असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको छ : सामान्य प्रशासनमन्त्री
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आउँदो असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्।
विराटनगरमा सोमबार आयोजना गरिएको संघीयता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरुको मनोबल उच्च बनाउने गरी विधेयक ल्याउने तयारी भइरहेको बताएका हुन्।
उनले कर्मचारीहरूको सल्लाह र सुझावअनुसार नै संशोधन विधेयक आउने र कर्मचारीबीच हुने विभेद कानुनी रुपमै अन्त्य गर्ने दाबी गरे।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र स्थानीय तहहरूले राजनीतिक संघीयता पाएपनि प्रशासनिक र वित्तीय संघीयता अझै नपाएको बताए। संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश संचालनमा समस्या आएको उनको भनाइ थियो।