संघर्षले खारिएकी नन्दा

संघर्षले खारिएकी नन्दा

काठमाडौं : नन्दा बस्याल, व्यक्ति एक भए पनि उनको परिचयका पाटा भने बहुआयामिक छन्। खेलकुद, कलाकारिता, राजनीति र समाज सेवामा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्। आफूलाई सफल महिला बनाउन चाहनेहरूका लागि नन्दाको संघर्ष, मेहनत र प्राप्त गरेका सफलता प्रेरणाको स्रोत बन्न सक्नेछ।

खेलकुदमा प्रवेश

कर्णाली प्रदेशको सुर्खेतकी नन्दाले जुन परिचय बनाएकी छन्, त्यो संघर्ष र मेहनतकै प्रतिफल हो। उनी स्कुल पढ्दा एथलेटिक्सका खेलहरू खेल्थिन्। विद्यालयमा भइरहने एक सय मिटर दौड, हाइजम्प, लङजम्पमा प्रतिस्पर्धा गर्थिन। सफलता पनि हात पार्थिन्। एथलेटिक्समा प्रतिस्पर्धा गर्दागर्दै उनलाई मार्सल आटर््स खेल्न मन लाग्यो। अझ करातेमा उनको रुची थियो। उनी कराते खेल्न गइन्। तर, त्यो कराते नभई तेक्वान्दो रहेछ। तेक्वान्दोको प्रश्क्षिण निःशुल्क थिएन। त्यसका लागि निश्चित शुल्क तिर्नुपथ्र्यो। उनीसँग शुल्क तिरेर खेल्न सक्ने स्थिति थिएन। त्यसैले निरास हुनुको विकल्प उनीसँग थिएन। यो कुरा उनका घर छेउकै टपेन्द्रजंग शाहीले थाहा पाए। उनैले प्रशिक्षणको बन्दोबस्त मिलाइदिए। त्यसपछि उनले भुवन थापासँग तेक्वान्दो सिक्ने मौका पाइन्। 

उनी निकै मेहनती थिइन्। छोटो समयमै उनले राम्रो प्रगति गर्न सफल भइन्। उनको स्पाइरिङ राम्रो बनाउन श्याम देवकोटाले पनि धेरै सहयोग गरे। देवकोटा नन्दाका ‘स्पाइरिङ पार्टनर’ थिए। गुरु भुवन थापाको विशेष प्रशिक्षण र श्याम देवकोटाको हौसलाले उनले पहिलो प्रतियोगिता बुटवलमा खेल्न पाइन्। सरोज स्मृति जुनियर प्रतियोगितामा उनी २८ केजीमा प्रतिस्पर्धा गर्न आएकी थिइन्। तर, उनको तौल पुगेन। त्यसपछि केरा र पानी खाएर तौल बढाइन् र प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन्। त्यो स्वर्ण (तक्मा) उनका लागि विशेष थियो। किनभने उनले आफूलाई मनपर्ने खेलबाट जीवनमै पहिलो तक्मा जितेकी थिइन्। उनले घर नपुगुञ्जेलसम्म त्यो तक्मा फुकाल्दै फुकालिनन्। बुटवलबाट घर फर्किंदा बसमा पनि तक्मा लगाएरै बसिन्। घर पुगेपछि मात्रै भित्तामा झुन्ड्याइन्।

आमाको प्रेरणाले खेलकुदमा

नन्दा आमाको प्रेरणाले खेलकुदमा लागेकी हुन्। त्यतिखेर जिल्लामा महिला प्रहरी बन्ने लहरै चलेको थियो। आमा पनि नन्दा प्रहरी बनेको हेर्न चाहिन्थन्। खेलकुदबाट प्रहरीमा जागिरे जीवन सुरु गर्न सजिलो हुन्छ भनेर पनि आमा उनलाई राम्रो खेल्न हौसला दिइरहन्थिन्। उनले प्रहरी बनेर देशको सेवा गर्न नसके पनि खेलकुदका माध्यमबाट राष्ट्रको नाम उच्च बनाउन सफल भइन्।

