बूढीगण्डकीले रित्यायो आरुघाट
गोरखा : धेरै प्राचीन बजार हो आरुघाट। गोरखा सदरमुकामबाट ४२ किलोमिटर उत्तर, प्रसिद्ध मनास्लु पदमार्गमा अवस्थित आरुघाटमा ३ सय २८ वर्षअघि बजार बसेको प्रमाण आरुघाटवासीसँग छ। कुनै बेला सदरमुकाम गोरखाबजारभन्दा ठूलो व्यापारिक केन्द्र भनेर आरुघाटलाई चिनिन्थ्यो। तर, जब १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बन्ने चर्चा चल्न थाल्यो, तब यो बजार क्रमशः उठ्न थाल्यो।
राजमार्ग नखुल्दै गोरखा र यसभन्दा पश्चिमका पहाडी जिल्लाबाट राजधानी छिर्ने मूलबाटोमा पर्ने आरुघाटको पहिचान ऐतिहासिक छ। पोखरादेखि काठमाडौं जाने मूलबाटोमा पर्ने अरू बजारभन्दा तुलनात्मक रूपमा ठूलो भएको हुँदा सयौं वर्षदेखि यसको परिचयको घेरा फराकिलो थियो।
गोरखाको आधाभन्दा बढी भूभाग ओगटेको चुमनुब्री, धार्चे, भीमसेन थापा र आरुघाट गाउँपालिकाको प्रमुख बजारका रूपमा यसको परिचय स्थापित थियो। त्यसैले, पूर्वपश्चिम राजमार्ग, काठमाडौं—पोखरा (पृथ्वी राजमार्ग) खुलेपछि पनि आरुघाट बजार गुल्जारै रह्यो। गोरखा र धादिङ हुँदै प्रसिद्ध मनास्लु पर्यटन पदमार्ग जाने मूलबाटोमा पर्ने हुँदा यसले प्राचीन विरासत जोगाइरह्यो।
पृथ्वीनारायण शाहका हजुरबुवा वीरभद्र शाहले १७५३ सालमा मृत्युवरण गरेको बजार भनेर आरुघाटको महिमा इतिहासकार बालचन्द्र शर्माको कृति नेपालको ऐतिहासिक रूपरेखा पुस्तकमा लेखिएको छ।
पोखरादेखि काठमाडौं जाने यात्रुहरूलाई बूढीगण्डकी तार्ने माझीहरूले बिर्ताका रूपमा पाएका आरुघाटमा बिस्तार हुँदै गएको बजार अहिले रित्तिँदै गइरहेको छ। सत्तरीको दशकबाट जब बूढीगण्डकी आयोजनाको चर्चा घनिभूत भयो, तब हुर्काउला बारुलाले गोलो छाडेझैँ, आरुघाटवासीले थातथलो छाड्दै गए। भूकम्पले घर भत्काइदिएपछि घर छाड्ने दर झनै बढ्दै गएको हो। छाड्नेहरू प्रायः काठमाडौं बसाइँ सरेका स्थानीय गणेशकुमार श्रेष्ठको भनाइ छ। उनका अनुसार बूढीगण्डकी आयोजनाबाट घरजग्गाको मुआब्जा पाएपछि झन् आरुघाट छाड्नेको दर ह्वात्तै बढ्यो। ‘धेरै कमाइ हुनेहरूको त पहिलैदेखि आरुघाट र काठमाडौं दुवैतिर घरजग्गा थियो। कोही त्यतिबेलादेखि नै काठमाडौं सर्दै थिए’, उनी भन्छन्, ‘बूढीगण्डकीले घरजग्गाको मुआब्जा दिएपछि विगत पाँच वर्षयता आरुघाट छाड्नेको दर ह्वात्तै बढेको हो।’ कतिपयले घरमा ताल्चा ठोकेर नफर्कने गरी गएका छन्, कोही भने वर्षमा एक, दुईफेर आउने गरी। जे जसरी गए पनि आरुघाट बजार अहिले प्रायः सुनसान देखिन्छ।
