आमूल परिवर्तनमा आलोचनात्मक चेत

आमूल परिवर्तनमा आलोचनात्मक चेत

हाम्रा तर्कहरू आलोचनात्मक चेतबाट निर्देशित छैनन्। त्यही भएर वैज्ञानिक छैनन्, सतही र संवेगात्मक छन्।

आलोचनात्मक चेत संसार, समाज, वस्तु वा व्यक्तिलाई हेर्ने पूर्वाग्रहरहित चुनौतीपूर्ण प्रश्न हो। यस्तो प्रश्न हो जसले स्वयं प्रश्नकर्तालाई नै चुनौती दिन्छ ? कुनै पनि व्यक्ति स्वयंले गरेका काम, प्रश्न र व्यवहारमाथि संशय खडा गर्नु, चुनौती दिनु र वैकल्पिक विषयवस्तुहरूको खोजी गर्नु आलोचनात्मक चेत हो। ‘आलोचनात्मक सोच’ शब्दको प्रयोग अमेरिकी दार्शनिक जोन डेवी (१९१०) लाई जान्छ, जसले यसलाई सामान्यतयाः ‘प्रतिबिम्बित सोच’ भनेका थिए। ‘आलोचनात्मक चेतलाई परिभाषित गर्दा’ भन्ने आफ्नो लेखमा एडवार्ड ग्ल्यासर लेख्छन्, ‘आलोचनात्मक सोच भनेको उपलब्ध तथ्य, प्रमाण, अवलोकन र तर्कहरूको विश्लेषण हो ताकि तर्कसंगत, शंकास्पद र निष्पक्ष विश्लेषण र मूल्यांकनको अनुप्रयोगद्वारा निर्णय गर्न सकियोस्।’

आलोचनात्मक चेत भएका मानिस फगत सोच्नका लागि मात्र सोच्दैनन्, आलोचनात्मक भएर सोच्छन्। जतिसक्दो पूर्वाग्रहरहित भएर वस्तु वा विषयमाथि सोच्नु, व्याख्या गर्नु, विश्लेषण गर्नु, विचार विमर्श गर्नु, प्रतिबिम्बित गर्नु आलोचनात्मक चेत हो। यो कुनै कसैको बन्देजमा हुँदैन। कसैबाट दबिएको हुँदैन। निस्फिक्री र निर्भीक हुन्छ। स्वयं प्रश्न गर्ने व्यक्तिद्वारा सञ्चालित हुन्छ। यो सक्रिय, निरन्तर र सावधानीपूर्वक विचार हो। आलोचनात्मक प्रश्न गर्ने व्यक्ति स्वतन्त्रताको मुकुट लगाएर खुला मैदानमा उत्रिएको हुन्छ। कसैको दबाबमा फसेको हुँदैन। उसले बन्द बाकसभन्दा बाहिर गएर विषय वस्तुलाई हेरेको हुन्छ। आलोचनात्मक चेतको गुण नै यही हो। जुन प्रजातान्त्रिक र परिवर्तनकारी हुन्छ, वैज्ञानिक हिसाबले। यो कसैको दास हुँदैन। खुला आकाशमा पंखा फिँजाएर पन्छीको झैं उडान भर्छ।

आलोचनात्मक चेत भएका व्यक्तिलाई ‘स्ट्याटस’ अर्थात् यथास्थिति समाजले वा तानासाही सत्ताले मन पराउँदैन। जहाँ आलोचनात्मक चेतको अभ्यास हुँदैन वा हुन पाउँदैन, त्यो समाज प्रजातान्त्रिक हुँदैन। त्यस्तो समाजले वैज्ञानिक परिवर्तन चाहँदैन। अप्रजातान्त्रिक र अपरिवर्तनकारी व्यक्तिहरू सतही र रुढीवादी तर्कमा आफूलाई अभ्यासरत गराइरहन्छन्। त्यसैमा आफूलाई टिकाइरहन चाहान्छन्। एउटै झुन्डमा रमाइरहन चाहन्छन्। न आफू प्रश्न गर्ने ल्याकत राख्छन्, न अरूले प्रश्न गरेको मन पराउँछन्। त्यस्ता व्यक्तिहरूमा आलोचनात्मक चेत हुँदैन। त्यस्ता व्यक्तिबाट आएका तर्कहरू वैज्ञानिक हुँदैनन्। फलस्वरूप समाज पछाडि परिरहन्छ।

अवैज्ञानिक तर्कबाट समाज वैज्ञानिक हुन सक्दैन। समाजले जति आलोचनात्मक चेत भएका व्यक्तिहरू जन्माउँछ, त्यति समाज, देश र राजनीति सभ्य र वैज्ञानिक बन्दै जान्छ। महान् विचारकहरू आलोचनात्मक चेतले जन्मिएका हुन्। प्लेटो, अरस्तु, सुकरात प्रश्न गर्न जन्मिए, उनीहरूले प्रश्न गर्न सिकाए। त्यसपछि अरू थुप्रै विचारक जन्मिए, जस्तो डेभिड ह्युम, रुसो, फ्रेडरिक नित्जे, मिसेल फुको आदि। तिनीहरूले आफैंमाथि संशय गरे, पुनर्विचार गरे र त्यसै गर्न र संसार हेर्न सिकाए। आलोचनात्मक चेत भएका व्यक्तिहरूले पूर्वाग्रहरहित तर्क राख्दा खतरा मोल्नुपर्ने पनि हुन सक्छ। सुकरातले हेम्लक पिए। ग्यालिलियोलाई जेलमा हालियो। यस्ता कैयौं उदाहरण छन्। आलोचनात्मक चेतले कल्पनाशीलतालाई तन्काउँछ। भ्रमलाई भत्काउँछ र एउटा सत्यको निर्माण गर्छ। तर, त्यसो गरिरहँदा त्यो मात्र सत्य हो भनेर निश्चित गर्दैन। बरु त्यसमाथि पनि संशय गर्न सिकाउँछ, उत्साहित गराउँछ।

