गुरुङ संस्कृतिको सतीघाटु संरक्षणमा गाउँले
रसुवा : परम्परागत सतीघाटु गुरुङहरूको संस्कृति हो। गुरुङको घना बस्तीमा समेत लोप हुन लागेको भए पनि उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँको गुरुङ बस्तीमा घाटु संरक्षणमा स्थानीय लागेका छन्।
ल्होसार, सोरठी र सतीघाटु यहाँको पहिचान छ। ठूलोगाउँमा घाटुनाचको सुरु भएको छ। हरेक वर्ष गुरुङ समुदायले मनाउने सतीघाटु नाच सुरु भएसँगै रौनकता बढेको हो। नाचमा राजा र रानीको जीवन कथालाई प्रस्तुत गरिने वडा नम्बर ३ का वडा सदस्य बमबहादुर लामा गुरुङले बताए।
उत्तरगया–२ डाँडागाउँ र नौकुण्ड गाउँपालिका-५ मा पनि गुरुङ बस्ती रहेको छ। वृद्ध गुरु बा आमाले सिकाउने र गीत गाउँछन् भने घाटु नाचका लागि तयार भएका युवतीहरू दिनरात नाच्छन्। वरिपरि गुरुङ र तामाङ बस्ती रहेको ठूलो गाउँ बीचमा ठूलो आँगन विवाहमण्डप झै सिँगारिएको छ। २५६८ औं बुद्ध जयन्तीका अवसरमा भएको घाटु नाचको विभिन्न धर्मावलम्बीहरूले अवलोकन गरी मनोरञ्जन लिएका छन्। नुवाकोटको रसुवाका गाउँबाट समेत मेलामा पुग्छन्।
सतीघाटु वैशाख पूर्णिमा (बुद्ध जयन्ती) मा मात्र देखाउने परम्परा छ। यस घाटुमा दुई कुमारी विशेष पवित्रताका साथ नुहाएर चोखो वस्त्र लगाएर युवतीहरूलाइ सिँगारेर नचाउने प्रचलन छ। यो नाच नारी प्रधान भावपूर्ण नत्य हो। वन्यजन्तुले आक्रमण नगरेको, रजस्वला नभएका कुमारीहरूहरूलाई पवित्र बनाएर नृत्यका निमित्त तयार गरी देवीदेवताको आराधना गरेपछि कुमारीहरूको शरीरमा देवताले प्रवेश गर्दछन् भन्ने जनविश्वास छ।
तीन दिनसम्म हुने घाटु नाच बुद्ध जयन्तीका दिन सुरु हुन्छ। स्थानीय गुरुले प्रार्थना गरेपछि देवता प्रवेश भएका घाटुलीहरूका आँखा बन्द हुन्छ र नाच्न थाल्छन्। ३ दिन चल्ने नाचमा सुर र तालको विशेष ख्याल गर्नु पर्ने हुन्छ। अन्तमा गुरुले आराधना गरेर मात्र घाटुलीलाई पूर्ववत् अवस्थामा ल्याए पछि मात्र सती घाटु नाच समापन भएको मानिन्छ।
गुरुङ समुदायका युवा युवती तथा वृद्धवृद्धाहरू पनि आआफ्नो भेषभूषामा सजिएर आउँछन्। ठूलो गाउँको बीचमा रहेको चौरमा गाउँभरीका भेला हुन्छन्। ठाँटिमा नाच गानको रमाइलो हुन्छ। राति अन्य गीत तथा नृत्यले निकै रमाइलो हुन्छ भने दिनभरी घाटु हेर्नेको निकै भीड लाग्छ।
घाटुलाई शास्त्रीय नाच पनि मानिन्छ। आफ्ना दश पुस्ताले यो संस्कार चलाउँदै आएको वृद्ध गुरुङ गुरुहरू बताउँछन्। १६औं शताब्दितिर लमजुङबाट भित्रिएको हो। एक राजा रानीको दम्पतीको विवाह, प्रेम, गृहस्थी, राजकाज पुत्र बढाई, जंगलमा सिकार, लडाइँ र मृत्युको कथा नै घाटुको मुख्य विषयवस्तु हो।
कथामा आधारित मृग, सिकारी, कुकुर योगीको दृश्य देखाइन्छ। परम्परागत संस्कृतिको जगेर्ना र शान्तिको कामना गरी दुई कन्याहरूलाई घाटुमा झुलाएर नचाइन्छ। कथामा पतिको मृत्यु पछि पत्नी पनि सती जाने र घाटमा एकै साथ सेलाएर टुंगिने भएकोले पनि घाट हुँदै घाटु भनिएको किम्बदन्ती पनि सुन्न पाइन्छ।
घाटुमा राजा परशुराम र रानी चम्पावतीको कथावस्तु रहेको हुन्छ। घाटु नाच्नका लागि रजस्वला नभएका दुई कन्या छानिन्छन् र उनीहरू बर्सेनि तीन वर्षसम्म नाच्छन्। बीचमा रजस्वला भएमा अर्को कन्याको खोजी हुन्छ। कन्याहरूलाई घाटु नाच्नु अघि गुरुहरूले अक्षताले विभिन्न देवताको नामले पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुन्छन्। यसलाई देवी चढेको मानिन्छ। सिँगारिएका घाटुनीहरूको आँखा खुल्दैनन्। उनीहरू नाचिरहन्छन् दिनभरी सुसारेहरूले सिँगार गरिरहन्छन् कपडा झरे वा अन्य केही सौन्दर्य बिग्रिएमा मिलाइरहेका हुन्छन्।