स्थानीय किराना व्यापारी कृष्ण पोखरेलका अनुसार पहिले आरुघाट बजारका घर भरिभराउ थिए। तर अहिले हिउँदका बेला भेडाबाख्रा बेसी झरेपछिको लेकको गोठ थोत्रिएसरी आरुघाट बजार थोत्रिएको उनको भनाइ छ। २०७० सालसम्म त आरुघाट बजार मेन सेन्टर प्वाइन्ट थियो। एउटै घर खाली थिएनन्, सब भरिभराउ थियो। पुराना घरानियाँ साहुजीहरूको काठमाडौं, पोखरातिर पनि घर थियो, यहाँको व्यापार, बिजनेस पनि छोडेका थिएनन्’, उनले भने, ‘गोरखा जाने, काठमाडौं पोखरा जाने र लेकतिर जानेको आरुघाटमा घुचुरो हुन्थ्यो। कर्मचारी, बोर्डिङमा बच्चा पढाउन आउनेहरूको भीडभाड उस्तै हुन्थ्यो। जब बूढीगण्डकी आयोजनाको हल्ला चल्न थाल्यो, त्यसपछि मान्छेले बिस्तारै बाटो तताउन थाले। झन् २०७२ सालको भुइँचालोले घर भत्काइदियो। डुबान क्षेत्रमा पक्की घर बनाउन भूकम्पको राहत पनि नपाउने रहेछ। मुआब्जा पनि पाउने भएपछि त यहाँ घर बनाएर बस्नुभन्दा काठमाडौंतिरै बस्ने भनेर सबैजना छाडेर गइहाले। अहिले बजार चकमन्न छ। दिनभरिमा बोहनी मात्र हुन पनि गाह्रो छ।’
अहिले आरुघाटको पुरानो बजार (मुख्यबजार)को दुवै लाइनका घरहरूमा तालाचापी ठोकिएका छन्। कुनैको घरको गारोमा झारपात उम्रिएका छन्, कुनैका पाली झर्न थालिसकेका छन्, कुनैको गाह्रो। रेखदेख नहुँदा आँगन र पिँढी पनि चौरजस्तो भएका छन्। ‘जुन पुरानो बजार हो, त्यो त रित्तिसक्यो’, गणेशकुमार श्रेष्ठ भन्छन्। त्यस्ताका घर खाली नभए पनि पहिलेझैँ अन्यत्रबाट मान्छे बस्न आउने क्रम ठप्प भएको उनको भनाइ छ। ‘पहिले त लेकतिरबाट मान्छेहरू बस्न आउँथे। पसल थाप्न आउँथे। अहिले त कुनै पनि टोलमा मान्छे बस्न आउँदैनन्’, उनी भन्छन्, ‘जानेहरू गएको गयै, आउनेहरू ठप्पै भएपछि बजार एकदिन खाली हुन्न त ?’
१० वर्षअघिसम्म आरुघाट बजारमा करिब चार सय घरधुरीले थिए। तर अहिले ५० प्रतिशत पनि बाँकी नरहेको आरुघाट बजार अवस्थित वडा नं. ९ का वडाध्यक्ष बुद्धिप्रसाद श्रेष्ठको भनाइ छ। ‘चार सय वर्षअघि काठमाडौंबाट आएका नेवारले माझीको प्रेरणाबाट थापेको बजार हो भन्ने किंवदन्ती छ। दुई सय वर्षअघि यहाँ बजार रहेछ भन्नेचाहिँ भीमसेनथानमा लेखिएको शिलालेखमा उल्लेख छ’, उनले भने, ‘२०४६ सालमा जब प्रजातन्त्र पुनर्बहाली भयो, त्यसपछि धार्चे, चुमनुब्रीदेखिका मान्छेहरू यहाँ आएर बस्न थालेपछि तीव्र विस्तार भएको बजार हो तर, २०७२ सालपछि भुइँचालो र बूढीगण्डकी आयोजनाले आरुघाट बजार रित्यायो। अहिले त अन्यत्र जान नसक्नेहरू मात्र आरुघाटमा छौं।’ अहिले इलाका प्रहरी कार्यालयभन्दा तलको पुरानो मुख्य बजार प्रायः सुनसान भइसकेको छ।