सन्थालहरू वर्तमानको यथार्थमा जिउने, शारीरिक श्रम गर्ने, कम प्रतिस्पर्धी हुने, पैसा थुपार्ने लोभ नभएको परम्परागत जीवनशैली र सोचमा जिएका छन्।
संसार अन्धकारमय र पानीले भरिएको थियो। पानीको फिँजबाट ठाकुर पिता र ठाकुर माताको सिर्जना भयो। उनीहरूले पृथ्वीको धुवाँ र अन्धकारलाई हटाए अनि हावाको सिर्जना गरे। त्यसपछि उनीहरूले एक जोडी हाँस र पानीमा हुने बिरुवाको रचना गरे। त्यसपछि उनीहरूले पृथ्वीमा एक चौथाइ जमिन र त्यो जमिनमा सबै प्रकारका जीवजन्तु र वनस्पतिको सिर्जना गरे। त्यस पृथ्वीको नाम ठाकुरजीले ‘हिडिडी पिपिडी’ राखे र त्यहाँ ‘पिन्चुबूढा’ र ‘पिन्चुबूढी’ नामक आदिपुरुष र आदिस्त्री सिर्जना गरे। यो आदि दम्पतीबाट पाँच छोरा र पाँच छोरी भए र तिनीहरूबाट सन्थाल जातिको विस्तार भएको मानिन्छ।
‘सत्तार’ भनेर परिचय दिइने गरेको सन्थाल जातिको उत्पत्ति कथा हो यो जुन उनीहरूकै समुदायभित्र प्रचलित छ। प्रकृतिसँग निकट रही प्रकृतिसँगकै तादात्म्यमा जीवन निर्वाह गर्ने सन्थाल आपसमा प्रतिस्पर्धाविहीन भई उत्सवका रूपमा जीवन बाँच्ने अभ्यासका मननीय र अनुकरणीय उदाहरण हुन्। यिनै सन्थालको जीवनलाई उत्सवमय बनाउने प्रमुख पाटो उनीहरूको लोकगीतको आलोकमा हेर्ने महत्त्वपूर्ण काम भएको छ— ‘सन्थाली लोकगीत’ नामक पुस्तकमा।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तकमध्ये देशभित्रकै बेग्लै र विशिष्ट संसारलाई चिहाउने महनीय कृतिका रूपमा छ, सन्थाली लोकगीत। नेपालमा सन्थाल जातिको मुख्य बसोबासस्थल रहेको झापा र मोरङ जिल्लाका सम्बद्ध ठाउँहरूमै पुगेर गहन अध्ययन गरी प्रस्तुत गरिएको अनुसन्धान प्रतिवेदनमा आधारित यस पुस्तकका लेखक हुन्, डा. टंक उप्रेती। उनी सन्थाल समुदायको अन्तर–कुन्तरसम्म पुगेर त्यहाँको लोकजीवनको केस्रा–केस्रा केलाउन र तिनका महत्त्वपूर्ण अवयवलाई पाठकसामु पस्किन सक्षम भएका छन्। मानवीय धरातल जहाँ जीवन जिउनुको सार छ। जहाँको जीवनमा सुन्दरतम संसार छ, जहाँका मानिसहरू आनन्दमा बाँचेका छन्।
पुस्तकमा लेखकले सन्थालको सामुदायिक प्रवृत्तिबारे परिचय दिँदै लेखेका छन्– सन्थालहरू वर्तमानको यथार्थमा जिउने, शारीरिक श्रम गर्ने, कम प्रतिस्पर्धी हुने, पैसा थुपार्ने लोभ नभएको परम्परागत जीवनशैली र सोचमा जिएका छन्। सन्थाल बालबालिकाबारे पुस्तकमा छ, उनीहरू थोरै सामाजिक नियम र बन्धनबीच स्वतन्त्र रूपमा हुर्किन्छन्। थोरै आवश्यकता र सामग्रीबीच उनीहरू सन्तुष्ट हुन्छन्। महिला स्वतन्त्रताबारे पुस्तक भन्छ, महिलाहरू श्रीमान् छान्न स्वतन्त्र छन्। अविवाहित जोडीले पनि सँगै बस्न र रीत पु¥याएर बच्चा जन्माउन सक्छन्।
उपर्युक्त विषयहरूमा विचार गर्दा के स्पष्ट हुन्छ भने आज संसार जुन किसिमको स्वतन्त्रता र उन्मुक्त आनन्दमय जीवनका लागि अनेक विधि र प्रविधिहरूको अनुसन्धान, प्रयोग र पैरवी गरिरहेको छ। सन्थालहरूले ती सारा कुरालाई युगौंदेखि
अंगीकार गरिराखेका छन्। श्रम, सद्भाव र स्वावलम्बनका माध्यमबाट जीवनलाई आनन्दोत्सवका रूपमा व्यतीत गर्ने परिपाटीलाई सन्थालले निरन्तरता दिँदै आएका छन्।
कृति दुई खण्डमा विभक्ति छ। पहिलो खण्डमा सन्थाल लोकजीवनको परिचय छ भने दोस्रो खण्डमा सन्थालको बाक्लो आवादी रहेको झापा जिल्लाका विभिन्न क्षेत्रमा प्रचलित विविध शैली र अवसरका लोकगीतहरू प्रस्तुत गरिएका छन्।
पूर्णतः आनन्दभोगी समुदायका रूपमा रहेको सन्थालमा गीत–संगीत–नृत्यजस्ता प्रदर्शनकारी कला फगत राम–रमाइलोका माध्यम होइनन्, सन्थालहरूका लागि गीत/नृत्य भनेका ईश्वरीय आराधनाको सदाबहार र सर्वप्रिय अनुष्ठान हुन्। नृत्य–गीतलाई ईश्वरको प्रसाद मान्ने सन्थाल यी विधामा निपुण हुन्छन्। यसो हुनुमा यससँग जोडिएको विश्वासले मुख्य भूमिका निर्वाह गरेको छ। उनीहरू आफूले गीत–नृत्य ईश्वरबाटै सिकेको विश्वास राख्छन्। यसै विश्वासका कारणले पनि गीत–नृत्यले सन्थाल समुदायमा आनुष्ठानिक स्वरूप र लोकसमर्पण प्राप्त गरेको छ।
कृतिमा उप्रेतीले सन्थाली लोकगीतका विविध आयामको व्यवस्थित दस्तावेजीकरण गर्नुका साथै कृतिलाई सन्थाली लोकसाहित्य, भाषा–परम्परा तथा लिपिको समेत स्रोत–सामग्रीका रूपमा गहनता र व्यापकता प्रदान गरेका छन्। कृति दुई खण्डमा विभक्त छ। पहिलो खण्डमा सन्थाल लोकजीवनको परिचय छ भने दोस्रो खण्डमा सन्थालको बाक्लो आवादी रहेको झापा जिल्लाका विभिन्न क्षेत्रमा प्रचलित विविध शैली र अवसरका लोकगीतहरू प्रस्तुत गरिएका छन्। गीत संकलन र प्रस्तुतिमा पनि लेखकले व्यापक दृष्टिकोण अपनाएका छन्।
हरेक गीतलाई पहिले देवनागरी लिपिमा सन्थाली भाषामा राखिएको छ भने क्रमशः त्यसको नेपाली अनुवाद र सन्थाली भाषाका लागि प्रयोग गरिने उनीहरूको मौलिक लिपि (ओलचिकी लिपि)मा समेत गीत प्रस्तुत गरिएको छ। अनुवाद र लिप्यान्तरणजन्य कार्यका लागि लेखकले सन्थाल भाषा–साहित्य–लिपिका सक्रिय युवा अभियन्ता शिवु मुर्मुको साथ–सहयोग लिएबाट यो पुस्तक सम्बद्ध समुदायबाट हुनुपर्ने अनुमोदनका दृष्टिले पनि प्रामाणिक हुन जान्छ। यस कृतिका माध्यमबाट सन्थाल जातिका सम्बन्धमा कार्य गर्न चाहने भावी अध्येता–अनुसन्धेत्सुहरूका निमित्त लेखकले यथेष्ट आधार तयार पारिदिएका छन्।
