देश विकासको एउटा बहस

देश विकासको एउटा बहस
सुन्नुहोस्

एकातिर जनता देश विकास भएन भनिराखेका छन् । त्यत्रो आन्दोलन गरेर त्यत्रा १६÷१७ हजार जनताको बाँच्न पाउने अधिकार खोसेर ल्याएको गणतन्त्रले खै के नाप्यो ? भन्नुमा तुक छ पनि । अनि कति जनता भोकमरीमा छन् । 

पहिला मुखियाले १० प्रतिशतभन्दा बढी ब्याज लिएर जनतालाई शोषण गर्‍यो भनेर कालोमोसो दलेर जुत्ताको माला लगाएर सहर घुमाउँथे । अहिले तिनैले विभिन्न वित्तीय संस्था खोलेर पाँच लाख ऋण लिएको ठाउँमा २८ लाख तिरिसक्यो, अझै ४५ लाख तिर्नु छ भनेर तराईबाट २३ दिन लाएर हिँडेर काठमाडौं आई आन्दोलन गरिरहेको अवस्था छ । यो एउटा विचारणीय कुरा छ ।

यो त वास्तवमा अतिचार नै हो । ती सीधासादा जनतालाई कति ठगेको ? तिनले पनि आनन्दसँग बाँच्न पाउने अधिकार छ नि । छैन र ! खै त अझ केही दिनअगाडि तराईमै हो– एउटाले सारा गाउँलेको लालपुर्जा ल्याएर बैंकमा धितो राखे र पैसा लिए । अरूको लालपुर्जा राखेर पैसा लिएको छ अब उसलाई केको मतलव हुन्थ्यो ?

यसरी पैसा तिरेन अनि पछि गएर पैसा तिरेन भनेर सारा गाउँलेलाई लगेर थुन्न लगायो । होइन, अन्याय पनि कति गर्न सकेको ? यस्ताको भोट लिएर आएका मधेसका नेताहरू के हेर्छन् ? के ती गरिब जनताको वकालत गर्छन् ? यस्तो पनि हुन्छ ? ती नेताहरू देश विकास गर्छौं भनेर आएका छन् ।
कसरी पत्याउनु ? कति मान्छे मधेसमै दाइजो पाइएन भनेर आफ्नै पत्नीलाई मट्टीतेल खन्याउँछन् र आगो लगाउँछन् । ज्यानभन्दा धन ठूलो मान्नेको बुद्धि कहिले पलाउला ? कति बोक्सीका नाउँमा मलमूत्र खुवाउँछन् ।

खै यत्रो गणतन्त्र आइसकेपछि त यस्ता प्रथा हटाउन पर्दैन ? खाली जनता ठग्ने र खानेभन्दाबाहेक कतै कुनै काम भएको पाइँदैन । चिनी मिल स्थापना गरिएको छ । किसानको उखु समयमा लिइँदैन । उखु सुकिसकेपछि ‘उखुलियो’ भन्ने र पैसा नदिने अनि नेपालका चिनी मिल बन्द गराएर चीन, भारतबाट चिनी ल्याउने । यो देशमा अत्याचार पनि कति हुन सकेको ? कति अन्याय, अत्याचार गर्न सकेको ? के हाम्रो देशको विकास यही हो ?

सर्वसाधारण जनताको थाप्लोमा कर थुपारेर उठ्नै नसक्ने गराइएको छ । सरकारमा जानेहरू हामी आए यो गर्छौं र त्यो गर्छौं भनेर नारा दिन्छन् । जनतालाई प्रलोभनमा पारेर भोट जितेर सरकारमा गएपछि कसरी सरकार बनाउने र गिराउने भन्नेमै दिन बिताउँछन् । अहिले जनताको हक अधिकार भएको गणतन्त्र भनिन्छ । भनेर के गर्नु ? झन् तिनै सीधासादा जनताका थाप्लोमा तिर्नै नसक्ने ऋणको भार थुपारिएको छ । महँगी चरमचुलीमा नाघेको छ ।
यति मात्रै हो र ! सरकारमा बस्नेहरू नै कुनै सुन तस्करीमा लागेका छन् त कुनै मानव बेचबिखन गर्नमा तल्लीन छन् । कुनै सरकारी जग्गा हडपेर बेचिरहेछन् त कोही भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यस्तालाई भोट दिएर जिताएर पठाउने हामी कस्ता नागरिक ? यो झनै विचारणीय कुरा छ । अझै हामी नै यस्ताको वकालत गर्दै हिँडेका छौं ।

