‘सडकबाट माग्दैमा भिसा पाइन्न’

‘सडकबाट माग्दैमा भिसा पाइन्न’
फाइल तस्बिर।

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा (प्रवेशाज्ञा) जसरी पनि दिनै पर्ने माग गर्दै सडकमा प्रदर्शन गर्न मिल्छ ? अन्तर्राष्ट्रिय कानुनका विज्ञ भन्छन्, ‘सार्वभौमसत्ता सम्पन्न कुनै पनि राष्ट्रले अन्य मुलुकको नागरिकलाई भिसा दिने÷नदिने निर्णय सम्बन्धित राष्ट्रमा निहित अधिकार हो।’

भिसा दिन माग गर्ने प्रवृत्तिलाई भीडतन्त्रको संज्ञा दिन्छन् प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव। ‘सरकार कमजोर भएको र प्रणाली (सिस्टम) पनि प्रभावकारी नहुँदा अराजक व्यक्तिहरू सडकमा देखा पर्छन्,’ सांसद यादव भन्छन्, ‘अहिले नेपाली समाज अराजकतातर्फ अघि बढ्दै गएको उदाहरण हो, भिसाको माग गर्दै सडकमा प्रदर्शनमा उत्रनु।’ सामाजिक सञ्जालमा पनि जे मन लाग्यो त्यही लेख्ने तथा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिहरू देखिएको उनले बताए।

भिसा दिने वा नदिने अधिकार नितान्त दूतावासको हो। रेखा शर्मा,मन्त्री, सूचना तथा सञ्चार मन्त्रालय 

अन्तर्राष्ट्रिय कानुनका जानकार एवम् पूर्वन्यायाधीश बलराम केसीका अनुसार, भिसाको माग गर्दै प्रदर्शन वा नाराबाजी गर्नु ठीक होइन। ‘कुनै पनि मुलुकका नागरिकलाई भिसा दिने-नदिने भन्ने निर्णय गर्ने अधिकार सार्वभौमसत्ता सम्पन्न मुलुकलाई छ,’ सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसी भन्छन्, ‘सार्वभौम मुलुकले जो कसैलाई भिसा दिएन भन्दैमा विरोध वा प्रदर्शन गर्न मिल्दैन।’

टी–२० विश्वकप खेल्न जान सन्दीपलाई भिसा दिन माग गर्दै उनका समर्थकहरू बुधबार माइतीघरमा भेला भए। त्यस्तै, अन्य समर्थकहरूले नयाँ बानेश्वर र महाराजगन्जमा प्रदर्शन गरे। जुन प्रदर्शनमा सांसद ज्ञानेन्द्र शाहीसमेत थिए। सामाजिक सञ्जालमा यसका माग तीव्र भए। अमेरिका र अमेरिकी दूतावासमाथि टिप्पणी गर्ने उत्तिकै रहे।

यस्ता क्रियाकलापलाई सस्तो लोकप्रियताको संज्ञा दिन्छन् पूर्वन्यायाधीश केसी। ‘भियना अभिसन्धिअनुसार निर्णय गर्न सम्बन्धित दूतावास सार्वभौम हुन्छ। पठाइएको मुलुकको कानुन लागू हुँदैन। सडक प्रदर्शनबाट भिसा दिन दबाब दिनु हुँदैन। 

जो कोहीलाई आफ्नो मुलुकमा प्रवेशका लागि भिसा नदिने अधिकारमाथि प्रश्न गर्न मिल्दैन। दमननाथ ढुंगाना,संविधानविद्

कूटनीतिक माध्यमबाट परराष्ट्रमन्त्रीले राजदूतावासमार्फत सम्बन्धित सरकारसँग कुरा गर्नुपर्ने विषय हो,’ पूर्वन्यायाधीश केसी भन्छन्, ‘भिसाको माग गर्दै प्रदर्शन गर्ने वा विरोधमा उत्रने प्रवृत्ति संसारमा कहीँ पनि देखेको छैन।’ केसीका अनुसार, अमेरिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत विगतमा भिसा दिएको थिएन। तर, भिसा नदिएकामा सडकमा प्रदर्शन भएन।
मानवशास्त्री जनक राई भीडतन्त्रलाई राजनीतिक दलहरूले काखी च्याप्ने प्रवृत्ति बढेको बताउँछन्। त्यही योजनाअनुरूप राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका शाही सडकमा उत्रेको उनको भनाइ छ। ‘भीडलाई राजनीतिक पार्टीका नेताहरूले आफ्नो अनुकूल लाभमा प्रयोग गर्ने प्रवृत्ति धेरै देखिन्छ। त्यही प्रवृत्तिको एउटा स्वरूप हो यो,’ मानवशास्त्री राई भन्छन्, ‘भिसाको माग गर्दै सडक प्रदर्शन गर्नुले राम्रो सन्देश दिँदैन।’

सामान्यतया कुनै पनि मुलुकको परराष्ट्र नीतिलाई त्यस मुलुकले अवलम्बन गरेको आन्तरिक नीतिको विस्तारित रूपमा लिने गरिन्छ। सरकारले क्रिकेटर सन्दीपलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको जानकारी दिएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले क्रिकेटर सन्दीपलाई सरकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताइन्। ‘विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्न सरकारले पहल गरे पनि भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको हो,’ उनले भनिन्। 

सन्दीपले अमेरिकामा हुन लागेको विश्वकपमा खेल्न जान अमेरिकी भिसा निवेदन दिएका थिए। बुधबार सामाजिक सञ्जालमा लामिछानेले आफूले भिसा नपाएको जानकारी दिएका थिए। परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको छ। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रोपटक पनि भिसा अस्वीकृत भएको थियो। 

भिसा दिने-नदिने भन्ने निर्णय गर्ने अधिकार सार्वभौमसत्ता सम्पन्न मुलुकलाई छ। बलराम केसी, अन्तर्राष्ट्रिय कानुनका जानकार 

पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाका अनुसार, भिसा नदिएको विषयलाई लिएर प्रश्न गर्न मिल्दैन। ‘कुनै पनि मुलुकले जो कोहीलाई आफ्नो मुलुकमा प्रवेशका लागि भिसा नदिने अधिकारमाथि हामीले प्रश्न गर्न मिल्दैन,’ उनले भने। 

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सरकार र आईसीसीले समन्वय गर्दा समेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको जनाएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले सन्दीप नेपालको १५ सदस्यीय स्क्वाडमा राखेको जानकारी गराउँदासमेत भिसा नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन।

भिसाको माग गर्दै सडक प्रदर्शनमा उत्रनु समाज अराजकतातर्फ अघि बढ्दै गएको उदाहरण हो। राजकिशोर यादव, सभापति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति

जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंंले दोषी ठहर गरे पनि उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको थियो। त्यसपछि क्यानले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा सन्दीपलाई पनि सहभागी गराएको थियो।

विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका पुगिसकेका छन्। प्रस्थानपूर्व प्रोत्साहन गर्न अमेरिकी दूतावासका केही अधिकारीले क्रिकेट टोलीसँग भेट पनि गरेका थिए। दूतावासका अधिकारीले आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई शुभकामनासमेत दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.