औपचारिक शिक्षामा नैतिक शिक्षा
हाम्रा पालामा विद्यालय तहमा नैतिक शिक्षाको पढाइ हुन्थ्यो। करिब चार दशकसम्म विद्यालय शिक्षामा नैतिक विषयले निरन्तरता पायो। नयाँ पाठ्यक्रम लागू गर्ने नाममा रैथाने र परम्परागत शिक्षालाई पश्चिमा शिक्षाको नक्कल गरी निमिट्यान्न पारियो। नैतिक शिक्षालाई पूर्ण रूपमा बेवास्ता गरिँदा शिक्षाले आमनागरिकलाई निष्ठा र सदाचारयुक्त मानव बनाउन सकेन भन्ने गरिन्छ, जसमा सत्यता पनि छ।
अज्ञानरूपी अन्धकारबाट ज्योति वा प्रकाश तत्त्वतिर, असत्यदेखि सत्यतातिर र बन्धनदेखि मुक्तितिर लैजानु नै सच्चा ज्ञान हो । शिक्षा एक जरा हो जसमा जीवन फलदार वृक्ष बन्छ। शिक्षाको पूर्णता नैतिक शिक्षाबिना सम्भव छैन। त्यसैले आजको आवश्यकता र समयको माग हो, नैतिक शिक्षा। जसले राजनीतिक, प्रशासनिक, वित्तीय, कानुनी र आर्थिक क्षेत्रमा नैतिकताको क्षितिज फराकिलो बनाउँछ। सकारात्मक गति र मतिको विकास गरी समुन्नत र सिर्जनशील समाजको निर्माणमा सही दिशा दिन सक्छ।
आजका सबै धर्म र अध्यात्मको आधार नै नैतिक शिक्षा हो। बुद्धको अष्टांगिक मार्ग पनि नैतिक शिक्षाका उपज हो। जसले सत्वचन, सत्कर्म, सत्दृष्टि, सत्संकल्प, सत्विचार, सत्जीवन र सत्प्रयासको पैरवी गर्दछ, सत्य शान्ति र अहिंसाको संवद्र्धन गर्छ। जुन समाजमा नैतिक मूल्यहरूको उच्च सम्मान हुन्छ। नैतिकता र सदाचारले धर्म एवम् दर्शनको उद्देश्यलाई अनुरूप सुखमय जीवनका लागि मार्ग प्रशस्त गर्छ। लोभ, मोह, स्वार्थ, भ्रमजस्ता कमजोरीहरूको परास्त गरी आत्मसन्तुष्टि पनि प्राप्त गर्न सकिन्छ। नैतिकता सफल जीवनको सुन्दर एवम् अतुलनीय वरदान हो, सभ्यताको आधार पनि।
बालमस्तिष्कमा सद्व्यवहार, शिष्टाचार, इमानदारी र सत्यताको जागरणका लागि नैतिक शिक्षा दिइनुपर्छ। दुःखको कुरा, आजका बालबालिका, विद्यालय, शिक्षक, अभिभावक, कर्मचारी, प्रहरी तथा सेनामा समेत नैतिक मूल्यको ह््रास आएको छ। सबै शिक्षालयले मूल्य तथा सुसंस्कार दिन सकेका छैनन्। भ्रष्टाचार मौलाएको छ। नेपाल, धेरै विकासोन्मुख राष्ट्रहरू जस्तै, सामाजिक दरार र असमानतासँग संघर्ष गर्दैछ। नैतिक शिक्षा, यी विभाजनहरूको रेखालाई धमिल्याउँदै, समावेशिता, समानुभूति र सहिष्णुतामा आधारित समाज निर्माणको जग बन्न सक्छ।
विश्व नै खुला शिक्षालय हो। जीवन जगत् र प्रकृति शिक्षाका साधन हुन्। यही प्रकृतिरूपी शिक्षालयमा मानिस नैतिकवान् भएर जन्मिन्छ, तर जब ऊ बढ्दै जान्छ, थप ज्ञान प्राप्तिका सन्दर्भमा अनेकौं विषय सिक्छ। सिकाइ नैतिकतामा आधारित नहुँदा समाज सत्य र निष्ठाको बाटो बिराउँदै वास्तविकताभन्दा काल्पनिकतामा रमाउँदै पतनको यात्रा तय गर्छ।