गागरमा सागरसमान यस पुस्तकमा लेखकको व्यक्तित्वका सम्पूर्ण पक्ष ‘जगजियार’ देखिन्छन्। डा. टंक उप्रेती कवि साथै टेलिभिजनकर्मी हुन्। सन्थाल जातिको गीत–नृत्यबारे जानकारी दिने क्रममा समग्र लोकगीतका आयाम, सन्थाली लोकगीतको वर्गीकरण, परम्परागत बाजा–गाजा, नाच्ने बेलाको वेशभूषा, नाचसँग जोडिएका धार्मिक विश्वास आदि पाटाको विलक्षण शब्दचित्र कोरिएको छ। दोस्रो खण्डमा प्रस्तुत गीतहरूले देखाउँछ– तिनमा प्रकृति, पर्यावरण, ईश्वर, श्रम, राष्ट्रप्रेम, सामयिक चेत आदि विषयहरूले सहज आकार पाएका छन्। यी विशेषताका कारण पुस्तकले सन्थाली प्रतिनिधि लोकगीत सँगालोको दायित्व पनि निर्वाह गर्न सकेको छ।
लेखकले राष्ट्रिय जीवनशैली र यसको दशा–दिशामाथि औंला ठड्याइदिएका छन्। सन्थाल–जीवनचरितको शब्दचित्र उतार्दै लेखकले यिनीहरूको श्रमशीलता, मिलनसारिता, कला–संस्कृतिलाई ईश्वरीय आराधना मान्ने मनोभाव, सहयोगी भाव तथा निश्छलताजस्ता वैशिष्ट्यलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्। यति सबै भनिसकेपछि यिनीहरू आर्थिक तथा राजनीतिक रूपले भने निकै पिछडिएको पनि बताएका छन्। यसबाट राजनीति÷राष्ट्रनीति श्रम र सद्भावको बाटो सहज–सरल रेखामा हिँड्न नसकेको जीवन्त मौन आवाजलाई मुखर पारेको छ।
सन्थाल जातिमा सातवटा पदहरू सिर्जना गरेर सामाजिक संरचना र सुव्यवस्था कायम गर्ने कार्य गरिएको छ। सन्थालमा किस्कु थरबाट राजा, सोरेन थरबाट सुरक्षाकर्मी, मुर्मु थरबाट पुजारी, हेमरम थरबाट न्यायाधीश, हाम्स्डा थरबाट उजुरी सुन्ने व्यक्ति, मरण्डी थरबाट व्यापारी, टुथु (टुडु) थरबाट फलाम शिल्पीको कार्य गर्ने भन्ने बुझिन्छ। तर राजा र पुजारीदेखि व्यापारी र लोहारसम्मको काम गर्नेका बीच कुनै किसिमको जातीय भेदभाव छैन। काम फरक–फरक भए पनि सामाजिक स्तरमा सबै समान छन्। यसो हुनु भनेको राष्ट्रको निर्देशक सिद्धान्त बन्ने लायकको परिपाटी हो। यस्ता कुरामा समेत समुचित प्रकाश पारेर लेखकले हाम्रो सामाजिक÷राजनीतिक विरोधाभासलाई टड्कारो रूपमा उद्घाटित गरेका छन्।
यतिमात्र नभई सामाजिक सहअस्तित्वका पाटालाई बेवास्ता गर्दै सिर्जना गरिएका शब्दावलीको प्रयोगमा अपनाइनुपर्ने संवदेनशीलतालाई पनि घचघच्याएका छन्। राष्ट्रिय शिक्षाका सरकारी पाठ्यपुस्तकहरूमा पनि ‘सत्तार’ भनेर गरिएको सम्बोधनप्रति स्वयम् सन्थालहरूको विमति र यसबाट उनीहरूलाई होच्याउने मनसाय प्रकट हुने यथार्थ इंगित गर्दै सुधी समाजलाई सचेतसमेत गराएका छन्।