सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक भोलि ९ बजेलाई सर्यो
काठमाडौं : संसदीय छानबिन समितिको कार्यादेश (टीआओर)मा सहमति जुटाउेनगरी बसेको शीर्ष नेताको बैठक भोलिलाई सरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले बालुवाटारमा बसेको शीर्ष नेताको बैठक विषय प्रवेश नगरी भोलिलाई सरेको बताए। उनका अनुसार बैठक आइतबार बिहान ९ बजे बस्नेछ।
आजै सिंहदरबारमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेपछि बालुवाटारमा शीर्ष नेताहरूको बैठक डाकिएको थियो। बैठकमा कार्यदलका सदस्यहरूसमेत सहभागी थिए। नेता खनालका अनुसार बैठकमा अनौपचारिक छलफलमात्र भएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सञ्चालनका निम्ति सकारात्मक देखिए पनि गृहमन्त्री रवि लामिछानेको नामबारे भने अडान दोहोर्याएको स्रोतले बताएको छ।
सत्तापक्षले भने रविको नामको विकल्पमा सहकारीको नाम र अपचलन भएको भनिएका गोरखा मिडियालगायत कम्पनीको नाम उल्लेख गर्ने प्रस्ताव गरेको छ। 'हामीले कांग्रेसको मागअनुसार गोरखा मिडियाका अध्यक्ष र कर्मचारीहरू' लेख्न प्रस्ताव गरेका छौं। त्यसमा अझै सहमति जुटेको छैन। भोलिसम्म सहमतिमा पुग्छौं भन्ने छ,' सञ्चारकर्मीसँग उनले भने।