भोजपुरमा उँभौलीको उल्लास
भोजपुर : वैशाख पूर्णिमा सुरु भएसँगै किरातहरूको सांस्कृतिक महान चाड उँभौली पर्व धुमधामले सुरु भएको छ। किरात राई समुदायको बाहुल्य रहेको भोजपुरमा पनि उँभौली पर्व हर्षोल्लासका साथ सुरु भएको छ।
किरात मुन्दुमी संस्कृतिमा साकेला, साक्खेवा, साकेन्वा नामले परिचित उँभौली पर्वको रौनक किरातबस्ती गाउँगाउँदेखि शहरबजारसम्म धुमधामले सुरु भएको छ। विशेष गरी मुन्दुमी मान्यताअनुसार अन्नबाली प्राकृतिक विपत्तिहरूबाट सुरक्षित रहने मनोकामनाका साथ इष्टदेवता सुम्दिमा र पारुहाङको पूजाआजा गर्ने चलन छ। स्थानीय कुल होमे तीर्थ कुमार राईका अनुसार उँभौलीमा न्वागी, सिमे, भूमे र भूमिपूजाका रूपमा कुखुरा, कोदोको जाँड र रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तिनचुल्हो र माङ (पितृ) पूजामा चढाउने धार्मिक परम्परा छ।
वर्षभरिलाई फलाइने अन्न रोपेर ‘उँभो’ (उकालो) लाग्ने भएकाले भूमिपूजक किरात राईहरू वैशाख पूर्णिमादेखि १५ दिनसम्म उँभौली मनाउँछन्। मुन्दुमी परम्पराअनुसार इष्टदेवता सुम्दीमा र पारुहाङलाई सम्झँदै माङ (कुलपितृ) लाई शक्ति माग्ने गरिने राईले सुनाए। ‘अन्य समुदाय जस्तै किरात राईहरूको पनि उँभौली मुख्य पहिचान हो। हाम्रो संस्कार हो। हाम्रो संस्कारसंस्कृति, मौलिकपन, मूल्यमान्यता बिर्सन पनि हुन्न। त्यहि पुर्खाहरूको सम्झना र सुखशान्तिको कामनाका लागि उभौँली मनाउँछौ’, उनले भने।
उँभौलीमा किरात राईहरू आदिमकालमा पूर्खाहरूले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमूल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा ग्रहण गर्ने परम्परा रहेको किँरात संस्कृतिवद् देवराम राईले बताए।
यस्तै उँभौलीमा नाचिने साकेला सिलि (चण्डी नाच) पशुपन्छीको चाल, कृिषखेतीका तौरतरिकाको अनुकरण गरी ढोल र झ्याम्टा बजाउँदै एकै सुरतालमा गोलबन्दी घेरा बनाएर नाच्ने गरिन्छ। उँभौलीको आफ्नो पहिचानकै कारण सांस्कृतिक महत्व जोडिएको उनी सुनाउँछन्। हातमा चौंरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको सुरमा घेराभित्र विधिवत् रूपमा नाच्ने गरिन्छ।
आध्यात्मिक रूपमा प्राकृतिक स्रोत र शक्तिसँग जोडिएकाले पनि परापूर्वकालदेखि नै उँभौली मानिँदै आएको संस्कृतिवद् शरणबहादुर राई बताउँछन्। वैशाख पूर्णिमाका बेला सूर्यको गति उत्तर लाग्ने भएकाले उँभौलीलाई मुन्दुमी किँरात भाषामा ‘दोङवाङा’ भन्ने गरिएको उनको भनाइ छ।
किरात राईहरूले ढुंगे युगपछि कृषि युग सुरु गर्ने क्रममा विभिन्न परम्पराका रूपमा आफ्नो पहिचान छोडे। थितिहरू बसाए। त्यहि नै संस्कृतिका रूपमा विकसित भएको सँस्कृतिवद्हरूको बुझाई छ। किराति सुनुवार, राई, लिम्बु र याक्खा जातिहरू उँभौली उँधौलीलाई मान्ने, पूजने र विधिवत् सँस्कार्ने गर्छन््। भोजपुरसँगै खोटाङ, ओखलढुंगा, धनकुटामा उँभौली धुमधामले मनाईन्छ। विशेषगरी आदिबासी जनजाति किरात राईहरूको बाहुल्यता रहेको नेपालको पूर्वी पहाडी भेगलाई यो सांस्कृतिक पर्वको थाकथलो मानिन्छ।