राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ : ४८२ कलाकारका ५२२ कलाकृति राखिने

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ : ४८२ कलाकारका ५२२ कलाकृति राखिने
सुन्नुहोस्

काठमाडौंं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गर्न लागेको छ। ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्न लागेको हो। 

आइतबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसको विस्तृत जानकारी दिएको हो। प्रतिष्ठानले पहिलोपटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८० माघ १२ गते सूचना जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो। 

यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा राखिने छ। जसअन्तर्गत कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २ सय ३३ कलाकारका २ सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा रहने छन्।

अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन्। विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन्। 

फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णालीको नेपाल कमर्सियल आर्टिस्ट संघ (फागुन १७–२१ गतेसम्म सुर्खेत), कोशीको इटहरी मेट्रिक्स (फागुन २९ देखि चैत ५ सम्म इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (चैत २–५गतेसम्म जनकपूरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (चैत १२–१६ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन १९–२३ गतेसम्म पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार संघ (फागुन २२–२६ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन २०–२४ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो। 

 

  •     ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ १५ देखि ३० गतेसम्म चल्ने छ।
  •     गत माघ १२ गते सूचना जारी गरेर देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरिएको थियो।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नियमित क्रममै आयोजना गरिएको यस प्रदर्शनी राज्यको संघीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० गरी त्यहाँँबाट छानिएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेटेको बताए।

उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ मूल भावमा रहेर प्रदर्शनी गर्न लागिएको बताए। ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ १५ देखि ३० गतेसम्म चल्ने छ। प्रदर्शनीको प्रबद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ। सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। प्राज्ञसभा सदस्य तथा क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीको क्युरेटिङ स्वस्तिक थिममा रहेर गरिएको बताए। 

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र श्यामवदन श्रेष्ठ  (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिने छ। यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ। सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने छ। यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डंगगोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ। यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.