भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्छ : महासंघ
काठमाडौं : नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रदा राज्यलाई अर्बौ रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीहरुलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको हो।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरूले विदेशबाट पठाउँदा आइरहेको बताइ। त्यस्तै, खुला सिमानाबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्यांक छ।
राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे। त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।