आखिर त्यसरी नै हुन्छ– विज्ञानको सम्मान र आविष्कार, एकपछि अर्को, तर्कपछि तर्क। यसरी जन्मिएका हुन् विचारकहरू– अल्बर्ट आइन्स्टाइन, न्युटन, कार्ल माक्र्स, मार्टिन हेइडीगर आदि। एउटा विचारक एउटा दार्शनिक पनि हो। आलोचनात्मक चेतबाट जन्मिएका विचारहरू दर्शनको नजिक हुन्छन्। आलोचनात्मक चेत भएका विचारकले नयाँ सिद्धान्तको प्रतिवादन गर्न सक्छ। उदाहरणका लागि मिसेल फुको जसको विचारले सीमान्तकृत विषयको मुद्दालाई उठाउन सहयोग ग¥यो अर्थात् उनका अनुसार यदि हामीले समाजका कूरीतिलाई मान्दै र तिनैको अभ्यास गर्दै जाने हो भने कसरी ती विषयले हाम्रा जीवन र सोचलाई अझ बढी निर्देशित गरिरहन्छन् भनेर उनले तर्क राखे र भने त्यसो हुँदा व्यक्ति त्यसैलाई निरन्तरता दिन अभ्यासरत रहिरहन्छ र भ्रमको दास भइरहन्छ। उनका विचार यौन तथा लैंगिक विषय अध्ययनका लागि महत्वपूर्ण सिद्धान्त नै बने। त्यसैगरी गायत्री चक्र स्पिभाक र उनको सबाल्टर्न सिद्धान्त उनकै आलोचनात्मक सोचबाट जन्मिएको हो। जसको सिद्धान्तले आवाजविहीनहरूको आवाजलाई सुन्न मद्दत ग¥यो।

हामीले कस्तो समाजको निर्माण वा विनिर्माण गर्ने भन्ने कुराको निर्धारण आलोचनात्मक सोच÷चेतको अभ्यासले गर्छ। हामी कस्तो तर्कमा बाँचिरहेका छौं ? तर्कका लागि तर्क गरिरहेका छौं वा समाजलाई केही दिने तर्क गरिरहेका छौं ? यो बुझ्नु जरुरी छ। आज हाम्रो समाजले हजारौं विद्यावारिधि जन्माइरहँदा उनीहरूको शोधले समाज र राष्ट्रलाई केही दिन सकेको छ कि छैन ? समाजलाई कति हदसम्म वैज्ञानिक बनाउन सकेको छ। त्यो शोध र ती डाक्टर बनेकाहरूले समाजमा आमूल परिवर्तनका लागि के कस्ता योगदान दिइरहेका छन् ? यो महत्वपूर्ण विषय हो। आलोचनात्मक चेत हुनु भनेको सही प्रश्न गर्न सक्नु हो। सही प्रश्नले समस्याको सही समाधान खोज्छ। गलत प्रश्नले समाजलाई बिगार्छ, भाँड्छ। त्यसैले आलोचनात्मक चेतले दिने वैज्ञानिक तर्कको बारेमा काम गरेका छौं कि छैनौं ? आजै सोचौं।

वैज्ञानिक तर्कले वैज्ञानिक कारणहरूको माग गर्छ। वैज्ञानिक कारणहरूको खोजी गर्छ। वैज्ञानिक कारणहरूले तर्कलाई बलियो बनाउँछ। विश्वासनीय र भरपर्दो बनाउँछ। कुतर्कहरूलाई पराजित गर्छ। नयाँ ज्ञान दिन्छ। प्रकाश दिन्छ। चेतना र विज्ञान दिन्छ। आलोचनात्मक चेत असतोमा सत्गमय हो। आलोचनात्मक चेत वैज्ञानिक समाजका लागि अपरिहार्य छ। विज्ञानको सम्भावना, चेतनामूलक समाजको निर्माण र फरक दृष्टिकोणका लागि आलोचनात्मक चेतको महत्व सधैं रहन्छ। तर, दैनन्दीन हाम्रो आलोचनात्मक सोच÷चेत स्खलित हुँदै छ। हाम्रा तर्कहरू आलोचनात्मक चेतबाट निर्देशित छैनन्।

त्यही भएर हाम्रा तर्कहरू वैज्ञानिक छैनन्। सतही र संवेगात्मक छन्। रिस, द्वेष, इष्र्या र बदलाबाट निर्देशित छन्। व्यक्तिगत भावना र पूर्वाग्रहबाट सञ्चालित छन्। जसको कारण हाम्रा तर्कहरू पानीका निर्बलिया फोकाजस्ता छन्। यस्ता तर्कहरूले न राजनीति बलियो हुन्छ, न समाज बदलिन्छ, न त समाजलाई नयाँ दृष्टिकोण नै दिन्छ। गुणस्तरीय शिक्षा नहुनुको पछाडि आलोचनात्मक चेतको अभ्यासको नै कमी हो। आलोचनात्मक चेत बेगरको तर्कले समाजलाई झन् पछाडि धकेल्छ र उज्यालोबाट अँध्यारोतर्फ लैजान्छ। त्यही भएर आजैबाट वैज्ञानिक तर्कका लागि आलोचनात्मक सोच÷चेतको खोजी र अभ्यास गरौं।

आचार्य समाजशास्त्र विभाग, निरी (नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन)का निर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.