बैठक निष्कर्षबिहीन
कार्यादेशबारे प्रधानमन्त्रीले गरे सत्ता पक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल गरेका छन्। सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनका लागि बनेको कार्यदलबाट टीओआरमा सहमति नजुटेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र सत्तारुढ दलसँग छलफल गरेका हुन्।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको अडान र मागबारे प्रधानमन्त्रीलाई बालुवाटारमा जानकारी गराएको बताए । उनले कार्यादेशको टुंगो लगाउन प्रधानमन्त्री सकरात्मक भएपनि दलहरुबीच रवि लामिछानेको नाम राख्ने कि नराख्ने विषयमा नै सहमति हुन नसकेको बताए।
‘बालुवाटारमा सत्तापक्ष र विपक्षीबीच संयुक्त र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल भयो तर टुंगोमा पुग्न सकिएको छैन।’उनले भने,‘हामीले हाम्रा कुरा राख्यौं। छलफल सकारात्मक भएको छ तर नाम राख्नुपर्ने विषयमा सत्ता पक्ष तयार छैन। अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो बस्छौं र पुन: सत्ता पक्षसँग साँझ छलफल हुन्छ।’
संविधानमै जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ। आइतबार नीति तथा कार्यक्रमसमेत विरोधकैबीच पारित गरेर मंगलबार १ बजे बजेटका लागि सरकारले समय निर्धारण गरेको छ। दलहरुबीच सहमति नभए भोलो संसद बैठकपनि अवरोध गर्ने कांग्रेसले जनाएको छ।