएको पाइन्छ। यिनै विविध कारणले प्रथम प्रमाणित महाराजा भनेर मानदेवलाई मानिन्छ। जसले आफ्नो राज्यकालमा मुद्राको व्यवस्था पनि गरे। ‘श्री मानांक’ र ‘श्री भोगिनी’ अंकित नेपालको प्रथम मुद्रा यिनकै पालामा चलाइएको थियो। यस अतिरिक्त उनले दिएको योगदान कला र विद्या क्षेत्रमा हो। यी दुवैको विकास गरेर उनले राष्ट्रलाई गुन लगाएका थिए। 

प्रथम राजदरबार भनेर मानिने मानगृह जस्तो भव्य भवन पनि उनको पालामा बनाइएको थियो। मानदेव शासन सञ्चालनमा समेत कुशल राजा कहलिए। मानदेव प्रथमको शासनकालमा आएर नेपाल राज्य अझ व्यवस्थित, विकसित र बलियो बनेको इतिहास पाइन्छ। यी राजालाई शास्त्र जान्ने, जनतालाई परिवार ठान्नेजस्ता गुण पाइन्छन्। यस्ता अनेक गुणले युक्त राजा मानदेवले राज्यमा आर्थिक उन्नति गरेका थिए। उनको शासन व्यवस्था पनि शान्त थियो भनिन्छ।

कैलाशकुट भवन र अंशुबर्माको चर्चा  : लिच्छवि कालका अर्का चर्चित राजा हुन् अंशुबर्मा। जसको शासनकाल ईस्वी संवत् ६०५–६२१ सम्म चलेको इतिहास पाइन्छ। अंशुबर्माकै पालामा नेपालमा खेती परम्परा सुरुआत भयो भने पशुपालन र व्यापार गर्ने कामको थालनी भएको थियो। 

यतिमात्र होइन, परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाका काम पनि भए। यसरी चौतर्फी विकासका कार्यहरू उनी राजा हुँदा भएको पाइन्छ। कैलाशकुट भवन नामक दरबार लिच्छवि कालको ठुलो उपलब्धि हो। जुन दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले बनाएको पाइन्छ। 
अंशुबर्माले चीन र तिब्बतको परराष्ट्र नीति तय गरी सफलतापूर्वक सञ्चालन गरेका थिए। भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङ गम्पोले शक्तिशाली साम्राज्य उनको समयमा खडा गरेको पाइन्छ। त्यसैले सायद तिब्बतसँग उनले साँठगाँठ गरी तिब्बती राजा गम्पोसँग राजकुमारी भृकुटीको विवाह गराएका थिए।

भृकुटी  : भृकुटी राष्ट्रिय विभूति हुन्। उनले नेपालको सम्बन्ध तिब्बतसम्म विस्तार गरिन् र एउटा कोशेढुंगा बनिन्। नेपालकी राजकुमारी उनी राजकाजका सन्दर्भमा तिब्बतसँगको सम्बन्ध विस्तार गर्न त्यहाँकी रानी बनिन्। त्यसपछि उनले नेपाली कलाकौशललाई त्यहाँसम्म पुर्‍याइन् र प्रसिद्ध बनाइन्। लिच्छविकालीन राजा अंशुबर्माकी छोरी उनले इतिहासमा अमर छाप छोड्न सफल भइन्।

अरनिको  : प्रसिद्ध कलाकार अरनिको नेपालका राष्ट्रिय विभूति हुन्। उनको उपनाम बलबाहु हो। राजा अभय मल्लको समयमा चीनमा गएर उनले वास्तुकला देखाए। अरनिको चिनिएका भनेकै प्यागोडा शैलीको मन्दिरहरू निर्माण गर्ने दक्ष कलाकार बनेर हो। भनिन्छ, इतिहासविद् बाबुराम आचार्यले गरेको गल्तीका कारण उनको संस्कृत नाम बालबाहु रहन गयो। अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा छ जुन पर्यटकको आकर्षणको केन्द्रका रूपमा छ।

सन्दर्भ लिच्छवि संवत्को  : नेपालको हालको राजधानी काठमाडौंमा लिच्छविहरूले शासन गर्थे। सन् ४०० देखि ७५० सम्म चलेको पाइन्छ। कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्री हुएन साङको यात्रा वृत्तान्तलाई आधार मान्ने हो भने भारतको वैशालीबाट भागेर आएका पुरुषले किराँतलाई खेदेर लिच्छवि वंशको स्थापना गरेको इतिहास पाइन्छ। 

