गर्मी बढेपछि दाङमा विद्यालयहरू बन्द
दाङ : अत्यधिक गर्मी बढेपछि दाङमा विद्यालयहरू बन्द गरिएको छ। स्थानीय सरकारहरूले सार्वजनिक सूचना जारी गरेर विद्यालयहरू बन्द गर्न थालेका हुन।
जिल्लामा रहेका १० पालिकामध्ये अधिकांशले सार्वजनिक सूचना गरेर सामुदायिक र संस्थागत सबै विद्यालयहरू गर्मीका कारण सञ्चालन गर्न नसकिने भएको भन्दै बढीमा एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन्।
दाङको देउखुरी क्षेत्र र घोराही, तुलसीपुर क्षेत्रमा गर्मी अहिले ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहेको छ। राप्ती गाउँपालिका, लमही नगरपालिका लगायतकाले एक हप्ता गर्मी बिदा गरेका छन् भने घोराही र तुलसीपुर उपमहानगरपालिकाले ५ दिन बिदा गरेको छ।
तुलसीपुर क्षेत्रका विद्यालयहरू ५ दिन गर्मीका कारण बन्द गरिएको छ। गर्मीका कारण पठनपाठन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले पाँच दिनका लागि विद्यालयहरू बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।
महाशाखा प्रमुख भण्डारीका अनुसार गर्मी ४० डिग्री सेल्सियसभन्दा बढी भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। वर्षे बिदामा कट्टी गर्ने गरि गर्मी बिदा दिइएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए।