व्यावसायिक प्याज खेतीमा गुल्मीका भण्डारी
गुल्मी : गुल्मीको इस्मा गाउँपालिका-६ चौरासीमा जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा प्याज खेतीको परीक्षण सुरु गरिएको छ। छिमेकी मुलुक भारतबाट आयात हुने प्याजलाई रोक्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ५ रोपनी क्षेत्रफलमा प्याज गरिएको हो।
जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गुल्मीको चौरासी फाँटमा व्यावसायिक रुपमा प्याज खेती सुरु गरिएको छ। विगत ९ वर्षदेखि कीर्तिपुर काठमाडौंमा व्यावसायिक तरकारी खेती गर्दै गुल्मीका रोमाकान्त भण्डारी यतिबेला गाउँ फर्किएर प्याज खेती गरिरहेका छन्।
गुल्मीमा प्याजको राम्रो सम्भावना देखेर लामो समय कीर्तिपुरमा जग्गा लिजमा लिएर तरकारी खेती, कुखुरा पालन त्यागेर गाउँमै फर्किएका हुन्। कीर्तिपुरमा जग्गा लिजमा लिएर तरकारी खेती गरेको तर,गाउँको आफ्नो जग्गा बाँझो रहने भएकाले त्यसको सदुपयोग र व्यावसायिक बन्न प्याज खेती सुरु गरिएको भण्डारीले बताए।
‘पछिल्लो समय छोराछोरीको पढाइ र रोजगारीको खोजीमा गाउँबाट शहर बसाइँसराइ गर्नेको संख्या दैनिक बढ्दो छ तर, मैले पुर्ख्यौली सम्पत्तिमा कृषि गर्ने उद्देश्य लिएर म गाउँमै फर्किएको हुँ’, ‘उनले भने’ ‘म अब फर्किए र विस्तारै परिवारलाई गाउँमै फर्काउने योजना बनाएको छु।’
उनले आजभोलि बसाइँसराई र विदेशिने युवाका कारण गाउँघर रित्तिदै गएको दुखेसो गरे। छिमेकी मुलुक भारतबाट प्याजको निर्यात बढेको तर यसको जिल्लामा कतै व्यावसायिक खेती नभएकाले यसको खेतीमा आफू लागेको भण्डारी बताउँछन्।
उनी कात्तिक महिनामा गाउँ फर्किएर ५ रोपनी जग्गामा प्याज खेती गरेका हुन्। परीक्षणका रुपमा सुरु गरिएको प्याज खेती पहिलो वर्ष नै उत्पादन र परीक्षण दुवै राम्रो भएको उनले बताए। भण्डारी अहिले उत्पादन भएको प्याज बजारीकरण र स्याहार्न व्यस्त छन्।
उत्पादन भएको प्याज फूलबारी,चौरासी, सिमलटारी हुँदै तम्घास बजारमा खपत भइरहेको छ। प्याज प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ। तर, उत्पादन गरिएको प्याजलाई बजारीकरण थप समस्या देखिएको उनले गुनासो गरे।
उनले दैनिक ५ जनालाई रोजगारी दिएका छन्। उनले प्याज खेती सँगै मौसमी तरकारी, टमाटर, काँक्रो लटरम्म फलाएका छन्। आफ्नै ठाउँमा कृषि मार्फत केही गर्ने हुटहुटी बाकेका भण्डारी दैनिकी बाँझो जमिनमा तरकारी रोप्नमै बित्ने गरेको छ। चौरासी फाँट खेती योग्य जमिन रहेकाले यहाँ सिँचाइको पर्याप्त सुविधा रहेकाले गर्न सके कृषिबाट मनग्य आम्दानी गर्न सकिने भण्डारीले सुनाए।
पाँच रोपनी जग्गामा एक क्विन्टल प्याजका बेर्ना थिए। यस पटक प्याजले राम्रो बजार पाए आगामी दिनमा थप २४ रोपनी जग्गामा प्याजको खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। यहाँका स्थानीयले खानाका लागि मात्रै प्याज खेती गर्दै आएका भएपनि भण्डारीको उत्पादन देखेर व्यावसायिक खेतीमा लाग्ने उनीहरूको तयारी छ।
चौसारी खेतमा परीक्षणका रुपमा गरिएको प्याज राम्रो उत्पादन भएपछि कृषिमा भविष्य खोज्ने अन्य किसानलाई समेत प्रेरणा मिलेको छ। आगामी वर्ष आफूहरूले प्याज खेती गर्न योजना बनाएको अर्का किसान कल्पना गौतमले बताइन्।
चौरासी फाँटमा प्रशस्त सिँचाइ भएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने योजना बनाएको गौतमले सुनाइन्। एक/दुई महिना रहन सक्ने खालको कृषि उपज भएकाले बजारको समस्या नहुने उनको विश्वास छ।
प्याज खेतीका लागि भण्डारीलाई जिल्लामा कृषि ज्ञान केन्द्रले प्रोत्साहन गरेको हो। कृषि ज्ञान केन्द्रबाट जिल्लामा पहिलो पटक यसको परीक्षणका लागि प्रोत्साहन गरेपछि उनले प्याजको परीक्षण खेती सुरु गरेका हुन्।
केन्द्रले आर्थिक वर्ष २०८०–०८१ को प्याज खेती प्रदर्शन कार्यक्रम अन्तर्गत ५ रोपनी क्षेत्रफलमा रेड त्रियोल जातको प्याज खेती परीक्षणका लागि बेर्ना सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए।
व्यावसायिक कृषि गर्ने वास्तविक किसान पहिचान गरी कार्यालयले आवश्यक सहयोग र किसानलाई प्राविधिक ज्ञान,सीप र तालिम प्रदान गर्दै आएको कार्यालय प्रमुख भण्डारीले बताए।