लिच्छवि संवत्का विषयमा अनेक तथ्य र तर्क छन्। यस सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७६ सालमा प्रकाशित भुवनलाल प्रधानको पुस्तक ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’ मा लेखिएको छ, ‘जहाँसम्म माथि सुरुमा उल्लेख गरिएको तथाकथित ‘लिच्छवि संवत्को निष्कर्ष’ भन्ने पुस्तिका छ, त्यसको मूल बुनियावादी आधार नै गलत भएकाले त्यो ऐतिहासिक तवरले गलत छ भनेर मैले २०३३ 
सालमै ‘नेपाली’ अंक ६१ मा र २०३३–१–९ को गोरखापत्रमा प्रकाशित गरेको छु।’ प्रधानले पुस्तिकाका तथ्यलाई गलत प्रमाणित गरेको पाइन्छ।

‘त्यसमा थप तथा कथित निष्कर्ष ज्योतिषी तवरले पनि गलत छ भनेर पूर्णिमा अंक ३८–३९ मा विस्तृत रूपले प्रमाणित गरिएको छ। स्रङचन गम्पोको राज्यको अन्तकाल इ. सन् ६३८ साल भनेर २०३१ सालमा लेखेको कुरालाई अहिले २०३५ सालमा आएर मेरो कथनानुसार इ. सन् ६५० भनेर मान्नु परेबाट उपर्युक्त निष्कर्ष पूर्ण रूपेण गलत छ भनेर सिद्ध भएको छ। त्यसका लेखकले ढिलै भए पनि मेरो भनाइ अहिले सकार्नु भएको छ।

तर उहाँको कात्तिक ४ गतेको गोरखापत्रको लेखमा स्रङचन गम्पोको राज्याभिषेक इ. सन् ५८१ सालमा भएको भन्ने बाबुराम आचार्यको विचारबारे उहाँले केही लेख्नु नभएकाले गम्पोको राज्यकाल ई. सन् ५८१ देखि ६५० सम्म मान्नु भएको ठहरिन्छ। गम्पोले के ६९ वर्ष राज्य गरे त ?’, प्रधानले उक्त पुस्तकमा प्रश्न गरेका छन्।

किराँतकालपछि लिच्छवि काल  : नेपालमा लिच्छवि कालअघि किराँतकाल थियो। शैव धर्म विकास गर्ने मुख्य श्रेय लिच्छवि काललाई जान्छ। डा. गोविन्द टण्डनको पुस्तक ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ (२०५३) अनुसार लिच्छवि राजा मानदेव (वि.सं. ५२२–५६३) प्रथमभन्दा अगाडिको लिच्छवि इतिहास स्पष्ट छैन। ‘लिच्छविहरूको नेपाल आगमनको साथ उनीहरूले आफ्नो प्रचलित संस्कृति र मान्यतालाई पनि साथमा ल्याएका थिए भन्ने कुरा अनुमानगम्य छ’, टण्डनले लेखेका छन्, ‘लिच्छविहरूको आगमनपूर्व प्रचलित परम्परा र लिच्छविहरू आएपछि शैव धर्ममा निश्चित रूपमा केही न केही परिवर्तन आएको हुनुपर्छ।’ 

‘त्यसबेला स्थापना गरिएका केही शिवलिंगहरूमा शिलालेखसमेत अंकित गरिएको पाइएको छ। प्रतिमा लक्षणअनुसार तिनको अध्ययन हुन सके लिच्छवि कालको शैव धर्मको बारेमा थुप्रै कुरा बुझ्न मद्दत पुग्ने थियो’ (टण्डन, २०५३  : ३३)। यसरी ती शिलालेखको अध्ययनले लिच्छविबारे पनि केही यथार्थ जानकारी पाउन सकिने अनुमान गर्न सकिन्छ। उनका अनुसार, लिच्छवि कालमा वैष्णव, शैव, बौद्ध आदि विभिन्न धार्मिक सम्प्रदाय प्रचलित थिए। ती सबै सम्प्रदायप्रति राजाको सद्भाव र आस्था राम्ररी देख्न पाइन्छ।