लामो समय जुनियर तौलमा प्रतिस्पर्धा गरेकी उनले २०५५ सालदेखि सिनियर तौलमा खेल्न थालिन्। २०५८ सालमा उनी राष्ट्रिय प्रतियोगिताका लागि मध्यपश्चिमाञ्चलबाट छनोट भएकी थिइन्। प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं पनि आइन्। तर, दरबार हत्याकाण्डका कारण प्रतियोगिता स्थगित भयो। उनी निरास हुँदै जिल्ला फर्किइन्। नन्दा आठौं दक्षिण एसियाली खेलकुदको बन्द प्रशिक्षणमा पनि बसेकी थिइन्। बन्द प्रशिक्षणमा उनले राम्रो प्रदर्शन पनि गरेकी थिइन्। तर, अन्तिममा टोलीमा अटाउन सकिनन्। त्यसपछि उनी केही समय खेलकुदबाट टाढा बसिन्। बन्द प्रशिक्षणमा रहँदा सातदोबाटोबाट त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला आउजाउ भइरहन्थ्यो। एक पटक रंगशालामा फुटबल प्रतियोगिता भइरहेको थियो। उनी फुटबल हेर्न रंगशाला छिर्न खोज्दै थिइन्। तर, उनलाई रंगशालामा प्रवेश नै दिइएन। यो घटनाले पनि उनलाई खेलाडी मात्रै भएर हुँदैन भन्ने सोचमा थप बल पु¥यायो।

‘सधैं खेलाडी भएर मात्रै हुँदैन भनेर निर्णायक बन्ने निर्णय गरें। २०६४ सालमा काठमाडौंमै बस्ने निर्णय गरेर आएँ। त्यसपछि विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरें’, नन्दा भन्छिन्, ‘खेलाडीको हकहितमा पनि लगातार काम गरें। काम गरेपछि धेरैबाट स्याबासी पनि पाएँ।’ 

null​​​​​​​काठमाडौं आएसँगै उनको व्यस्तता झनै बढ्यो। उनी विभिन्न संस्थामा आवद्ध भइन्। यही क्रममा मध्यपश्चिम खेलकुद विकास समितिमा बोर्ड सदस्यको भूमिका निर्वाह गरिन्। मध्यपश्चिम खेलकुद विकास समितिमा रहँदा उनले खेलाडीका हितका लागि विभिन्न काम गरिन्। समितिले पास गरिसकेको निर्णय पनि उल्टाउन सफल भइन्। मध्यपश्चिम खेलकुद विकास समितिको कार्यकाल सकिएपछि उनले नेपाल तेक्वान्दो संघको महिला समितिको नेतृत्व गरिन्। त्यही क्रममा महिला सशक्तिकरणका लागि महिलालाई मात्रै समेटेर राष्ट्रिय तेक्वान्दो प्रतियोगितासमेत आयोजना गरिन्। नन्दा पछिल्लो समय तेक्वान्दो संघकी केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि छिन्। 

सन् २०१६ मा पोखरामा आयोजना भएको हामादान तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिन्। यो प्रतियोगितामा उनले ब्रेकिङमा स्वर्ण पदक जित्न सफल भइन। खेलाडी जीवनबाट टाढा रहेको धेरै वर्षपछि स्वर्ण जित्दा उनी निकै खुसी भइन्। सन् २०१७ मा इन्डोनेसियामा भएको यही प्रतियोगितामा उनले दोस्रो स्थान हात पारिन्। गत वर्ष दक्षिण कोरियामा सम्पन्न प्रतियोगितामा पनि उनले स्वर्ण पदक जित्न सफल भइन्। दक्षिण कोरियामा भएको हामादानमा स्वर्ण पदक जितेपछि उनले नसोचेको चर्चा पाइन्। स्वदेश फर्किंदा पञ्चे बाजाले स्वागतदेखि गृह जिल्ला सुर्खेतमा नगरपरिक्रमासम्मको सम्मान पाइन्। 

नन्दा अहिले राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य छिन्। उनी बोर्ड सदस्य हुँदै कार्यकारी सदस्य भएकी हुन्। कार्यकारी सदस्यका रुपमा उनले थुप्रै काम गरेकी छन्। उनी नवौं राष्ट्रिय खेलकुदमा समारोह समितिमा रहेर प्रतियोगितालाई भव्य र सब्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्। यस्तै चीनमा आयोजना भएको १९औं एसियाली खेलकुदमा सहभागी भएर विश्वस्तरीय प्रतियोगिताका बारेमा जान्ने अवसर पाएकी थिइन्। 