यसरी देश विकास किमार्थ हुँदैन । जनताको कल्याण हुने छैन । देश विकास गर्ने हो र जनताको कल्याण गर्ने हो भने सबै सुध्रिन आवश्यक छ । सबै आआफ्ना ठाउँमा नबसेसम्म कुनै कतै केही हुनेवाला छैन । आखिरमा सबका सबले दुःख पाउने मात्रै हो । स्वार्थको घेराबाट माथि उठेर देश र जनताको हितमा ध्यान राखेर काम गरे मात्रै देश र जनताको उन्नति हुनेछ । हामी सबै कस्तो व्यक्ति भयौं भने खाली अरूलाई मात्रै दोष लगाउने । उसले यसो गर्न नहुने, त्यसले त्यसो गर्न नहुने मात्रै भन्छौं । खाली स्वार्थ हेरेर कुरा गर्छौं । आफू नै ठीक भन्छौं । 

अधिकार खोज्नेले कर्तव्य पनि पालना गर्नुपर्छ तर यहाँ भएन र त सबैतिर बिग्रिएको छ । अधिकार खोज्नेले कर्तव्य पनि पालना गर्नुपर्छ । यस्ता कार्य सोचेर समाजमा सबैले योगदान दिएको खण्डमा मात्रै हामी सबैको कल्याण हुन्छ । जब यो होइन, यस्तो हुनै सक्दैन भन्छौं भने सबै खल्बलिएर जानेछ । यसरी, समाज सबैले दुःख पाउने बन्छ किनकि एकापसमा द्वन्द्व मच्चिने कारण नै यिनै हुन्छन् ।

अब हामी सबै जागरूक हुनैपर्छ । अब पनि हामीले कति दुःख पाउने ? एक्काईसौं शताब्दी व्यतीत हुन लागिसक्यो । देशमा गणतन्त्र आइसक्यो । सुख पाउन अब के आउन बाँकी छ र ? अब यो देशका तमाम बुद्धिजीवी, नागरिक समाज, साहित्यकार, पत्रकार, न्यायकर्मी, कलाकार, डाक्टर, इन्जिनियर, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विशेषज्ञहरू झिकाएर यहाँको हावापानी र भूगोल हेरेर विकासको बीज रोप्नुपर्छ ।

व्यापक मात्रामा बहस गराएर सरकारले विकास व्यवस्थापन गराउनुपर्छ अनि मात्रै केही हुन सक्छ । ढुंगाबालुवाले भरिएको मरुभूमि इजरायलमा अन्यत्रबाट माटो लगेर अत्यधिक मात्रामा उब्जनी गराएको छ । हाम्रो तराईमा भने अत्यधिक उब्जनी हुने जग्गा र पहाडका सारा जग्गा बाँझै छन् । 
अनि हामी भने अन्यत्रबाट धान, मकै, कोदोजस्ता अन्नबाली साथै तरकारी ल्याएर खाइरहेका छौं । देशमा उद्योगधन्दा केही छैनन्, भएका पनि अनेक स्वार्थले बन्द भए, हुँदैछन् । युवा शक्ति देशबाहिर गइरहेका छन् । तिनलाई स्वदेशमै अवसर दिएको भए नेपाल एउटा स्वर्गभूमि बन्न सक्थ्यो ।

यतापट्टि न हाम्रो ध्यान छ, न त सरकारको । कता भ्रष्टाचार गर्न सकिन्छ । कसरी सरकारी जग्गा हडप्न सकिन्छ । कसरी मानव तस्करी गर्न सकिन्छ । कसरी सुन ल्याएर अन्यत्र पैठारी गर्न सकिन्छ । कसरी सत्ता हत्याउन सकिन्छ । यस्तैमा बिते सबैजसो सरकारमा पुग्ने राजनीतिक दलका नेताका दिन र महिना । त्यही भएर राजनीति स्थिर हुन सकेन र त वर्षौंवर्ष एउटै दल र नेता सत्तामा टिक्न सकेनन् । अब त बुद्धि पलाउँछ कि ? हेरौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.