लिच्छवि शासक, नेपाली समाज र पशुपतिनाथ  : नेपाल परिचय (२०७९) मा लिच्छवि कालभन्दा अघिको प्राचीन इतिहास भरपर्दो स्रोतहरूको अभावमा नेपालको परिचयसमेत स्पष्ट हुन सकेको पाइँदैन। लिच्छवि कालका सबैभन्दा महत्त्वपूर्ण राजा भनेका अंशुवर्मा हुन्।
‘लिच्छवि कालदेखि भने अभिलेख, शिलालेख र वंशावलीहरूमा लिखित सामग्री पाइन्छ। लिच्छवि कालीन अभिलेखहरूमा त्यस कालको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र भौगोलिक पक्षमा केही मात्रामा संकेत गरिएको पाइन्छ। ईस्वी संवत्को थालनीसँगै लिच्छवि काल सुरुआत भएको मानिन्छ। 

विभिन्न प्रमाणलाई आधार मान्ने हो भने ईस्वीको पाँचौं शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास विश्वासिलो भएको आभास हुन्छ’ (गोपीकृष्ण ढुंगाना, पशुपतिनाथ एज एन आइकन अफ टाइम बायोस्ड कम्युनिकेसन, २०८०  : त्रिभुवन विश्वविद्यालयका लागि दर्शनाचार्यको अनुसन्धान शोधबाट)।

नेपालका एक राष्ट्रिय विभूतिसमेत रहेका अंशुबर्माले पशुपतिनाथलाई प्रमुख आराध्यदेव भगवान्का रूपमा पूजा गर्ने गरेको कुरा नेपालका प्राचीन अभिलेखहरूमा उल्लेख भएको पाइन्छ। एक वंशावलीमा सुपुष्पदेवले नेपालमा वर्णव्यवस्था चलाएको, पशुपतिनाथको देवालय बनाएको कुरा पाइन्छ। अझ पशुपतिनाथलाई इष्टदेवता मानेका अंशुबर्माका पालाका सबैजसो अभिलेखमै पशुपतिनाथको ठूलो महिमा भेटिन्छ।

‘सुरुआतदेखि नै अर्थात् लिच्छवि कालका चर्चित राजा अंशुबर्मादेखि नै पशुपतिनाथको चर्चा गरेको पाइन्छ। त्यसपछिका सबैजसो शासन व्यवस्थाका शासकले पशुपतिनाथप्रति देखाएको भक्तिभाव र यसबारे बोलेगरेका सन्दर्भ र गतिविधिले विश्वमा नेपाललाई एक हदसम्म चिनाएको आभास स्पष्ट रूपमा देखिन्छ। लिच्छवि कालमा पशुपतिनाथको महिमा ठूलो थियो भन्ने यथार्थ त इतिहासमा छरपष्ट छ’ (ढुंगाना, दर्शनाचार्य शोध  : २०८०)। 

‘भगवान् पशुपतिनाथको मन्दिर रहेकाले त्यसले चर्चेको ठाउँलाई पशुपति क्षेत्र नामबाट सम्बोधन गरिएको पाइन्छ। लिच्छवि कालमा पनि यहाँको केही क्षेत्रलाई ‘पशुपति क्षेत्र’ भनिन्थ्यो भन्ने कुरा संवत् ४५५ (५९० साल) को भष्मेश्वरस्थित ध्रुवसंघको शिलालेखबाट थाहा हुन्छ’(बज्राचार्य, २०३०  : १५५)।

‘हालसम्मको अभिलेखअनुसार लिच्छवि कालदेखिको मात्र स्रोतहरू आधिकारिक रूपमा पाइएका छन्। त्यसअघिको नेपालको सन्दर्भ स्पष्ट रूपमा पाइँदैन। लिच्छवि कालअघि जसरी पशुपतिनाथबारे खासै अभिलेख पाइँदैन, त्यसरी नै प्राचीन इतिहास पनि भरपर्दो ढंगले पाइँदैन। वंशावली र पुराणहरूमा रहेका नेपाल उपत्यकाको उत्पत्तिका कथाहरूबाटै थाहा पाउनुपर्ने अवस्था छ’ (ढुंगाना, दर्शनाचार्य शोध  : २०८०)।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.