नैतिक शिक्षाको माध्यमबाट मातापिता वा गुरुहरूको अनुसरण र सम्मान हुन्छ। नैतिक व्यवहारको उत्थान एवं चारित्रिक विकास सम्भव रहन्छ। विद्यमान बहुक्षेत्रीय समस्याहरू समाधानका लागि नयाँ दृष्टिकोणहरूको अवलम्बन गर्न, नैतिक एवं सिर्जनात्मक शिक्षाका बीच समन्वय गर्नु आवश्यक छ। स्वयम्मा नैतिक, आध्यात्मिक एवम् सदाचारयुक्त आचरण प्रस्तुत गर्ने, सामाजिक सहअस्तित्वमा आधारित समाज निर्माण पनि नैतिक शिक्षाबाट सम्भव छ। नैतिक आचरणको विकासमार्फत आम नागरिकहरूलाई लागूऔषधको दुव्र्यसनीबाट जोगाउन सकिन्छ, सामाजिक अपराधमुक्त समाज बनाउन सकिन्छ। सामाजिक शुद्धीकरणका लागि पनि नैतिक शिक्षाको अपरिहार्यता देखिन्छ।
नेपालजस्ता विकासोन्मुख देशहरूमा विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्नु शैक्षिक विकल्पमात्र होइन राष्ट्रको भविष्यमा रणनीतिक लगानी हो। नागरिकलाई सशक्तीकरण गर्दै, नैतिक शिक्षाले विद्यार्थीलाई आधुनिक संसारको जटिलताहरू नेभिगेट गर्न सक्षम बनाउँछ। नेपालले न्यायपूर्ण, समावेशी र समृद्ध समाजको आफ्नो परिकल्पनालाई साकार पार्ने प्रयास गर्दा, दिगो विकास र सामूहिक कल्याणको जग बसाल्न पनि विद्यालय तहमा नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
नैतिकता एक मूल्य हो, कला हो, जीवन हो, विज्ञान हो, शान्ति हो, सुख हो, समृद्धि हो, अवसर हो, सदाचार हो, सन्तुष्टि हो, खोज हो, मनोबल हो, वचन हो, कर्म हो, जीवन हो, प्रयास हो, मुक्ति हो, दिशानिर्देश हो, साथै सामाजिक, राजनीतिक, आर्थिक एवं धार्मिक अधिकारहरूका लागि पैरवी पनि हो र सबथोक हो। कुनै पनि सफलताको कारक नैतिकता भएको प्रायःजसो अनुसन्धानकर्ताहरूको निष्कर्षमा पाइएको छ। विश्वका सबै समस्याहरू व्यक्तिगत समस्याहरूको समष्टिगत रूप भएकाले मानिसले व्यक्तिगत स्तरमा नैतिक शिक्षामार्फत आफूलाई सुधार्ने प्रयास गरे मानवता विरोधी सबै समस्याहरू समाप्त भएर जानेछन्। अतः प्रारम्भिक बाल शिक्षादेखि माध्यमिक तहसम्म नैतिक शिक्षाको अनिवार्यता तथा उच्च शिक्षामा पनि नैतिक शिक्षालाई पाठ्यक्रमको महत्त्वपूर्ण हिस्साको रूपमा स्वीकार गर्न सकिए सदाचारयुक्त नागरिक शक्तिले समाजलाई सकारात्मक दिशामा डोर्याउनेछ। आर्थिक सामाजिक रूपान्तरण सम्भव हुनेछ।
तिमिल्सिना, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन्।