कलाकारितामा प्रवेश

नन्दालाई नाच्न र अभिनय गर्न सानैदेखि रहर थियो। उनी तिहारमा देउसी भैलो खेल्दा निकै राम्रो नाच्थिन्। उनी राम्रो नाच्छिन् भनेर सबैले संगै लिएर लैजान्थे। उनी २०५० सालमा बागीना समूहमा आवद्ध भइन्। त्यसपछि भने स्टेजमा नाच्ने अवसर पाउन थालिन्। उनले ‘अंश कि बंश’लगायतका नाटकमा पनि अभिनय गरिन् भने नृत्य प्रतियोगितामा पनि सहभागी भइन्। उनी धेरै पटक राष्ट्रिय नृत्य प्रतियोगितामा सहभागी भइन्। उनले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै झ्याउने नृत्य प्रस्तुत गरिन्। उनको समूहले नृत्य प्रतियोगिताको रनिङ सिल्ड नै जित्न सफल भएको थियो। ‘हामीले नौ वर्षसम्म लगातार नृत्य प्रस्तुत ग¥यौं। त्यसबेला १४ अञ्चलमा नाचिने नाच सिक्ने अवसर पाएँ’, उनी भन्छिन्, ‘जनसाँस्कृतिक मञ्चमा आवद्ध भएर आफूले सिकेका कुरा अरुलाई सिकाउने र अरुको कुरा आफूले सिक्ने मौका पाएँ।’

राम्रो नाच्ने भएकैले नन्दाले विभिन्न म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन्। लामो समय म्युजिक भिडियोमा अभिनय गरेपछि उनले थुप्रै भिडियो निर्देशन पनि गरिन्। जापान, कतार, यूएईलगायतका मुलुकमा पुगेर आफ्नो कला प्रस्तुत गरिन्। स्वदेशमा पनि मेला, महोत्सवमा व्यस्त बनिन्। यही क्रममा ‘झ्याइँकुटी झ्याइँ’ टिमसँग भेट भयो। त्यस टेलिसिरियलमा उनले काँइलीको भूमिका निर्वाह गरिन्। यस टेलिसिरियलले उनलाई झनै लोकप्रियता दिलायो। उनले झन्डै एक दशक अभिनय कर्ममा बिताइन्। त्यसपछि काजल म्युजिक कम्पनीमार्फत व्यवस्थापनका काममा पनि सक्रिय भइन्। काजल म्युजिक कम्पनीले स्रष्टा सम्मानलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

समाज सेवा

नन्दा बस्याल समाज सेवाका क्षेत्रमा पनि परिचित छिन्। २०७० सालमा ‘सिस्टर नेपाल’ संस्था स्थापना गरेर उनी सामाजिक कर्ममा निरन्तर रुपमा सक्रिय हुँदै आएकी छन्। नेपालमा समाज सेवामा उत्कृष्ट काम गर्दै आएका दिदीबहिनीलाई उनले यस संस्थामा आवद्ध गराउँदै आएकी छन्। विशेषतः कर्णाली प्रदेशका महिलालाई संस्थामा आवद्ध गराइरहेकी उनी लाइन्स क्लब अफ काठमाडौंमा पनि आवद्ध भएर समाज सेवाको काम गर्दै आएकी छन्।

राजनीति

नन्दामा राजनीतिको प्रभाव सानै उमेरमा परेको हो। बुवा, हजुरबुवा सबै राजनीतिमा सक्रिय भएकै कारण उनमा पनि त्यसको प्रभाव पर्न पुग्यो र उनी पनि राजनीतिमा होमिन पुगिन्। ‘समाजमा रहेका विकृति र विसंगतिलाई हटाउन राजनीतिबाट मात्रै सम्भव छ भन्ने बुझेपछि सक्रिय भएकी हुँ’, नन्दा भन्छिन्। उनी नेकपा एमालेको जनवर्गीय संगठन खेलकुद महासंघको उपाध्यक्षसँगै महिला विभागको जिम्मेवारी सम्हाल्दै आएकी छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.