सम्झौता अवधि सकिँदा एकतिहाइ मात्रै काम

सम्झौता अवधि सकिँदा एकतिहाइ मात्रै काम
सुन्नुहोस्

जोमसोम : उत्तर चीनको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडकको सम्झौता म्याद सकिएको ७ महिना बितिसक्दासमेत निर्माणको कामले गति लिन सकेको छैन। निर्माण कम्पनी रौटाहा आत्रेय जेभी कन्ट्रक्सनको चरम ढिलासुस्तीका कारण जोमसोम–कागबेनी कालोपत्र सडकले अपेक्षा गरेअनुरूपको भौतिक प्रगति हुन नसकेको हो। 

जोमसोम–कागबेनी कालोपत्रे सडकका लागि संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयले २०७८ साल असोज ४ गते २८ करोड १४ लाख लागतमा रौटाहा आत्रेय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। यो सडकका लागि मन्त्रालयले ५७ करोड ३८ लागत अनुमान गरिएकोमा निर्माण कम्पनी रौटाहा आत्रेय जेभीले ५० प्रतिशत बिलो छोडेर ठेक्का हात पारेको थियो। 

गौरवको सडकअन्तर्गत यसअघि हस्तान्तरण भएको जोमसोम–कोरला सडकखण्डको पहिलो हस्तान्तरण भइसकेको ग्राभेल सडकलाई थप स्तरोन्नति गर्दै कालोपत्र गर्न मन्त्रालयले ठेक्का लगाएको थियो। 

जोमसोम–कागबेनी १३ किमी सडकअन्तर्गत कागबेनी खोलासम्म १२ किमी र कागबेनी श्राद्धस्थलदेखि मुख्य सडकसम्म १ किमी कालोपत्रे गर्ने योजना थियो। यसका लागि २ वर्षमा २०८० साल असोज ३ गते सक्ने गरी सम्झौता भएको थियो। 

यसका लागि जेभीका दुईमध्ये आत्रेय कन्सट्रक्सनले यो काम गर्ने जिम्मा लिएको थियो। तर, आत्रेयले सुरुवाती चरणदेखि नै जोमसोम–कागबेनी सडक पटक–पटक अलपत्र पार्दै आईरहेको थियो। आयोजनाले यो सडकका निर्माण कम्पनीलाई काममा फर्किन पटक–पटक ध्यानार्कषण गराउँदै आइरहेको थियो। काममा नफर्किएकाले ठेक्का सम्झौता तोडेर कालो सूचीमा राख्ने तयारी आयोजनाले गरेको थियो। 

जोमसोम–कागबेनी कालोपत्र सडकमा विलम्ब भइरहँदा आत्रेय जेभी काम गर्न नसकेर सम्पर्कविहीन बने पनि अर्को प्रतिनिधि रौटाहा जेभी बाध्य भएर काममा फर्कियो। उसले गत असोजदेखि काम सम्हालेको भए पनि काममा खासै तीव्रता दिन भने सकिरहेको छैन। जोमसोम–कागबेनी कालोपत्रे सडक निर्माणमा कम्पनीले कहिले काम गरेको जस्तो देखिने गरेको छ भने कहिले सडकको काम ठप्पै परेको देखिन्छ। निर्माण कम्पनीलाई आयोजनाले नियन्त्रणमा लिन नसक्दा सडकमा निर्माण कम्पनीको मनोमानी चरम उत्र्कषमा पुगेको हो। अहिले यो सडकमा आंशिक काम भइरहेको देखिन्छ।

जोमसोम–कोरला साविक ग्राभेल सडकको संरचना निर्माण सम्पन्न भइसकेकोमा यसलाई अपग्रेड गर्दै कालोपत्र गर्न निर्माण कम्पनीले २०८१ असोज ३ गतेसम्मका लागि आयोजनाले म्याद थपिदिएको छ। यहाँ कालोपत्र सडक विस्तारका लागि सडक चौडा गर्ने, ग्रेड मिलाउने, कटिङ गर्ने, मेसिनरी वाल लगाउने, ड्रेन निर्माण गर्ने, वाल निर्माण गरी माटो फिलिङ गर्ने र सडकलाई कालोपत्र गर्ने कामको जिम्मेवारी दिइएको थियो।

आयोजनाका सूचना अधिकारी विष्णु चापागार्इंले जोमसोम–कागबेनी सडकको सुरुवाती सम्झौता म्याद सकिएर एक वर्षका लागि म्याद थप भएको जानकारी दिए। उनले सडकको हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गरे। जोमसोम–कोरला ११० किमी ग्राभेल सडकमध्ये जोमसोम–कागबेनी पहिलो खण्डको १३ किमीमा कालोपत्र सडक निर्माणको काम अघि बढाइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.